शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बेँसीसहर–चामे सडक अवरुद्ध

बिहीबार, २८ असार २०८०, ०६ : ५२
बिहीबार, २८ असार २०८०

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । 

बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल  र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ । सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए ।  

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो । पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो । पुल निर्माणका लागि मङ्गलबारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताए । 

मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो । विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो । तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो । उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप