मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

इक्यानका सचिव पदका उम्मेदवार फिलिप डिसीले गरे यस्तो अपिल

शुक्रबार, २९ असार २०८०, १९ : १९
शुक्रबार, २९ असार २०८०

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिप पदमा उम्मेद्वार फिलिपकुमार डाँगी क्षेत्रीले मतदान गर्न अपिल गरेका छन् । असार ३० गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न मतदाताहरूमा अपिल गरेका हुन् ।

विष्णुहरि पाण्डे समूहबाट सचिव पदमा उम्मेदवारी दिएका क्षेत्रीले संघलाई निरन्तर अगाडि बढाउने बताए ।  

उनले उम्मेदवारहरू यस्तो अपिल गरेका छन् ।  

नेपाल शैक्षिक परामर्श संघ ईक्यानका आदरणीय सदस्य तथा मतदाता साथीहरू

मैले, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय कार्य समितिको निर्वाचन २०८० मा सचिव पदको उम्मेदवारी घोषणा गरेको छु । इक्यानको समग्र हित तथा प्रतिष्ठा प्रवर्धन गर्न र यस क्षेत्रको व्यवसायीक क्षमता अभिवृद्धि गर्दै सामूहिक प्रयास र प्रगतिको पथमा ईक्यानलाई निरन्तर अगाडि बढाउनु नै मेरो उम्मेदवारीको प्रमुख उद्देश्य हो ।

एफडिआईका थुप्रै मामिलाहरू, एनओसीका विविध समस्याहरू, शैक्षिक परामर्श क्षेत्र र विश्वविद्यालय तथा कलेजहरू बिचको पारस्परिक सहकार्यका सवालहरू, अनैतिकता गैर–व्यवसायीक अभ्यासहरू विरुद्ध डटेर लड्ने जागरूकताहरू र निक्षेपको निदान तथा सबै खाले प्रतिकुलताहरूको लबिङकाविरूद्ध खरो वकालत गर्नेजस्ता विविध मुद्दाहरूमा मैले खेलेको भूमिका र अथक प्रयास एवम् अविच्छिन्न संघर्षको बारेमा यहाँहरू सबै विदितै हुनुहुन्छ ।

हाम्रो उद्योगले अहिले विभिन्नखाले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । पारस्परिक एकता र सहकार्यले मात्रै हामी ती समस्याहरूमाथि विजय हासिल गर्न सक्छौँ र हाम्रो चासोको रक्षा गर्न सक्छौं भन्ने मेरो बुझाई छ । मुलतः मेरो यो उम्मेदवारी मेरो मात्र होइन, हाम्रो उद्योगको सुधारका निम्ति मिलेर काम गर्ने सामूहिक प्रयासका लागि हो । ईक्यानको सचिव भएर म यो क्षेत्रमा निरन्तर विशेष योगदान गर्न चाहन्छु र हाम्रो उद्योगलाई सम्मानित शैक्षिक क्षेत्र बनाउन सदा सक्रिय हुन चाहन्छु ।

यतिबेला तपाईको भोटको ठूलो महत्त्व छ, र यस चुनावमा तपाईँ सम्पूर्ण मतदाता साथीहरूले आफ्नो स्वतन्त्र विवेकद्वारा सही उम्मेदवार छनोट गर्नु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु । यस निर्णायक समयमा यहाँहरूको अमूल्य मतका साथै विगत झैँ यहाँहरूको माया, साथ, सहयोग र सद्भावको आशा राख्दछु । यहाँहरूको विश्वास र समर्थनका लागि धन्यवाद ।

डिसीका १२ बुँदे चुनावी एजेन्डा:

१. इक्यान संस्थागत विधि र विधानअनुसार चल्नुपर्छ र यसको आफ्नो प्रशासनिक कार्यालय भवन हुनुपर्छ ।

२. शैक्षिक परामर्श सेवालाई शैक्षिक उद्योगको रूपमा सरकारले मान्यता दिनुपर्छ ।

३. आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहको उच्च शिक्षाका लागि सरकारले बिना सर्त कर्जाको व्यवस्था गर्नुपर्छ ।

४. नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने मात्रै होइन, विदेशी विद्यार्थीहरू नेपालमा पढ्न आउने वातावरण सिर्जना गरिनुपर्छ ।

५. शैक्षिक परामर्श क्षेत्र उच्च सम्मानित एकताबद्ध र पूर्ण पारदर्शिता हुनुपर्छ ।

६. एनओसीलगायतका समस्यामा समग्र विद्यार्थीको हित हुने गरी कानुनी प्रबन्ध गरिनुपर्छ ।

७. इक्यानलाई गैर–राजनैतिक तथा पूर्ण व्यावसायिक संस्थाको रूपमा विस्तार एवम् सञ्चालन गरिनुपर्छ ।

८. शिक्षालाई व्यवहारिक बनाउन राज्यले शैक्षिक परामर्श संघ लगायत क्षेत्रसँग नीतिगत र व्यवहारिक तहसम्म सहकार्य गर्नुपर्छ ।

९. गैरकानुनी रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाहरू अविलम्ब बन्द गर्नुपर्छ ।

१०. नेपाललाई विश्वकै एउटा एजुकेशन हब बनाउनुपर्छ जसका लागि परामर्श क्षेत्रको विज्ञता राज्यले भरपुर उपयोग गर्नुपर्छ ।

११. विदेशमा रहेका विद्यार्थीको स्वास्थ्य तथा शिक्षामा बिमाको प्रबन्ध राज्यले अविलम्ब गर्नुपर्छ ।

१२. विदेशी विश्वविद्यालयसँग सहकार्यको क्षेत्र भएका हुनाले शैक्षिक परामर्शको अनुमति संघीय सरकार मातहत हुनुपर्छ । साथै विदेशमा नेपाली विद्यार्थीले हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने प्रबन्ध राज्यले गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप