सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : भानु जयन्ती

मेरा कन्ढापरि जति उम्लन्छस् : छोरा रामनाथलाई भानुभक्तको त्यो चिठी

शुक्रबार, २९ असार २०८०, १० : ५६
शुक्रबार, २९ असार २०८०

स्वस्तिश्री चिरञ्जीवी श्रीनानी रमानाथ शर्मणि, भानुभक्त शर्मणः शुभाशीर्वादाः सन्तु । 

उप्रान्त, पढ्दैनस् भन्ने सुन्दछु, मेरा कन्ढापरि जति उम्लन्छस्, यहाँबाट म के गरूँ । म त्यहाँ आएपछि, तैँले नपढेको ठहर्‍यायाँ भने बाबै तेरो ज्यानको आश नराखी लात मार्ने छु । कि तैँले मर्नु पर्ला, कि मरी सुख पाउने छस् । यो बुझी, कि तैँले मर्नू कि पढ्नू । तेरी आमाले पनि यो चिठी हेरी साँझ–बिहान तँलाई लात मारी घोक्न लगाओस् । आज तेरी आमाका चेत आएनन् र तँलाई खेल्न दिई भने मैले लात मारी मर्नान्त पारेको तमासा हेर्ली । हेर, बाबै, पढिनस् भने तेरो जिउ खन्ज गराई छोडुँला । रती जति तेरो माया मान्ने छैन । सो जानी तेरी आमाले तँलाई अदप (अधीन) मा राखी घोक्न लगाउनू, तैँले घोक्नू । आजसम्म कति पढिस्, यहाँसम्म पाठ पुर्‍याएको छु भनी लेखी पठा । अघि पढेको पनि बिर्सिस् कि आउँछ, तेरा हातले लेखी पठा, नहि भने तेरो ज्यान साबुद (जस्ताको तस्तै) राख्ने छैैन । धेरै के लेखूँ । किमधिकम् मिति मार्ग सुदि १ रोज ३ मुकाम महाबौद्ध टोल, शुभम् । 

दाहिने किनारापट्टि : त्यहाँ पढ्दैन भने मानिस साथ लगाई मङ्सिरभित्रै यहाँ पठाई दे । म आउँदा सँगै लिई आउँला, यहीँ पढाउँछु । त्यहीँ पढ्छ भने बढिया (राम्रो) हो ।

तनहुँको रम्घामा रहेका छोरा रामनाथलाई भानुभक्तले काठमाडौँको महाबौद्धबाट यो चिठी लेखेका थिए । चिठीमा छोरालाई पढ्नमा ध्यान दिन र ध्यान नदिए लात हान्ने समेत उल्लेख छ । चिठीको बीचबीचमा उनले छोरालाई पढाउन आफ्नी श्रीमती (चन्द्रकलादेवी खनाल) लाई अह्राएका छन् ।  

भानुभक्तले लेखेको यो चिठी ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’ (२०७८) कृतिमा सङ्कलित छ । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको पृष्ठ ८४ मा भानुभक्तले छोरालाई चिठी लेखेको मिति वि.संं. १९१४ मार्ग ४ गते प्रतिपदा, मङ्गलबारका भन्ने उल्लेख छ ।

मेरा कन्ढापरि जति उम्लन्छस्, यहाँबाट म के गरूँ । म त्यहाँ आएपछि, तैँले नपढेको ठहर्‍यायाँ भने बाबै तेरो ज्यानको आश नराखी लात मार्ने छु । कि तैँले मर्नु पर्ला, कि मरी सुख पाउने छस् । यो बुझी, कि तैँले मर्नू कि पढ्नू ।

‘उनी १९१९ मा काठमाडौँमा आएर बसेका रामायण अनुवाद गर्दै थिए,’ प्रा.डा. व्रतराज आचार्य भन्छन्, ‘घरमा छोरा सानै थियो, १२ वर्षको, पढेको छ कि छैन भन्न चिन्ता हुँदा लेखकको पत्र हो त्यो ।’

भनुभक्तले लेखेको सो पत्र केही दिन पहिला सर्वराज आचार्यले सामाजिक सञ्जालमा समेत पोस्ट गरेका थिए । उनले तिनताका काखे, दुधे वा सानो बालक जे भए पनि छोराको नाममा चिठी लेख्ने चलन रहेको उल्लेख गरेका छन् । ‘श्रीमतीको नाममा चिठी लेख्ने चलन बुझिन्न,’ सर्वराजले भनेका छन्, ‘यो चिठी १२ वर्षका बालक रमानाथको नाममा लेखिएको देखिन्छ ।’ यसमा छोरा रमानाथ आचार्यको पढाइ लेखाइबारे उल्लेख गरिएको छ । 

Bhanu le choralai lekheko patra

घाँसी को हुन् ?

नेपाली साहित्यमा रुचि राख्नेहरुका लागि भानुभक्तको घाँसी शीर्षकको कविता नौलो होइन । भानुभक्त एउटा घाँसीबाट प्रेरित भएर रामायणको अनुवादमा लागेका थिए ।

भर जन्म घाँसतिर मन दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भईकन किन यस्तो । 

मेरा इनार न त सत्तल पाटी क्वै छन्

जे धन चिजहरू छन् घरभित्र नै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ती

धिक्कार हो मकन बस्नु न राखी कीर्ति ।

(घाँसी, १८९१ साल)

घाँसी शीर्षकको यस कविताको आशय देखिन्छ, भानुभक्तले कीर्ति राख्ने प्रेरणा भानुबाटै पाएका हुन् । धेरै विद्वानका अनुसार घाँसीबाटै प्रेरणा पाएर भानुले रामायण नेपाली भाषामा अनुवाद गरेका थिए । 

Bhanu ki shrimati (1)

कीर्ति राख्ने काम गर्न जसले उनलाई प्रेरणा दिए उनी को थिए ? यसबारे भानुभक्तले कतै उल्लेख नगरेकामा भने धेरै विद्वानले आशङ्का गरेका छन् । 

‘रात चिन्र्या भानु’ नाटक रचना गरी शिल्पी थिएटरमा मञ्चन समेत गराएका निर्देशक प्रभाकर न्यौपानेले भानुको कविताको घाँसी पात्र नरनारायण रानाभाट भएको उल्लेख गरेका छन् । नाटक तयार गर्ने क्रममा भानुको गाउँ चुँदीरम्घामा स्थानीयवासीसँग सोधपुछ गर्दा उनले उक्त नाम भएको जानकारी पाएको उनले बताएका छन् । 

भानुभक्तमा ज्ञान सबैमा बाँडिनुपर्छ, सबै अक्षर चिन्ने शिक्षित हुनुपर्छ भन्ने भावना थियो । त्यसैले उनले संस्कृतमा मात्रै रहेको वाल्मीकिकृत रामायणलाई नेपालीमा अनुवाद गरेका थिए । सो अनुवाद भएको नेपाली रामायण नेपालका कुना–कन्दराका बुढापाका सबैले श्लोक हालेर गाउँथे, अझै कतिपय ठाउँमा रामायणका श्लोकहरू गुन्जिन्छन् । यस्तो विचार भएका भानुभक्तमा आफ्ना सन्तानलाई पनि शिक्षा प्रदान गर्नुपर्छ भन्ने थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप