'आगोका फूलहरू'का कवि अर्थात् अमर प्राज्ञ ईश्वर बल्लभ
ईश्वर बल्लभ नेपाली भाषासाहित्यका अमत्र्य साधक, ओजस्वी स्रष्टा र अमर प्राज्ञको नाउँ हो । नेपाली साहित्याकाशमा उनको आफ्नो बेग्लै इतिहासले शिखर छोएको पाइन्छ । उनी नेपाली भाषासाहित्यका विकासका लागि उत्सर्गी स्रष्टा थिए । साहित्यमा उनको सक्रियताले नेपाली भाषा थप उर्वर भएको आभास हुन्थ्यो ।
ईश्वर बल्लभ सानैदेखि भावुक थिए । उनी स्कुले जीवनमा नै कविता रचनामा रमाउने गर्थे । त्यतिखेर उनी कविता लेखेर कहिले च्यातिदिन्थे, कहिले आफ्ना भाइहरूलाई देखाउने गर्थे र कहिले आफ्ना साथीहरूलाई पनि सुनाउने गर्थे । त्यस बेला उनी खास गरेर गीतिकविता लेख्ने गर्थे । त्यही क्रम झाँगिएर पछि उनी आफ्ना कविताहरू छपाउन पनि सक्षम भए । उनको पहिलो कविता उनी अठार उन्नाइस वर्षको हुँदा छापिएको थियो । सन् १९५५ मा उनले सर्वप्रथम आफ्नो कविता भारतको दार्जिलिङबाट पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’मा छापिएको हेर्न पाए ।
ईश्वर बल्लभ संवत् १९९३ सालको असार २९ गते काठमाडौँको जैसीदेवलमा जन्मेका थिए । पं. मुरलीधर भट्टराई र राममायाका तीन भाइ छोरामध्ये ईश्वर बल्लभ जेठा हुन् । माहिला स्वतन्त्र बल्लभ सानैमा स्वर्गीय भए । कान्छा ईश्वर बल्लभ चाहिँ सधैँ आफ्नै जेठा दाजुका नेतृत्वमा हिँडिरहे । यिनका बुवा राणा सरकारका विरुद्धमा कुर्लेका कारण यो परिवारले आर्थिक र सामाजिक कठिनाइहरू पनि भोग्नुपरेको थियो । बाबुले अर्की आमा ल्याउनु, आमाले कत्तिले सेरिएर आत्महत्या गर्नु र त्यसमाथि बुबाको निधन हुनुका कारण ईश्वर बल्लभको जीवन सधैँ सधैँ कारुणिक रूपमा बामे सर्दै हिँड्यो ।
ईश्वर बल्लभ सानैदेखि पढाइप्रति पनि उत्साहित नै थिए । तर आफ्ना बाबुको खटनका कारण उनले सधैँ एक्कै ठाउँ पढ्न भने पाएका थिएनन् । उनले कहिले काठमाडौँको दरबार हाइस्कुलमा पढे । परीक्षाका बेला फेरि उनी अन्यत्र नै पुगे । यसै क्रममा डुल्दैफिर्दै यिनले स्नातक चाहिँ समुत्तीर्ण गरे ।
स्नातक भएपछि ईश्वर बल्लभ सर्लाहीको मलङ्गवा पुगे । त्यहाँ मलङ्गवा हाई स्कुलमा यिनले शिक्षकको काम पाए । त्यसपछि पन्ध्र महिना जति उनी त्यहीँ आबद्ध भए । त्यतिन्जेलसम्ममा उनले दार्जिलिङका विषयमा पनि धेरै सुनिसकेका थिए । त्यसैले दार्जिलिङ हेर्ने उद्देश्य लिएर उनी त्यतातिर हान्निए ।
ईश्वर बल्लभले दार्जिलिङ टेकेका दिनमा नै उनले त्यहाँ एउटा ठुलो जुलुस देखे । त्यो जुलुस के हो भनेर उनी झन् भित्रभित्रै पसे । उनले केही समयपछि थाहा पाए, त्यो जुलुस कुनै उत्सव नभएर एउटा शवयात्रा रहेछ । अनि ती अपार मान्छेको ताँती त रूपनारायण सिंहका मलामी रहेछन् । वास्तवमा त्यो घटनाले उनी छक्कै परे । त्योभन्दा पहिले उनले कहिले पनि त्यतिका मान्छे भेला भएर मलामी हिँडेको दृश्य देखेका थिएनन् । त्यस घटनाले दार्जिलिङवासीहरूसँग उनको भावनात्मक सम्बन्धको स्थापना भयो ।
ईश्वर बल्लभ दार्जिलिङ पुगेपछि उनलाई त्यही ठाउँ मन पर्यो । त्यहीँका मान्छे मन परे र त्यहीँकै वातावरणले उनलाई मोहित पार्यो । परिणामस्वरूप उनले त्यहीँ बसेर केही समय काम गर्ने निधो गरे । सोहीबमोजिम उनले स्थानीय टर्नबुल हाई स्कुलमा पढाउने मौका पाए । दुई वर्ष पढाएपछि उनलाई त्यस स्कुलसँग गाँसिइरहन त्यति जाँगर चलेन । यसैबिच मन्तुलाल क्षत्रीको आग्रहमा उनकी छोरी कमला क्षत्रीलाई उनले प्राइभेट पढाउन लागेका थिए ।
जीवनमा प्रकृति र पुरुषको सम्बन्ध विचित्रकै हुन्छ भन्छन् । त्यही हिसाबको जोड घटाउमा ईश्वर बल्लभ पनि प्रविष्ट भए अथवा भनौँ आफूले प्राइभेट पढाएकी कमलासँग उनको हृदयको पेच क्रमशः क्रमशः कसिन थाल्यो । आखिर कमला क्षत्रीको तनमन धनले पनि ईश्वर बल्लभलाई छाड्नै मानेन । अन्ततः उनीहरूको मुटुले एकअर्कामा नछुट्ने प्रतिज्ञा गर्यो । उनीहरूको बिहे पनि भयो । अर्थात् २०१६ सालमा उनीहरू औपचारिक रूपमा दाम्पत्य जीवनमा बाँधिए । यी स्त्री पुरुषबाट तीन छोरी रेखा, रेणु, रच्चु र एक छोरा आनन्द जन्मे । यिनका छोराछोरीको प्रारम्भिक शिक्षा आफ्ना मामाघर दार्जिलिङमा नै भएको थियो ।
ईश्वर बल्लभले बिहे गरेपछि उनीभित्र अर्को एउटा दायित्व फेरि थपियो । त्यसैले उनले फेरि जागिर खाने निर्णय गरे । सोहीअनुरूप उनले रेडियो खर्साङ प्रवेश गरे । त्यहाँ उनी कार्यक्रम उत्पादन र उद्घोषणका कार्य गर्थे । त्यहाँ पनि उनी धेरै दिन बस्न सकेनन् । त्यस ठाउँमा उनले जम्मा अठार महिना काम गरे ।
ईश्वर बल्लभ फेरि बेरोजगार भए । त्यसपछि उनलाई उनका ससुराले दार्जिलिङमा दोकान थाप्न घर दिए, सामान दिए र वातावरण पनि दिए । त्यसपछि उनी त्यही दोकानमा बस्न थाले । क्रमशः उनी व्यापार र ठेक्कापट्टामा लागिरहे । जसअनुसार उनले कहिले होटल खोले, कहिले निर्माणको ठेक्का गरे । त्यही रीतबाट जीवन भोग्दै उनले आफ्ना सङ्घर्षका पाइला बढाइरहे । ती पाइला बढ्ने क्रममा उनी अफ्नै मातृभूमि आइपुगे । अथवा भनौ उनी २०२७ सालमा काठमाडौँ आइपुगे ।
नेपालमा आएपछि उनी फेरि कामको खोजीमा नै लागे । तदनुरूप उनले नेपाल परिवार नियोजन सङ्घमा प्रवेश गरे । त्यहाँ उनले दुई वर्ष काम गरे । पछि फेरि उनी राष्ट्रिय जनसङ्ख्या आयोग पनि पुगे । त्यहाँ उनले पाँच वर्ष बिताए । २०४७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ईश्वर बरालको उपकुलपतित्वमा उनी पनि सदस्यमा मनोनीत भए ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका बेला ईश्वर बल्लभको सम्पादनमा ‘प्रज्ञा’ त्रैमासिक प्रकाशित हुन्थ्यो । साथै यिनले दार्जिलिङ बस्तै तेस्रो आयामको ‘फूल पात पत्कर’ पनि सम्पादन गरेका थिए । साथै तेस्रो आयामका तर्फबाट इन्द्रबहादुर राई, वैरागी काइँला, ईश्वर बल्लभहरूले ‘तेस्रो आयाम’ नाउँको पत्रिका पनि चलाए । साथै ईश्वर बल्लभले ‘नेपाली चलचित्रनिर्माण’ नामक कृतिको पनि सम्पादन गरे ।
एकताका नेपाली साहित्याकाशमा तेस्रो आयाम भन्नु निक्कै चर्चित विषय थियो । त्यतिखेर इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभको हातेमालोले तेस्रो आयामको स्थापना भएको थियो । नेपाली साहित्याकाशमा तेस्रो आयाम एउटा आन्दोलनका रूपमा विराजमान भइरह्यो ।
ईश्वर बल्लभले थुप्रै कविता लेखे । वास्तवमा उनले अन्य विधामा कलम चलाए पनि उनलाई सबैले कवि नै भने । कविताका अतिरिक्त निबन्ध र प्रबन्धहरूमा पनि उनको लेखनशिल्पीले लोकप्रियता कमाउँदै गयो । कविता, कथा, निबन्ध र समालोचनाका विषयमा चाहिँ उनका कृतिहरू पनि प्रकाशित भइरहे । साथै यिनले करिब पचासवटा गीत पनि लेखे ।
नेपाली भाषासाहित्यमा ईश्वर बल्लभको योगदानले सुप्रबल गोरखा दक्षिण बाहु, गद्दी आरोहणको रजत महोत्सव पदक र वीरेन्द्र ऐश्वर्य सेवा पदकबाट उनी विभूषित र अलङ्कृत भए । नेपाली भाषासाहित्यमा समर्पित भएबापत उनी मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार, प्रेस काउन्सिल पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदिबाट पुरस्कृत भए भने उनले कलासाहित्य डट कम प्रतिष्ठानबाट विद्वतवृत्ति पनि पाए । वाङ्मयको उत्कृष्ट सेवामा आबद्ध भएबापत विभिन्न सङ्घसंस्थाहरूबाट उनलाई अभिनन्दनपत्रहरू पनि समर्पित गरिए । उनको निधनपछि प्राडा. रामप्रसाद उप्रेती र उषा शेरचनको आर्थिक सौजन्यमा नइ प्रकाशनले नइ ईश्वर बल्लभ पुरकारको स्थापना गरेको छ ।
ईश्वर बल्लभले नेपालका विभिन्न भूभाग घुमे । घुम्ने क्रममा उनले देशका साहित्यकार र कलाकारहरूसँग पनि सौहार्दता गाँसे । साथै उनले भारत, चीन, थाइल्यान्ड र हङ्कङको पनि भ्रमण गरी अनुभवहरू सङ्ग्रह गरे ।
नेपाली साहित्याकाशमा अत्यन्तै श्रद्धेय, आदरणीय र माननीय इश्वर बल्लभको योगदानले नेपाली भाषा तथा साहित्य उद्यानको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्यो । उनले आफूले मात्र लेखेनन् नेपाली भाषा लेख्ने थुप्रै स्रष्टाहरूलाई मलजल पनि गरे । उनी नेपाली भाषासाहित्यका एउटा हर्कुलस नै थिए । उनी यस बाटामा हिँडेर कहिल्यै थाकेनन् ।
बिहान नभई बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ ।
ईश्वर बल्लभ नेपाली समाजमा खुबै चर्चित नाउँ हो । वास्तवमा उनका गीतहरू रेडियो नेपालबाट बजेपछि उनी जनचर्चामा आइरहे । उनको साहित्यिक व्यक्तित्वको एउटा पाटो उनी गीतकार पनि भएकाले श्रोताहरूले उनको थप प्रशंसा गरे । त्यति मात्र होइन, उनका शब्दरचनाहरू रेडियो नेपालबाट जति बजे प्रायः सबै जनप्रिय पनि भए ।
चाहे गीत भनौँ, चाहे कविता भनौँ ती एउटै रूखका हाँगाहरू हुन् । तर गीत चाहिँ विद्युतीय श्रव्य माध्यमबाट जनश्रुतिमा पुग्ने हुँदा गीतकार चाँडै जनपरिचित पनि हुन्छ । त्यसैले ईश्वर बल्लभ भन्ने नाउँ नेपाली समाजमा चाँडोभन्दा चाँडो एउटा सुप्रसिद्ध व्यक्तित्वमा रूपान्तरित नाउँ हुन गयो । हुन त उनका कविता महासागर हुन् । उनका कविता अति उच्च स्थानमा छन् । त्यसो त उनीद्वारा सिर्जना भएका कथा, निबन्ध, प्रबन्धहरूको महिमा उपल्लो दर्जाका छन् । त्यसैले बौद्धिक जगतले चाहिँ उनलाई कवि अथवा साहित्यकार भन्नमा बढी गौरव मान्ने गर्छ–
फुलाई फूल फुल्न धर्ती आकाश ओर्ली आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला ।
ईश्वर बल्लभलाई २०६४ साल चैत १० गते एकाबिहानै नर्भिक अस्पताल लगियो । एकैछिनमा उनी त्यहीँ स्वर्गीय भए । त्योभन्दा केही वर्षघि पनि उनलाई त्यही अस्पतालमा वसन्त चौधरीले झन्नै एक महिना राखेर उनको उपचार गरिदिएका थिए । चौधरीले नै ईश्वर बल्लभका लागि अस्पतालदेखि आर्यघाटसम्म लागेको सबै खर्च जुटाइदिए ।
ईश्वर बल्लभद्वारा लेखिएको अन्तिम कविता–
उज्यालोको गुफा
प्रश्न पुरानो
प्रश्न हिँड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !
तर अमीष्ट पुगिन्छ कि पुगिँदैन
पुगिँदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो ।
आदिम अर्थ
भयभीत हुनुको अर्थ सधैँ ।
अनि रुख सर्पको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा ।
अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत बाध्यता !
गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने– उज्यालो
सानो– सानो उज्यालो
उज्यालो गुफा ।
ईश्वर बल्लभका कृति
१. आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् (कविता सङ्ग्रह- २०२९)
२. केही भूमिकाहरू (निबन्ध सङ्ग्रह-२०३१)
३. एउटा सहरको किनारमा (कविता सङ्ग्रह- सन् १९७७)
४. समानन्तर (कविता सङ्ग्रह- २०३८)
५. नीलो माटो (कथा सङ्ग्रह- २०४१)
६. कस्मै देवाय (कविता सङ्ग्रह- २०४२)
७. सोचको मायामठ (निबन्ध सङ्ग्रह- २०५७)
८. प्रस्तुत (समालोचना सङ्ग्रह- २०५९)
९. धुवाँको जङ्गल (कविता सङ्ग्रह- २०६०)
सम्पादन
१. फूल पात पतकर
२. तेस्रो आयम
३. नेपाली चलचित्र निर्माण
४. टुकी
५. प्रज्ञा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो