शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

भानुभक्तले रामायण नेपालीमा किन अनुवाद गरे ?

शुक्रबार, २९ असार २०८०, ११ : २४
शुक्रबार, २९ असार २०८०

शिक्षा, उपदेश र धार्मिक संस्कारका दर्पणका रूपमा रहेका आदिकवि भानुभक्त आचार्य विशेषता नै विशेषताले भरिएका व्यक्ति थिए । हजुरबुबा श्रीकृष्ण आचार्य प्रख्यात विद्वान् व्यक्ति थिए । उनकै छत्रछायामा हुर्केका कविले असल संस्कार र ज्ञान प्राप्त गर्ने अवसर पाएका थिए । कुलीन सम्भ्रान्त उच्च ब्राह्मण परिवारमा हुर्केका उनले घरमै हजुरबुबाको विशेष स्नेह पाएका थिए ।

श्रीकृष्ण आचार्यका पुत्र धनञ्जय आचार्य र धर्मावती आचार्यको कोखबाट वि.सं. १८७१ असार २९ गते तनहुँ रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । श्री कृष्ण आचार्यका ६ भाइ छोरामध्ये जेठा धनञ्जयका भानुभक्त एक मात्र पुत्र थिए भने श्रीकृष्णको प्रिय नाति बनेका थिए । 

फलस्वरूप उनले आफनो क्षमता र सीपको विकास र विस्तार गर्नका लागि राम्रै अवसर पाएका हुन् । सम्पन्न परिवारमा हुर्केका उनले सुखमय जीवन व्यतित गरेका थिए । उनलाई नपुग्दो केही थिएन । उनको तीक्ष्ण बुद्धिका कारणले २२÷२४ वर्षको उमेरमै विशेष ज्ञान प्राप्त गरे । असल वातावरण र परिवेश सुहाउँदो शिक्षादिक्षाले उनलाई उचाइमा पुर्‍यायो । 

असल संस्कारमा हुर्केका आदिकवि भानुभक्तले असल नैतिक शिक्षाजस्तो पाएका थिए, त्यस्तै उनी स्वभावका पनि थिए । सामाजिक कार्यमा सहभागिता जनाउने उनको रुचिको विषय थियो । मानव जीवनमा मानिसका काम कर्तव्य के हुन्, उनले राम्ररी जानेका थिए । लोकहितका लागि मानिस अनवरत रूपमा लाग्नपर्छ भनी उनी ठान्थे । 

उनी त्यो बेलाको परिवेश र समाजमा पढे–लेखेका मानिस भए विद्वताको घमण्ड उनीमा अलिकति पनि थिएन । उनी हँसिला स्वभावका थिए । सबैसँग मिल्न सक्ने रसिला व्यक्तिका रूपमा समाजमा उनले परिचय दिएका थिए । कहिलेकाहीँ ठट्यौलो स्वभाव प्रदर्शन गरेर साथीसंगीलाई रमाइलो पनि गराउँथे । सधैँजस्तो लोक हितकारी काम गर्नुपर्छ भन्ने प्राथमिकतामा आफूलाई राख्थे । कविलाई सर्वगुण सम्पन्न आर्दशवान् कवि हुन् भन्दा सायद अत्युक्ति नहोला । अत्यन्तै सरल हँसिला, रसिला, सुशील स्वभावका व्यक्ति उनी थिए । 

नेपाली भाषामा रामायण किन ?

लोक कल्याणका लागि आफूबाट विशेष कार्य हुन जरुरी छ भन्ने कुरा उनको मनमा खेल्ने गथ्र्यो । २२÷२४ राज्यमा विभाजित भएकाले नेपाल देश सुरक्षित नहुने ठानेका पृथ्वीनारायणले एकीकरणको सुरुवात गरे । एकीकरण गर्दागर्दै बिरामी परेका पृथ्वीनारायणले एकीकरण कार्य बीचैमा छोड्नुपर्‍यो । कालान्तरमा अरुले त्यसलाई निरन्तरता पनि दिए । जे भएपनि उनले नेपालीलाई विभिन्न जात, धर्म, भाषामा विभाजित भएका वर्गलाई एकै ठाउँमा राख्ने कोसिस गरे ।

यता भाषाका माध्यमबाट भानुभक्तले जनजनमा हामी एक हौँ भन्ने भावना जागृत गराए । फरक–फरक भूगोल र परिवेश अनुसारको भाषा बोलिने त्यो बेला नेपाली भाषामा आफ्नो योगदान रहनुपर्छ भन्ने उनले ठाने । भाषिक एकता कायम गर्ने प्रयास उनीबाटै भएको हो । संयोगवश एक दिन उनको भेट घाँसीसँग भयो । घाँसीले घाँस बेची कुवा खनाउने कुरा बताएका थिए । त्यही कुराबाट प्रेरित भई भानुभक्तले सामाजिक कार्यमा लाग्ने अठोट गरे र वाल्मीकिकृत रामायणलाई नेपालीमा भावानुवाद गर्ने निधो गरे । सर्वप्रथम उनले सन् १८४१ मा रामायणको बालकाण्ड लेखे । 

सन् १८४९ मा भानुभक्त छिमेकीसँगको जग्गाको मामलाले काठमाडौं आए । काठमाडौंस्थित बालाजुको सौन्दर्य देखेर उनी प्रभावित भए । त्यसको परिणाम स्वरूप उनले कविता रचना गर्न थाले ।

यति दिन पछि मैले आज बालाजि देख्याँ, 

पृथिवी तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।

वरिपरि लहरमा झूलि बस्न्या चरा छन्,

मधुर बचन बोली मन् लिँदा क्या सुरा छन् ।।

उनी काठमाडौं बस्दै गर्दा छिमेकीसँगको जग्गाको मुद्दा जिते । मुखिया जंगबहादुरको पालामा सन् १८५० मा उनले जागिर खाए । जागिरे जीवनमा कागजपत्र पुर्‍याउन नसक्नाले जेल जीवन बस्न बाध्य भए । केही समयदेखि रोकिएको रामायण उनले जेलमा आएर लेख्न सुरु गरे । 

पाँच महिनाको जेल जीवनमा उनले अयोध्या काण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्ड रचना गरे । त्यसपछि अर्को वर्ष काठमाडौंमा बसेर उत्तरकाण्ड समाप्त पारेका थिए । जम्मा सात काण्डमा रहेको रामायण उनले ११ वर्षको समयको अवधिमा वि.सं. १९१९ मा समाप्त पारे । रामायण रचनापछि उनले भक्तमाला र प्रश्नोत्तर रचना गरे । सन् १८४९ तिर आदिकवि भानुभक्त वीर अस्पतालको वरिपरि डेरा गरेर बसेका र यिनले यहीँ नै भक्तमाला र प्रश्नोत्तर लेखेको विज्ञहरू बताउँछन् ।

हजुरबुबा श्रीकृष्ण आचार्यको शिक्षा–दीक्षा र लालनपालनमा यिनी रहेकाले उनी अद्भूत गुणले भरिपूर्ण थिए । लोकहितकारी शुभ गुणले सम्पन्न भानुभक्तले त्यतिबेलाको परिवेशलाई बुझेका थिए । ब्राह्मण र सम्भ्रान्त पढेलेखेका मानिसले मात्र शास्त्र, वेद, पुराण आदि धार्मिक ग्रन्थ पढ्न हुन्छ भन्ने मान्यता थियो । तथापि उनले सीमित वर्गको विचार ठिक छैन भन्ने बुझेका थिए । 

जब नेपाली भाषामा रामायण लेखे, उनले विद्वान् ब्राह्मण र पुरुष जातिको आलोचना खेप्नुपर्‍यो । नेपाली भाषामा रामायण लेखेर तत्काल प्रशंसा कम पाए पनि निन्दा बढी खेप्नुपर्‍यो ।

उनले संस्कृत भाषामा लेखेका ग्रन्थको नेपाली भाषामा अनुवाद आवश्यकता रहेकाले वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरे । जब नेपाली भाषामा रामायण लेखे, उनले विद्वान् ब्राह्मण र पुरुष जातिको आलोचना खेप्नुपर्‍यो । नेपाली भाषामा रामायण लेखेर तत्काल प्रशंसा कम पाए पनि निन्दा बढी खेप्नुपर्‍यो । 

गाउँगाउँ र ठाउँठाउँमा व्यक्ति–व्यक्तिमा रामायणको श्लोक गुञ्जन थाल्यो । समाजमा भाषिक एकताका लागि छनक देखिन थाल्यो । नेपाली भाषा सबैको भाषाको रूपमा स्थापित हुन थाल्यो । रामायणको सफलतापछि कुरो टुङ्गिदैन । 

उनले नेपाली भाषामा लेखिएको रामायणका श्लोकबाटै एक आपसमा गफगाफ र प्रश्नोत्तर हुन थाल्यो, अनि श्लोकमै दोहोरी खेल्न पनि थालियो । त्यति मात्र होइन गाउँ समाजमा रामायणका श्लोकहरू भाका हालेर गाउने मान्छेको कमी पनि देखिएन । एक दिन जब एउटा बटुवाले कविसँग परिचय माग्यो, उनले यसरी परिचय दिए ।

पहाडको अतिबेश देश तनहँुमा श्रीकृष्ण ब्राह्मण थिया

खुप् उच्चा कुल आर्यवंशी हुन गइ, सत्कर्ममा मन दिया ।

विद्यामा पनि जो धुरन्धर भइ शिक्षा मलाई दिया

इन्को नाति म भानुभक्त भनि हुँ यो जानि चिन्ही लिया ।। 

यसरी आचार्य भानुभक्तले संस्कृतमा रहेको वाल्मीकि रामायणलाई नेपाली भाषामा उल्था गरी हरेक नेपालीको पहँुचमा पुर्‍याउने कोसिस गरे । नेपाली भाषाका माध्यमबाट ग्रन्थको अनुवाद गरेका यिनले मुख्य उद्देश्य भने भाषिक एकता गर्नु नै थियो । 

सबै नेपालीले संस्कृत भाषाको ज्ञान राख्न नसक्ने भएकाले नेपाली भाषालाई माध्यम बनाई पूर्वीय संस्कार संस्कृतिमा आस्था बढाउने र नेपाली भाषाको जगेर्ना गर्ने नै उनको रामायण लेख्नुको प्रमुख उद्देश्य थियो ।

नेपालीले किन रुचाए ?

नेपाली समाज शिक्षाबाट प्रायः वञ्चित थियो । त्यतिबेला सहजै पढ्नका लागि वातावरण थिएन । यदि पढ्नु पर्‍यो भने कि त गुरुकहाँ गएर पढिन्थ्यो कि त घरमा नै साक्षर र सीप भएकाले पढाउने चलन थियो । कतिपय मानिस क्षमता र पहुँचले भ्याएसम्म भारतको काशी गएर पढने गर्थे, काशी गई पढ्ने हैसियत सबैको थिएन । नेपाली भाषामा लेखिएका ग्रन्थ नेपालीको पहुँचमा थिएनन् । नेपाली विषयमा लेखिएका सामग्री छाप्नलाई पनि भारत पुग्नुपथ्र्यो त्यसका लागि बढी बनारस जाने गर्थे ।

नेपाल भूगोलभित्र छरिरहेका नेपालीले सबैले संस्कृत भाषा ज्ञान राख्दैनथे । संस्कृत भाषा नजान्नु पनि स्वभाविकै थियो । पठनपाठनको चलनचल्ती नै कमजोर थियो । जसले नेपाली भाषामा ज्ञान राख्थे उनीहरूले पनि आध्यात्मिक ग्रन्थ संस्कृत भाषामै बढी भएकाले बुझ्न सक्दैनथे, यसरी नेपाली भाषामा आध्यात्मिक ग्रन्थको अनुवाद आवश्यक थियो । 

त्यो परिवेश बुझेका भानुभक्तले संस्कृत भाषाका विश्वकै आदिकवि भनिएका वाल्मीकिद्वारा लेखिएको रामायण नेपाली भाषामा अनुुवाद गर्ने निर्णय गरे । जातीय भाषाको प्रयोग बढिरहेको अवस्थामा नेपाली भाषा सबैको साझा भाषा हुनुपर्छ भन्ने आम नेपालीमा पर्दै गएको थियो । राष्ट्रपिता पृथ्वीनारायणले एकीकरण अभियान चाल्दै गरेको अवस्थामा यो जायज र ठीक छ भन्ने कुरा नेपालीले बुझेको थिए जसरी छरिएर रहेका मोतीका दाना एकत्र गरी मालाको स्वरूप हुँदा सुन्दर देखिन्छ, त्यस्तै गरी विभिन्न जातजाति भाषाभाषीबीच एकता आवश्यक छ भन्ने नेपालीले पनि बुझ्दै गएका थिए । 

एकतामै ठूलो बल हुन्छ भन्ने कुरा बुझेका नेपालीले पृथ्वीनारायण शाहले गरेको एकीकरणको अभियान ठीक हो भन्ने नेपालीको बुझाइ थियो । यसै गरी नेपाली भाषाको प्रयोग गरेर भाषिक एकता कायम गर्न आवश्यक छ भन्ने आम नेपालीलाई लागेको थियो कविले भूगोल एकता पछि अब भाषिक एकता कायम गर्न जरुरी ठाने । 

पूर्वीय धर्म–संस्कार, संस्कृतिमा आस्था राख्ने नेपालीको बाहुल्य थियो । यसै कारण नेपालीको हृदयले नेपाली भाषामा आध्यात्मिक ग्रन्थको उल्था पाउनु महत्त्वपूर्ण थियो । राष्ट्र बलियो हुँदा जनता बलियो हुने र जनता बलियो हुँदा राष्ट्र शक्तिशाली हुने बुझेका नेपालीले पृथ्वीनारायणले गरेको एकीकरण ठीक मानेझैँ भानुभक्तले गरेको भाषिक एकताको काम पनि रुचाउने थाले । मौलिक रूपमा नेपाली भाषामा कविता लेख्न सुरु गरेकाले भानुभक्तलाई आदिकवि भन्नुको पनि मुख्य कारण हो, तर समग्रमा भन्दा नेपाली भाषामा नेपालीलाई अभिरुचि बढाउने कार्यको सुरुवात वाल्मीकि विरचित रामायणलाई नेपाली भाषामा अनुवाद गरेर गरेका हुन् । 

सबैका लागि ज्ञान

विभिन्न जातिले भानुभक्तको कालखण्डमा संस्कृत भाषामा लेखिएका ग्रन्थ रामायण, वेद, पुराण, उपनिषद् आदि ग्रन्थको अध्ययन गर्न सबै जातिलाई निषेधजस्तै थियो, ब्राह्मणबाहेक अन्य जातिले संस्कृत भाषामा लेखिएका विविध ग्रन्थ पढ्नु ठीक होइन भन्ने मान्यता संस्कृत पढेका–बुझेका ब्राह्मण र क्षेत्रीमा विकास भएको थियो । 

भानुभक्त भने संस्कृत धर्मग्रन्थको मर्म सबै जातजाति, सम्प्रदायमा अर्थबोध हुन जरुरी छ भन्ने ठान्थे । यद्यपि शास्त्रवर्जित नियम भने पालना गर्न तत्पर देखिन्थे । संस्कृत भाषाभित्र नीतिनियम र संस्कार संस्कृतिका कुरामा सबै जातजातिको ज्ञान हुन आवश्यक छ भन्ने मान्यता भानुभक्तको थियो । यसरी सबैको पहुँचमा आध्यात्मिक ग्रन्थको पहँुच पुर्‍याउन भानुभक्तले नेपाली भाषामा रामायणको रचना गरे । समाजमा लैङ्गिक विभेद हुन हुँदैन भन्ने उनी सोच्दथे, तर नारी जातिले वेद, उपनिषद् आदि ग्रन्थको अध्ययन वर्जित थियो ।

ग्रन्थभित्रको मर्म थाहा पाउने अधिकार स्त्रीले राख्न नपाउनु ठीक नभएको उनी ठान्दथे । त्यसैले नारी जातिलाई ती ग्रन्थमा पहँुच पुर्‍याउन पनि उनले ग्रन्थको भाव नबिग्रने गरी अनुवाद गरे । 

यसरी नेपाली भाषामा रामायण र पूर्ण मौलिक वधुशिक्षा लेखेर सबै जात, धर्म, लिङ्गमा नेपाली भाषाका माध्यमबाट पूर्वीय सभ्यताको विकासमा ठूलो टेवा पुर्‍याए । कुशाग्र बुद्वि भएका भानुभक्तले विशेष गरी नारी शिक्षाका लागि एकरातको बसाइमा ‘वधुशिक्षा’ ग्रन्थ लेखे । वर्णाश्रम व्यवस्था अनुसार निर्धारण गरेको ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै जातिलाई हुने गरी धार्मिक आस्था र भाषिक प्रेम भानुभक्तले जगाए । नारीलाई नैतिकवान् आदर्शनारी बनाउन उनले वधुशिक्षाबाट मार्ग निर्देश गरे ।

महापण्डित श्रीकृष्ण आचार्यको रेखदेख, पालनपोषण अनि ज्ञानको छत्रछहारीमा बसेका भानुभक्त मानवको उत्तराद्र्ध जीवन चार भागमा विभाजन भएको वर्णाश्रम व्यवस्था अनुसार उनका नियमभित्र बसेर कुरा गर्न जरुरी ठान्थे । आदिकवि उत्तराद्र्ध जीवनमा आध्यात्मिक ज्ञान अपरिहार्य मान्थे । 

आध्यात्मिक ज्ञानबाटै उन्मुक्ति हुन सक्ने सोच्थे । आत्मा र परमात्माको ज्ञानबाटै भुक्ति, मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने बुझेका थिए । आद्यगुरु शंकराचार्यको रचनाको छायानुवाद गरेर वैराग्य भाव उत्पन्न गर्न भक्तमाला र प्रश्नोत्तर माला नेपाली भाषामा लेखे । जसले मानव जीवनलाई धर्म, सम्प्रदाय, पन्थ जे भए पनि मानव उन्मुक्तिका लागि दिशानिर्देश गरे । पूर्वीय वाङ्मयको मर्म उनले मात्र बुझेनन् अरुलाई बुझाउने कोसिस पनि उनीबाट भएको बुझिन्छ । 

कहाँ र के कसरी मनाइन्छ भानुजयन्ती ?

नेपाली भाषापे्रमी जहाँजहाँ छन्, त्यहाँ भानुलाई सम्झेको बुझिन्छ । त्यही कारणले विभिन्न संघ–संस्था भानुभक्तको नामबाटै स्थापित छन्, जस कारण ती संघसंस्थाले हरेक वर्ष भानुजयन्तीका अवसरमा विशेष उत्सव नै मनाउने गर्छन् । नेपालका विभिन्न सहर काठमाडौं, पोखरा, विराटनगर आदिमा विभिन्न संघ–संस्थाले भानुजयन्ती मनाउने गरेका छन् । 

भानुप्रति श्रद्धा व्यक्त गर्न सभा–गोष्ठी अनि गाउँ–सहर परिक्रमाको कार्यक्रम धेरैले गर्ने गरेका छन् । भानुभक्तको जन्मथलो गण्डकी प्रदेश तनहँुअन्तर्गत चुँदीरम्घामा पनि हरके वर्ष भानुजयन्ती मनाइन्छ । जीर्ण भानुभक्तको कुटीकै वरिपरि रहेर साहित्यकार र शुभचिन्तकले भानुलाई सम्झने गर्छन् । 

राजधानीमा रहेको प्रज्ञा प्रतिष्ठान, भानु साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, भानुभक्त मेमोरियल विद्यालय लगायत अन्य विद्यालय, महाविद्यालय, त्यसैगरी पश्चिमाञ्चल विकास मञ्च, सुदूरपश्चिमाञ्चल साहित्यिक समाज आदिले भानुभक्तको जन्मजयन्तीमा विविध कार्यक्रम गरी मनाइएको पाइन्छ । नेपालमा रहेका संघ–संस्थाले मात्र नभएर विदेशमा रहेका कूटनीतिक नियोगहरू, आप्रवासमा रहेका भाषापे्रमीले पनि भव्य कार्यक्रम गरी मनाएको देखिन्छ । भारतको दार्जिलिङमा त आदिकवि भानुभक्तलाई देवतुल्य नै ठानेर कार्यक्रम गरेको देखिन्छ । 

नेपाली भाषा नै बोलचालको भाषा रहेको भारतको आसाम, मेघालय, सिक्किम, दार्जिलिङ आदि स्थानमा रहेका नेपालीले भानुभक्तलाई बिर्सन सक्दैनन् । नेपालीभाषीको कारणले भारतमा नेपाली भाषालाई राष्ट्रभाषाको रूपमा संविधानमा समेत उल्लेख गरिएको छ । भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा त भानुजयन्तीको अवसरमा भानुको चर्चा परिचर्चा गरी विशेष कार्यक्रम नै सधैँ गर्ने गरिन्छ । 

(लेखक भानुभक्त मेमोरियल विद्यालयमा अध्यापनरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आचार्य पुरुषोतम लामिछाने
आचार्य पुरुषोतम लामिछाने
लेखकबाट थप