मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भुवन केसीविरुद्धको मुद्दा जितेपछि साम्राज्ञीले भावुक हुँदै भनिन्, ‘अब बल्ल श्वास फेर्न पाउँछु’

बुधबार, २७ असार २०८०, २० : १४
बुधबार, २७ असार २०८०

काठमाडौँ । अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै आफूविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दा जितेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अब बल्ल आफूले श्वास फेर्न पाउने बताएकी छन् । काठमाडौँ जिल्ला अदालतले भुवन केसीद्वारा दायर मुद्दामा दाबी नपुगेको ठहर गरेपछि उनको यो प्रतिक्रिया आएको हो ।

मुद्दा जितेसँगै सामाजिक सञ्जालमा साम्राज्ञीले अब आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको भन्दै आफूलाई यस कठिन घडीमा साथ दिने सबैलाई धन्यवाद दिएकी छिन् । मुद्दा लड्दाको तीन वर्षको अनुभव साझा गर्दा उनी भक्कानिएकी थिइन् ।

 यस्तो छ साम्राज्ञीको भनाई:

यो प्रकरण यही सामाजिक सञ्जालबाट सुरु भएको थियो । जहाँ मैले चलचित्र क्षेत्रमा मेरो यात्राबारे साझा गरेको थिएँ, जुन तितो मिठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी वा चोट दिने मेरो उद्देश्य थिएन । म मात्र सबै युवालाई सन्देश दिन चाहन्थे – तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ तर त्यहाँ रहेका रक्तपिपासुहरुबाट बच्नुपर्छ ।

मैले मेरो दिमागमा भएको कुरा साझा गरे । किनभने त्यतिबेला मेरो दिमागमा धेरै कुराहरू खेलिरहेका थिए । त्यसैका लागि मेरोविरुद्ध १० करोडको मुद्दा हालियो । त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, चलचित्र क्षेत्रमा सबैको समर्थन छ भन्ने देखाउनु थियो । त्यो मलाई धम्क्याउने उसको तरिका थियो ।

कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने रहेछ । यो निकै डरलाग्दो छ । जे भयो त्यसले अब त केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन । 

३ वर्षभन्दा बढी वकिलहरूले मेरो मुद्दा लड्नुभयो । यो सजिलो थिएन । अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । म मलाई समर्थन गर्नुहुने परिवार, फ्यान, मेरो कानुनी टिम सबैलाई धन्यवाद दिन चाहन्छु । मैले जितेँ । यो सकियो । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप