रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष समाचार
आज मिति २०८० साल असार महिनाको २८ गते बिहीबार । आज दिनभर भएका प्रमुख घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
अदालतको आदेश
ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो ।
सभामुखको भूमिकामाथि प्रश्न
प्रतिनिधिसभाको सभामुख स्वतन्त्र, निष्पक्ष, तटस्थ भूमिकामा रहनुपर्ने संसदीय मान्यताका कारण आफ्नो राजनीतिक दलको सदस्यता समेत त्याग्ने प्रचलन रहँदै आएको छ। त्यही प्रचलन अनुरुप नै वर्तमान सभामुख देवराज घिमिरेले पनि आफ्नो पार्टी नेकपा एमाले परित्याग गरेका छन् । तर उनको कार्यशैली स्वतन्त्र, निष्पक्ष र तटस्थ नभएको र एमाले मोह झल्किएको केही घटनाले देखाउँछ भने उनको भूमिकाप्रति दलका नेता तथा सांसदहरुले प्रश्न उठाउन थालेका छन् ।
बजेट पारित
आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान संघीय संसद्का दुवै सदनबाट पारित भएको हो । आजै राष्ट्रियसभामा मन्त्रीहरुले जवाफ दिएका थिए ।
अध्यागमनको अवरोध
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ ।
एनबीएको निर्णय
वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयं बैंकहरुले नै तोक्ने भएका छन् । हालसम्म नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो ।
अब भने बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ ।
हालसम्म वाणिज्य बैंकहरुको ब्याजदर तय गर्ने विषयमा एनबीएको बैठकमा उपस्थित प्रमुख कार्यकारी अधिकृतहरुको सहमति बमोजिम सबै वाणिज्य बैंकले लागू गर्दै आइरहेका थिए ।
राप्रपाको कार्ययोजना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलनमार्फत पार्टीको नवीन कार्ययोजना सार्वजनिक गरेका हुन् ।
केन्द्रीय कार्य समितिको बैठक गत १, २, ३ मा संसोधन सहित पारित राजनीतिक कार्यपत्र तथा विभिन्न समयमा बसेको कार्य सम्पादन समिति र पदाधिकारीहरूको बैठकले तयार गरेको कार्ययोजना २०८० अन्तर्गत आगामी कार्यक्रम घोषणा गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
जग्गाधनी पुर्जा वितरण
राष्ट्रिय भूमि आयोगले १८ जिल्लाका ३ हजार १ सय २४ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
बिहीबार सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपस्थित भएका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा।दामोदर रेग्मीले यसबारे जानकारी दिएका हुन ।
हालसम्म ५७० भूमिहीन दलित परिवार, ४ सय ८ जना भूमिहीन परिवार र १७८ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
गाडी चार्जको समस्या
चीनले नेपालको संघीय संसद्का लागि भनेर ८ वटा बिजुली गाडी उपहार दिएको छ । झन्डै साढे ३ करोड रुपैयाँ पर्ने ती गाडी सोमबार रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको हो ।
एसयुवीको ३ वटा कार र इसिक्स ६ वटा गाडी आपसी सहयोग आदानप्रदान अन्तर्गत दिइएको हो ।
तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अघिल्लो वर्ष भदौ २७ गतेदेखि ३० गतेसम्म ३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ समकक्षी लि चान सु बीच आपसी सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सोही भेटपछि चीनले नेपालको संसदलाई विद्युतीय कार उपलब्ध गराएको हो ।
यो पनि....
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको एक दिवसीय भ्रमणमा आउने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।
नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म