स्थानीय तहको बेथिति : लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्ष लोकसेवा तयारी कक्षाका लागि सञ्चालन गरेको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ । नगरपालिकाले नायब सुब्बा र खरिदारका लागि लोक सेवा तयारी कक्षा तालिम सञ्चालन गरेको हो ।
गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर, मोरङसँग नगरपालिकाले नायव सुब्बा र खरिदार तहको तयारी कक्षाका लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजार रुपैयाँमा सम्झौता गरेको छ ।
सम्झौता बमोजिम खरिदारमा ६६ र नायव सुब्बामा ६५ जनासहित एक सय ३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहने गरेको प्रशिक्षार्थीहरु बताउँछन् ।
दुई वटा तहका लागि छुट्टाछुट्टै सम्झौता भए पनि उपस्थित सबै विद्यार्थीलाई एउटै कक्षामा पढाएर अनियमित गरेको स्थानीय योगेश सिंहले बताए । उनले भने, ‘नायव सुब्बा र खरिदारका लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ छ । तर एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाएर कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता गरिएको छ ।’
आफूहरुले नगरपालिकासँग यसबारे सूचना माग गर्दा धेरै प्रयासका बाबजुद अपुरो सूचना दिइएको उनको गुनासो छ । सिंहका अनुसार नगरपालिकाले उनीहरुलाई सम्पूर्ण विवरण आइनसकेको भन्दै सेवा प्रदायकसंस्थासँग माग गरिएको र उताबाट आएपछि उपलब्ध गराउने आश्वासन दिइएको छ ।
यद्यपि, तालिम कक्षाका लागि भुक्तानी भइसकेको भन्दै उनले बिल भर्पाइ बिना नै भुक्तानी दिएकाले अनियमितता भएको हुन सक्ने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेका छन् । ‘दुवै विषय करिव करिव मिल्ने भएकाले र सवै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायव सुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो,’ उनले भने ।
दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकै ठाउँ, एकै पटक कक्षा सञ्चालन गर्ने तर भुक्तानी भने दुवैको गर्दा अनियमितता भएन र? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत बगालेले प्रतिक्रिया दिन चाहेनन् ।
तलिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक लगायतका सामग्री नपाएको बताए । उनले कक्षा सञ्चालन भएको ३ दिनपछि मात्र आफू सहभागी भए पनि उपस्थित नभएका दिनहरुको समेत हस्ताक्षर गराइएको उनको भनाइ छ ।
धनगढीमाई नगरपालिका–६ का अमित कुमार मण्डलले १० दिन जतिमात्र आफू कक्षामा सहभागी भएको तर एक महिनाकै उपस्थितिमा हस्ताक्षर गर्न लगाइएको बताए ।
संस्थाले प्र्रशिक्षकका लागि पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च (किताब, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया बिस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाई), उद्घाटन÷समापन, प्रदिवेदन, सञ्चार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुगमन तथा अन्य सम्झौता बमोजिम तालिम सञ्चालन भएको प्रतिवेदन बुझाएर भुक्तानी लिइसकेको छ ।
तालिम २०७९ चैत ९ गतेदेखि २०८० वैशाख ८ गतेसम्म सञ्चालन भएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लोक सेवा तयारी कक्षा सञ्चालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने २ बजेको फ्लाइटमार्फत काठमाडौँ आउने
-
प्रियङ्का अभिनीत ‘ममी’को पोस्टरमा के छ ?
-
‘भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अख्तियार विधेयक रोक्नुहुन्छ भन्ने मलाई लाग्दैन’
-
फ्राइडे रिलिज : ‘कार्साङ’ भर्सेज ‘गेम चेन्जर’
-
पूर्वक्रिकेटरले भने- गौतम गम्भीर पाखण्डी
-
कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?