ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

ताप्लेजुङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।
यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो ।
हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।
ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ । सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए ।
ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी) मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।
मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा चार सय ७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ । ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उनले बताए ।
उनले खाद्यान्न लगायतका सामग्रीका लागि भने सामान्य अवस्था रहेको बताउनुभयो । डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यासजस्तो चरम अभावको स्थिति नरहेको उनको भनाइ छ । हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेबिब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्ने बित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभावको अन्त्य हुने थापाले बताए ।
हेवा खोलाको मोटरेबल पुल र सोही खोलामा रहेको तमोर करिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकासहित सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित बनेको हो । मेची राजमार्ग खुलाउन सुरु गरिएको बेलिब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण सङ्कटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ । हेवा खोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घण्टामै अवरुद्ध हुने गरेको छ । ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति गर्ने गरिन्छ । त्यस्तै राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन् । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट