बजेट पास नहुने भएपछि प्रत्येक सांसदलाई ५ करोड दिएर मनाउने प्रयास
धनगढी । सामान्यतया: संसदीय अभ्यासमा संसदमा प्रतिपक्ष सरकारबारे आलोचनात्मक रुपमा प्रस्तुत हुन्छ भने सत्तापक्ष बचाउमा हुन्छ ।
तर, सुदूरपश्चिम प्रदेश सभामा जारी बजेट माथिको छलफलमा प्रतिपक्ष मात्रै होइन, सत्तापक्षीय सबै प्रदेशसभा सदस्य सरकारप्रति कडा असन्तुष्टि पोखिरहेका छन् । लाग्छ, सबै प्रतिपक्ष हुन् । सत्ता र प्रतिपक्षको बेन्च फरक–फरक रो मा मात्र छ । तर उनीहरुको भनाइमा तात्त्विक अन्तर छैन ।
उनीहरुको भनाइ छ, आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीद्वारा प्रदेश सभामा प्रस्तुत बजेट असन्तुलित छ । संघीयताको मर्म विपरीत छ, पहुँचवाला व्यक्तिमुखी छ । झ्यालबाट पठाइएका योजनाहरुको बढोत्तरी छ ।
यहाँ प्रमुख प्रतिपक्ष दल एमालेभन्दा बढी सत्ता गठबन्धन घटक नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरु सरकारविरुद्ध खनिएका छन् ।
सरकार नेपाली कांग्रेसले नेतृत्व गरेको भए पनि कांग्रेसकै प्रदेशसभा सदस्यहरु पनि सरकारले प्रस्तुत गरेको बजेटविरुद्ध खनिएका छन् । उनीहरुले विना संशोधन बजेट पास हुन नदिने समेत चेतावनी दिँदै आएका छन् ।
नेपाली कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले भने, ‘बजेट भाषण सकिएपछि प्रदेशसभा बाहिर मुख्यमन्त्रीलाई मैले बयलपाटा अस्पतालका लागि बजेटबारे सोध्दा उहाँले १० करोड विनियोजन गरिएको छ भन्नुभयो । तर रातो किताब आउँदा थाहा भयो बजेटै छैन ।’
नेपाली कांग्रेसकै प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले पनि बजेटप्रति तीव्र असन्तुष्टि पोखेका छन् । बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेको एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न तेर्साउँदै छन् ।
सरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोप्रति व्यंग्य गर्दै भन्छन्, ‘चिडियाखाना आवश्यक छ । त्यहाँ अनौठो जनावर राखिन्छ । दूरदराजबाट मानिसहरु हेर्न आउँछन् । तर, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ । जो सांसद निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन । वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको छ । त्यस्तो सांसद कुन देशमा होला ?’
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवसिंह ओलीले प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् ।
उनले सरकारले पूर्वाधार विकास कार्यक्रमका नाममा निर्वाचन क्षेत्रमा ३ करोड बजेट हालेर बाँकी बजेट मन्त्रीहरुले आफ्नो क्षेत्रमा केन्द्रित गरेको प्रति गुनासो पोखेका छन् ।
त्यस्तै, नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रस्तुत बजेट बजेट पूर्वग्राही रहेको टिप्पणी गरेका छन् ।
बजेटमार्फत् जनताको माग र गुनासोलाई सम्बोधन गर्न नसके जनताले सबैलाई लखेट्ने बताउँदै उनले बजेट न्यायोचित र समावेशी नरहेकाले संशोधनको विकल्प नरहेको आंैल्याए ।
उनले भने, ‘यो बजेट पूर्ण रुपमा पूर्वाग्राही छ । यथास्थितिमा यस्तो बजेटलाई समर्थन गर्न सकिँदैन ।’
नेकपा (एकीकृत समाजवादी)की प्रदेश सभा सदस्य माया पन्तले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा मात्रै बजेट छुट्टयाएको आरोप लगाएकी छिन् ।
सरकारलाई नैतिक संकट
सत्तापक्षीय प्रदेशसभा सदस्य नै बजेटको विरोधमा उत्रिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले सरकार नैतिक संकटमा परेको बताएको छ ।
बजेट माथिको छलफलमा बोल्दै एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले सत्तारुढ दलका सांसदले प्रदेशसभामा अहिलेको बजेटलाई समर्थन गर्न नसकिने बताएका कारण मुख्यमन्त्री कमलबहादुर शाहमाथि नैतिक प्रश्न उठेको बताएका छन् ।
उनले भने, ‘सत्तापक्षका सांसदले नै यो सरकारले ल्याएको बजेट समर्थन गर्न नसकिने भन्दै विरोध गर्नुभएको छ । मुख्यमन्त्रीप्रति यो सदनको विश्वास छ कि छैन ? उहाँमाथि नैतिक संकट परेको छ । उहाँसँग विश्वासको मत छ कि छैन ?’
पाठकले सरकारले नेता र मन्त्री विशेषको क्षेत्रमा मात्र बजेट हालेको भन्दै प्राथमिकतालाई कुनै ध्यान नदिइएको बताए । बजेट दिशाहीन र गन्तव्यहीन भएको पाठकको टिप्पणी छ ।
एमालेकी प्रदेशसभा सदस्य जानकी ऐर बमले अब मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिनुपर्ने समेत माग राखेकी छिन् ।
उनले बजेटमाथिको छलफलमा भाग लिँदै भनिन्, ‘सत्तापक्षकै बहुमत सदस्यले असन्तुष्ट सदस्यको कुरा सुन्दा सरकार फेल भइसक्यो । मुख्यमन्त्री, मन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्छ । अब बजेट छलफलको कुनै तुक छैन ।’
संशोधन विना बजेट पास गराउने प्रयास
सत्ता र प्रतिपक्षीको विरोधकाबीच सरकारले प्रस्तुत बजेट संशोधन विनै पास गराउने प्रयास थालेको छ । मन्त्री शाहीले केही प्रदेशसभा सदस्यहरुको योजना समेट्न नसकिएको स्वीकारे । तर, उनले सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको दाबी गरे ।
‘उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नु भएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुनेछ । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन’, मन्त्री शाहीले अगाडि थपे, ‘बजेट पारित हुन्छ । संशोधन हुँदैन । विरोध हुनु स्वाभाविक हो । सभामा सुझाव आउनु उचित हो । त्यसले भोलिका दिन हामी सच्चिनलाई सुझाव पाइन्छ ।’
संसद विकास कोष ५ करोड पुर्याउने प्रस्ताव
बजेट छलफलमा सत्तापक्षकै विरोधपछि मुख्यमन्त्री शाह नैतिक संकटमा परेका छन् । उनी हरसम्भव बजेट पास गराउने ध्याउन्नमा छन् ।
यसैबीच मुख्यमन्त्री शाहले शुक्रबार सत्तारुढ दलका बैठक राखेका थिए । उनले हालको सांसद विकास कोषमा बजेट थप गरेर भएपनि बजेट पास गराउन सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘मुख्यमन्त्रीज्यूले बिहान बैठक बोलाउनु भएको थियो । बजेट पास कसरी हुन्छ ? त्यसको विकल्पसहित छलफल भयो । उहाँले हालको ३ करोड रहेको सांसद विकास कोषलाई ५ करोड पुर्याउने प्रस्ताव गर्नुभयो । तर सहमति जुट्न सकेन ।’
सरकारले प्रस्तुत बजेटमा नै प्रति प्रदेशसभा सदस्य (प्रत्यक्ष)लाई ३ करोडको दरले ९६ करोड विनियोजन गरेको छ । यहाँ ३२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथो अभ्यास खेलमा नेपालको यू–१९ टोली कर्नाटकसँग हार्यो, शृंखला रोचक मोडमा
-
२०७९ लाई फर्केर हेर्दा : उपनिर्वाचनमा एमालेले उम्मेदवारी दिएका ४२ पदमा कस्तो छ जनाधार ?
-
बालुवाटारमा ६ बजे मन्त्रिपरिषद् बैठक
-
आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी सरकार
-
सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता
-
नीतिगत भ्रष्टाचारप्रति शून्य सहनशीलताको मान्यतामा संसद्ले सम्झौता नगरोस् !