आज २०८० असार २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
सीता दाहालको अन्तिम बिदाइ
प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।
साम्राज्ञीले जितिन् मुद्दा
काठमाडौँ जिल्ला अदालतमा अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । आफूमाथि गाली बेइज्जती गरेको भन्दै अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए ।
अन्तरिम आदेश जारी
क्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्यमन्त्रीको पत्र कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले पत्र कार्यन्वयन नगर्न विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
कारण देखाउ आदेश
नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
इमर्जिङ टिम्स एसिया कप
एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने आठवटै राष्ट्रले आफ्नो अन्तिम टोलीको घोषणा गरेका छन् । श्रीलङ्कामा बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्ने छ ।
ब्याजदरमा कार्टेलिङको आक्रोश
यतिबेला बैंकको ब्याजदरको विषय निकै चर्चामा छ । सरकारले नै बैंक तथा वित्तीय संस्थामाथि धावा बोल्दै मिलेमतोमा ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएपछि वित्तीय क्षेत्र तरङ्गित हुन पुगेको हो । यसले आउँदो महिना अर्थात् आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनादेखि नै ब्याजदर निर्धारणमा खुल्ला नीति अंगिकार हुने अनुमान गरिएको छ ।
विपद्बाट ९७ हजार मानिस प्रभावित हुने आङ्कलन
पछिल्लो समय जलवायु परिवर्तनको असर, मानवीय क्रियाकलापका कारण हुने विपद्, वातावरण विरोधी विकास लगायतका कारण मनसुनजन्य विपद्का घटना दिनानुदिन बढिरहेका छन् । साथै नदीका जल प्रवाह मार्गमा अतिक्रमण र बाढी प्रभावित तथा जलाधार क्षेत्रमा भूमिको अव्यवस्थित प्रयोगले गर्दा यस्ता समस्या अझ जटिल बन्दै गइरहेको छ ।
कर्मचारीको सरुवा गर्ने तयारी
सरकारले लामो समयदेखि एउटै कार्यालयमा बसेका नायब सुब्बादेखि उपसचिव तहका कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वर्ष वा त्यो भन्दा बढी समय एउटै कार्यालयमा बसेका नायब सुब्बा, शाखा अधिकृत र उपसचिवको सूची तयार गरेको छ ।
छानबिन गर्न समिति गठन
जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ ।
२२ लाख बढी भ्रष्टाचार
सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैँया ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया