चुनावमा उम्मेदवार बन्नेको लर्को, चुनावपछि बेपत्ता
चुनाव लड्ने सबैको प्रजातान्त्रिक हक हो । आवश्यक संवैधानिक र कानुनी योग्यता पुगेका व्यक्ति जो जतासुकै प्रतिस्पर्धा गर्न पाउँछन् । त्यसैले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा थुप्रै व्यक्ति स्वतन्त्रदेखि पार्टीको उम्मेदवार बन्ने लर्काे लाग्छ ।
निश्चित सिट सङ्ख्यामा विजयी भएका बाहेक अन्य उम्मेदवार र व्यक्तिहरू आवधिक समयसम्म प्रतिनिधित्व गर्नबाट वञ्चित हुन्छन् । त्यतिबेलासम्म उनीहरू अर्को चुनावको तयारीका लागि जनताको सुखदुःखमा सहभागी हुँदै प्रतिनिधित्व गर्न चाहेको निकाय स्थानीय, प्रदेश र सङ्घीय सांसदको छाया बनेर रहनुपर्ने हो । तर हाम्रो देशमा त्यस्तो भएको पाइन्न ।
चुनावमा प्रतिस्पर्धा गरेकाहरूले पूरा गर्नुपर्ने आवश्यक दायित्व पालन नगरेकै कारण कहिल्यै प्रतिस्पर्धाको राजनीतिमा नभएका मान्छेहरूले फुत्त आएर चुनाव जितेको छन् । चिट्ठा परे जस्तो उनीहरू एकाएक शक्तिमा आउँछन् । उनीहरूमा जनउत्तरदायित्वको अभाव हुन्छ । पछिल्लो समय राजनीतिमा नभएका मान्छेहरूलाई पनि धमाधम चिट्ठा परिरहेको छ । राजनीतिमा कुनै योगदान नगरेका, राजनीतिको सामान्य परिपाठसमेत नजानेकाहरू चुनावमार्फत धमाधम अनुमोदन भइरहेका छन् ।
यस्तो किन भइरहेको छ ?
पार्टीहरू र विगतमा चुनावमा प्रतिस्पर्धा गरेका मान्छेहरूले गम्भीर भएर आत्ममूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । चुनावमा पराजित हुँदा र विजयी बन्दा आफूले गरेका प्रतिबद्धताहरू कति पूरा भयो ? चुनाव जित्नेहरू मात्र होइन पराजित हुनेहरू पनि आफूलाई विश्वास गरेर मतदान गर्नेहरूप्रति जवाफदेही हुनुपर्छ । चुनावमा जय–पराजयपछि आफ्नो भूमिका बिर्सने उम्मेदवारका कारण पनि पुराना दलहरूप्रति आम मान्छेको आकर्षण कम भएको हो । राजनीति र समाज सेवाका लागि कर्तव्य गर्न कुनै विशेष समय, दिन र साइतको आवश्यक पर्दैन । सामाजिक कामका लागि कुनै ज्योतिषको चिना टिपोट र शुभ साइतको लगन जुराउनु पर्दैन । जहिल्यै जनताका सुखदुःखमा उनीहरूको उपस्थिति आवश्यक हुन्छ । दुःखमा सान्त्वना र सुखमा सहयात्रा अपेक्षित हुन्छ ।
चुनाव हुनुको केही समयअघि र चुनावको दिनसम्म जनता सबैभन्दा ठूलो भगवान्, महान् न्यायाधीश र भाग्य विधाता जस्ता अनेक सम्मानजनक नाम र संज्ञाले सम्बोधित हुन्छन् । राजनीतिक पार्टी तिनका नेताकार्यकर्ता आम मतदातासामु साहुसँग ऋणी भाका थप्न गएझैँ विनीत र नम्र बन्छन् । व्याज जति प्रतिशतले बढाए पनि आफू तिर्न राजी भएको मौखिक तमसुक गरिदिन्छन् ।
चिन्दै नचिनेकाहरू समेत नाता जोड्दै आउँछन् । सबै आफन्त सबै दुःखसुखका साथी जस्तो लाग्छ । पार्टीको कार्यकर्ता नभएको सामान्य मान्छेलाई आफूसँग भोट माग्न आउने सबैलाई भोट दिऊँ दिऊँ लाग्ने बनाउँछन् । कतिले सामान्य घर खर्च, कतिले छोराछोरीका लागि रोजगारी, कतिले खाने पानी सिँचाइ, नहर, कुलो, पैनी आदिको सामाजिक समस्यासमेत अब हटाउने वचन दिन्छन् ।
गाउँठाउँको खोनेपानी योजनाको सर्भेदेखि बाटो खन्ने, पिच गर्नेलगायतका काममा फोकस गर्छन् । स्कुल, हेल्थपोस्ट, खेलमैदान निर्माण लगायत यावत कुराको माग पूरा गर्ने वाचा दिन्छन् । त्यतिबेला उनीहरू दुःखसुखका साथी जस्ता लाग्छन् । आफ्नो भाउ बढेकोमा सामान्य जनतादेखि अलिकति पढेलेखेका मान्छेसमेत हुनेवाला संसद् मन्त्री र अन्य त्यस्तै व्यक्तित्वको समीपमा रहँदा उसले सल्लाह माग्दा खुसी भएर अचाक्ली हुन्छन् । मानौँ आफ्ना सबै दुःखको निदान गर्ने र दुःखमा साथ दिने सुखमा रमाउने मान्छे यिनै हुन् । भाग्य विधाता सब हुन् । साथीभाइसँग धक्कु पनि लाउन भ्याउँछन् । छरछिमेकसँग आफ्नो बाक्लो बसउठ भएको मान्छेले जितेमा यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने सपना पनि देखाउँछन् । कसैले गाउँमा फलानोले जिते गाउँमा विकासको खोलो नै बगाउने, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टीकै फुर्ती लाउँछन् । आश्वासन सपना र लोभको बिक्रीवितरण नै हुन्छ ।
हामीले जिते बजेट आउने र अर्काेले जिते बजेट कटाइदिने धम्कीसमेत दिन्छन् । फ्री भिसा र फ्री टिकेटको लोभ देखाउँछन् । खानेपानी कृषि सिँचाइ मल बीउ सबको प्रबन्ध गर्ने कुरा गर्छन् । समग्रमा नगर्ने काम कुनै हुँदैन । आत्मनिर्भर अर्थतन्त्र, स्वाभिमानी देश र पौरखी नागरिक निर्माणको काल्पनिक प्रतिस्पर्धा नै दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारबीच हुन्छ ।
वडाध्यक्षदेखि गाउँ पालिका र नगरपालिकाका उम्मेदवार कार्यकारी हुन् । उनीहरू एक किसिमले विकासे नेता कार्यकर्ता नै हुन् । विकास निर्माणका कुरा गर्न मिल्छ, गर्ने उनीहरूले हो तर विडम्बना प्रदेश सभा र सङ्घीय सांसदहरू आफ्नो भूमिका र कर्तव्य बिर्सेर पूरै विकासे नेता कार्यकर्ता र स्थानीय निकायको कार्यकारी प्रतिनिधि भए झैँ गरी सपना देखाउँछन् । संसद्मा बसेर नीति–नियम बनाउनुपर्ने र बहस गर्नुपर्ने चुनावका लागि आएका प्रतिनिधि खल्ती र डायरीमा विकास बोकेर प्रस्तुत हुन्छन् । यी र यस्ता मजाक केवल चुनावका दिनसम्म मात्रै चल्छ । जब चुनाव सकिन्छ, सबै उम्मेदार गायव हुन्छन् । नेता कार्यकर्ताले आफ्नो भूमिका र कार्य क्षेत्र सबै बिर्सन्छन् । मृत प्राणीलाई उपियाँ उडुसले छोडे झैँ भोट माग्नेहरू जनताबीचबाट अलप हुन्छन् ।
सपनाको अनेकौ भ-यांग चढाएर अलपत्र छोडिदिन्छन्
चुनावपछि आफ्नो निकाय फर्केर नहेर्ने उम्मेदवार अर्को चुनाव आएपछि सबैभन्दा विनित भएर आइपुग्छ l चुनाव पछि, जनताका सुख दुखमा नहुनेहरू चुनावका बेला आउँछन् र जित्नेले पनि केही नगरेको र अबको लागि आफू अब्बल उम्मेदवार भएको दाबी प्रस्तुत गर्छन् l चुनावको बेला सहयोगी देखिने राजनीतिक दल दसैँ, तिहार,छठ, इद, होली जस्ता महत्वपूर्ण पर्वमा जनतालाई यातायातको अभाव हुँदा कतै देखा पर्दैनन् l कोरोना सङ्कटमा आफ्ना गाउँ ठाउँका कुनै उम्मेदवार जनतालाई के कसो छ भन्न गएनन् l
हरेक चाड पर्वमा बढने महँगी र अभावमा कुनै पनि उम्मेदवार आम मान्छेको लागि आवाज हुँदैन l चुनावमा गाडी लिएर मान्छे ओसारपसार गर्ने उम्मेदवार मान्छे सिकिस्त भएर अस्पताल जान नसक्दा गाडी लिएर पुग्दैन l जनताका दैन्दिनका समस्याबारे बेखबर बस्छ l जनताको घर आँगनमा बाढी पस्दा र पहिरो खस्दा चुनावमा खडा भएको कुनै उम्मेदवारले पनि मुख देखाउँदैनन् l जग्गा दलालले सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिको नाममा पास गर्दा त्यस्तो रोक्न त झन् के पुग्थ्यो !
स्कुलमा शिक्षक नहुँदा र भइरहेकै शिक्षकहरूले पनि राम्रो पठन पाठन नगर्दा, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि नहुँदा, स्थानीय निकायले राम्रो सेवा प्रवाह नगर्दा ती समस्यासँग जुध्न कोही पुग्दैन तर जब चुनाव आउँछ अनेक योग्यता र विशेषताले सिंगार पटार गरेर एक से एक उम्मेदवार आफ्नो निकाय बनाउने सपनाको पोको बोकेर खडा हुन्छन् l जनतालाई दिग्भ्रमित पार्ने अनेक अस्त्र लिएर आइपुग्छन् l
चुनाव हार्नेले आफ्नो पनि जिम्मेवारी हुन्छ भन्ने कहिल्यै बोध गर्दैनन्
स्थानीय तह निर्वाचन २०७४ लाई हेरौँ, जहाँ ७५३ वटा स्थानीय निकायको लागि प्रमुख र उपप्रमुखसहितका ३५२११ पदका लागि ५७ दलको तर्फबाट र स्वतन्त्रहरु गरी १४८३६४ जना उम्मेदवार मैदानमा थिए l ३५२११ निर्वाचित हुँदा बाँकी रहेका ११३१५३ जना उम्मेदवार निर्वाचित हुन नसकेका भए पनि जनताले केही न केही पत्याएका मानिस हुन् l २०७९ को स्थानीय निकायको निर्वाचनमा पनि १५३२२० उम्मेदवार खडा भएका थिए l ३५२११ उम्मेदवार निर्वाचित भए भने ११८००९ उम्मेदवार निर्वाचित हुन सकेनन् l के पराजित उम्मेदवारको आफ्ना मतदाताप्रति जिम्मेवारी रहन्न र ? खासमा यीमध्ये धेरै कमले मात्र आफ्नो क्षेत्रमा बसेर जनताको सुखदुखमा साथ दिएको पाइन्छ भने बाँकीले चाहिं आफ्नो जिम्मेवारी चुनावमा उठ्नु मात्र हो भन्ने ठानिरहेको देखिन्छ l यस्तै गरी प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवार बन्ने व्यक्तिहरू पनि चुनाव हारेपछि आफ्नो सबै दायित्व र भूमिका बिर्सेर बस्छन् l
समग्रमा भन्दा जित्नेको मात्रै सबै जिम्वेवारी र हार्नेको कुनै दायित्व नभएको जस्तो मान्यता स्थापित भएको छ l चुनाव एउटाले जिते पनि ऊसँग प्रतिष्पर्धा गर्ने कतिपयले पनि तुल्य तुल्य मत ल्याएको हुन्छ l कतिपय ठाउँमा मत बराबर भएर गोला प्रथा गर्ने पनि गरिन्छ l तसर्थ हार्नेको पनि जिम्मेवारी कम हुँदैन l तर राजनीतिमा हार्नेको भूमिकालाई अवमुल्यन गरिने भएकाले हार्नेहरू मैदान बाहिर बस्न पुग्छन् l जित्नेको काम कारबाहीलाई रचनात्मक बनेर सघाउने, खबरदारी गर्ने र कसैलाई राजनीतिक आग्रह / पूर्वाग्रह राखेर पेलियो भने त्यसको प्रतिरोध तत्काल गर्ने दायित्व उपविजेताको हुनुपर्छ l तर यस तर्फ उदासीन बन्नेहरू नै चुनावमा उम्मेदवार बन्न हानाथाप गरेर पुगेका हुन्छन् l
राजनीति समाज सेवा हो, समुदायसँग घुलमिल हुने, समाजको हर घटनामा चनाखो रहने विषय हो l यहाँ भने जब चुनावको सूचना जारी हुन्छ तब जनताका सुख दु:खमा कहींकतै नदेखिएकाहरु बर्खामा च्याउ जसरी भटाभट मैदानमा निस्कन्छन् l जनताको समस्या वेवास्ता गरेर गर्न थालिएको विकृत राजनीतिका कारण नै पार्टी राजनीति र समुदायको हितसँग कहिल्यै साइनो सपना नभएकाहरूले समेत चुनाव जित्छन् l
( कार्की त्रिभुवन विश्वविद्यालय,कीर्तिपूरका अनुसन्धाता एम.फिल- पिएच.डी. हुन् )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म