शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘हरडहुवा’को उल्लासमा पश्चिम तराई

शुक्रबार, २९ असार २०८०, ०९ : २५
शुक्रबार, २९ असार २०८०

धनगढी । धान रोपाई सकिनै लाग्दा विविधताले भरिएको यहाँको पश्चिम नेपालको गाउँ बस्तीहरूमा फरक–फरक संस्कृतिको रौनक छाएको छ । एकातिर धान रोपाइपछिको हरडहुवा पर्वको रौनक थपिएको छ,  भने अर्कोतिर साउने सङ्क्रान्तिको रौनक छ ।

विशेष गरी तराईको आदिवासी डगौरा थारु, रानाथारु, कठरिया थारु बस्तीमा यति बेला हरडहुवा, निमौनी र हरधोवाको रौनक निकै थपिएको छ । जुन पर्वको रौनकले रोपाइको कार्य समापन भएको जनाउ पनि दिने गर्दछ ।

हरडहुवा पर्व धान रोपाइ सकिएको खुसीयालीमा कञ्चनपुर, कैलाली, बर्दियालगायत जिल्लास्थित डगौरा, रानाथारु, कठरिया थारुहरूले सामूहिक रूपमा खानपान, नाचगान गरी पर्व मनाउने तयारीमा छन्, भने केही बस्ती मनाइरहेका छन् ।

यसैबीच तयारीको क्रममा बृद्धबृद्धाहरु पर्वमा चाहिने दुना टपरी गाँस्ने र पर्वको लागि जिटा (मासु)को जोहो गर्न थालेका छन् । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले हरडहुवा पर्वको अवसरमा चेलीबेटी तथा ईष्ट मित्रहरूलाई घरमा आमन्त्रण गरी आपसमा खुसीयाली साटासाट गरिने प्रचलन रहेको बताए ।

hardahuwa1

उनका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हलो धुनु हो । जुन पर्वमा बङ्गुर, खसी सामूहिक रूपमा काटेर खानपान गरी रमाउने प्रचलन रही आएको हो । तर बस्ती पिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ । पर्व मनाउने तिथिमा एक रुपता ल्याउन पनि जरुरी रहेको संयोजक चौधरीको जोड छ ।

कैलारी गाउँपालिका ६ बेनौलीका भलमन्सा काजीराम महतोले गाउँको भेलाले असार ३० गते गाउँभरिको सामूहिक हरडहुवा मनाउने निर्णय भएको जानकारी दिए ।

थारु समुदायमा हरडहुवाको आफ्नै मौलिक विशेषता रहेको छ । रोपाइको क्रममा जानी नजानी किरा फट्याङ्ग्रा, सर्प, भ्यागुतालगायत जीवहरू मार्ने काम हुने हुँदा पापबाट मुक्तिको लागि पनि हरडहुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रही आएको बताइन्छ ।

उता पहाडी जिल्ला तथा पहाडी समुदायमा हरियो सङ्क्रान्ति मनाउने प्रचलन पनि रही आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ वासुदेव पाण्डेका अनुसार हरियो सङ्क्रान्तिको अवसरमा अन्नबाली सप्रियोस् भनी मेल प्रजातिको रुखको हाँगा धान रोपिएको खेतमा गाड्ने प्रचलन रहेको जानकारी दिए ।

यसैबीच असारको समाप्ति तथा साउनको आगमनले हिन्दु धर्मवलम्बीहरुमा अलग्गै उत्साह थपिएको छ । खेतीपाती वृद्धिको लागि भगवान् शिवको पूजाआजा गर्ने, दीन दुखीलाई अन्न दान गर्ने परम्परा समेत रहँदै आएको बताइन्छ । साथै साउन महिनाभरि माछासामु नखाने, साउनभरि दैनिक रूपमा मन्दिर तथा देवालयमा जल चढाउने समेत गरिन्छ । 

पछिल्लो समय सबै जातजातिका महिलाहरूले साउने सङ्क्रान्तिको अवसरमा हरियो चुरा लगाउने, हातमा मेहन्दी लगाउने समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप