प्रचण्डसँग सीताले रुँदै गरेको त्यो वाचा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता पौडेल दाहालको बुधबार (२७ असार) बिहान निधन भयो ।
जीवनको आधा शताब्दीभन्दा बढी (५४ वर्ष दुई महिना) सीता–प्रचण्डको सहयात्रा रह्यो । २०२६ वैशाख २६ गते विवाह गरेको यो जोडीले २०७६ वैशाख २६ गते पन्चेबाजासहित धुमधामसँग विवाहको ५०औँ वर्षगाँठ मनाएको थियो । यस वर्षगाँठ उत्सवलाई आलोचकले पुँजीवादी भद्दा नाटकको संज्ञा समेत दिएका थिए ।
बेहुलाको मालामा सिँगारिएका प्रचण्डले सो वर्षगाँठ उत्सवमा सहभागीलाई सम्बोधन गर्दै भनेका थिए, ‘मेरो जीवनको सबल र दुर्बल पक्ष सबैका सामु छर्लङ्ग छ । आजको यो उत्सव मेरो आविष्कार होइन, सीताकै योजना र रहर हो । यसलाई छोरीहरूले पनि राम्रै रूपमा लिए । डाक्टरहरूको सल्लाह पनि औषधि सेवनसँगै मनोवैज्ञानिक रूपमा प्रेम र हौसला दिनसके छिटो निको हुने भन्ने नै थियो । यस कार्यक्रमले उनलाई भित्रैबाट निकै सकारात्मक ऊर्जा दिएको छ ।’
प्रकाशको निधनपछि पुत्रशोकले सीतामा मानसिक समस्या देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डदेखि अमेरिकासम्म उनलाई उपचारका लागि लगियो । मनोवैज्ञानिक उपचारका लागि प्रचण्डले सीतालाई तातोपानी कुण्डमा नुहाउन समेत लगेका थिए, त्यतिबेला पनि धार्मिक कार्यमा लागेको भन्दै प्रचण्डको आलोचना भएको थियो ।
‘छोरीले खाएको घर र डढेलोले खाएको वन’
प्रचण्डले पहिलोपटक सीतालाई १५ वर्षको उमेरमा देखेका थिए, गाउँकै एक विवाह समारोहमा । फागुनमा विवाह समारोहबीच भएको भेटघाट अन्ततः वैशाखमा विवाहमै बदलियो ।
यी दुवैको परिवार कास्कीबाट चितवन झरेको हो । परिवारको जेठो छोरा भएकाले छिटै प्रचण्डको विवाह गरिदिए बुहारीले घर धान्ने सोच परिवारमा थियो, त्यसैले १६ वर्षकै उमेरमा प्रचण्डको सीतासँग विवाह हुन पुग्यो ।
त्यतिबेला यी दुवैको घर दुई किलोमिटर दूरीमा पर्थ्यो । पहिलो भेटपछि दुवैबीच चिनजान र बोलचाल समेत भएको थियो । विवाहको चाँजोपाँजो मिलाउन भने सीताका मामा केशवप्रसाद गौतमले विशेष भूमिका निभाएका थिए, (रामप्रसाद खरेलको पुस्तक ‘प्रचण्ड जनयुद्धका नायक’ २०७६ बाट) ।
सुरुमा सीताको परिवारले प्रचण्डलाई छोरी दिन मानेको थिएन, घरमा धेरै दिदीबहिनी छन् भनेर ।
प्रचण्डको परिवारले विवाहको प्रस्ताव सीताका मामा (केशव)मार्फत लगेको थियो । यस सम्बन्धमा २०७५ को असोजमा पत्रकारसँग कुराकानी गर्दै सीताका मामा (केशव)ले भनेका थिए, ‘सीताको बुवाआमासमक्ष मैले प्रस्ताव लैजाँदा सुरुमा छोरी दिन मान्नुभएन । उहाँहरूको कुरा थियो — छोरीले खाएको घर र डढेलोले खाएको वन राम्रो हुँदैन । यसको अर्थ थियो, प्रचण्डका दिदीबहिनी धेरै हुनु ।’
केशव थप भन्छन्, ‘केटो एकदम ठीक छ । स्कुलमा पनि चलाख छ । झैझगडा प¥यो भने मिलाउन जान्छ । केटो यति चलाख छ कि केही गर्न सकेन भने पनि रूखको टुप्पामा राखेर पाल्छ । यति भनेपछि सीताका बुवाले भन्नुभयो — भान्जीले दुःख पाइ भने तेरो जिम्मा । यसरी मैले विवाहको कुरा मिलाएँ ।’
सीताको माइती पक्ष धनी र प्रचण्डको परिवार गरिब भएका कारण सीता–प्रचण्डको विवाह गराउन मुस्किल भएको थियो । माइती पक्षले सीताको विवाह धुमधामसँग गरिदियो । त्यतिबेला पनि बेहुली घरलाई उज्यालो पार्न बत्तीका लागि गाउँकै शम्भु साहुकहाँबाट दुईवटा जेनेरेटर ल्याइएको थियो ।
सीताले रुँदै गरेको त्यो वाचा
२०४० सालमा नेपाल कम्युनिस्ट पार्टी (चौम) समर्थक अलिख नेपाल युवक संगठनका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिक संगठनात्मक निर्णयहरूको कार्यान्वयनको सिलसिलामा पोखरा जानुपर्ने भयो । सीताले उनलाई रोक्न प्रयत्न गरिन् । उनी राजनीतिमा नहिँडेर जागिर पेसामै लागी घर हेरून् भन्ने सीताको चाहना देखिन्थ्यो ।
पुष्पकमल घरबाट निस्कन लाग्दा श्रीमती सीताको नानाथरीका कचकच सुन्नुपरेको थियो, (रमेश कुमार रौनियार र उमेश कुमार रौनियार लेखक रहेको पुस्तक ‘विश्व विख्यात महान् नेता प्रचण्डको जीवनी’) ।
त्यतिबेला प्रचण्डले सहकर्मी मित्र बादलमार्फत चिठी पठाए, ‘पार्टीका कमरेडहरू ! म अत्यन्त महत्त्वपूर्ण घरायसी कामले सभामा आउन सकिनँ । त्यसैले तपाईंहरू मिलेर पार्टीको निर्णय गर्नुहोला ।’
उपर्युक्त पुस्तक अनुसार, प्रचण्ड (त्यतिबेला प्रचण्ड नाम राखिएको थिएन, यहाँ सहजताका लागि भनिएको)का यस्तै घरायसी कुरा पार्टी केन्द्रीय समिति बैठकमा समेत पुग्यो । उनी पार्टीमा नहिँडेर काम चल्दैनथ्यो, त्यसैले केन्द्रीय समितिले उनलाई पार्टीमा हिँडाउने एउटा उपाय रच्न पुग्यो ।
एक दिन सीता घरमा नभएको मौका पारी पार्टीका साथीहरू पुगे । उनीहरूले प्रचण्डले बोक्ने झोला, केही कपडा र कापी–कलम लुकाइदिए । प्रचण्डलाई पनि त्यस दिन कतै बाहिर बस्न भनियो । साँझपख पार्टीका साथीहरू प्रचण्डलाई खोज्ने बहानामा घर पुगे । उनीहरू पुग्दा घरमा सीता उदास भएर बसिरहेकी थिइन् । उनीहरूले बनावटी कुरा सुनाए, ‘उहाँ पार्टीमा हिँडेको भनी तपाईं सधैँ किचकिच गर्नुहुन्छ । उहाँ अब कहिल्यै पनि घरमा आउनुहुन्न ।’
यस्तो सुनेपछि सीता श्रीमानको पीरले झनै रुन–कराउन थालिन् । अन्त्यमा उनले भनिन्, ‘तपाईंहरूले जसरी भए पनि उहाँलाई घरमा ल्याइदिनुप¥यो । अबदेखि उहाँलाई पार्टीको काममा हिँड्दा कहिल्यै रोक्ने छैन ।’
यसपछि मात्रै प्रचण्ड राजनीतिमा निर्धक्कले हिँड्न पाए । यो प्रसंग राजेन्द्र श्रेष्ठले २०५७ सालमा बताएको भनी पुस्तकमा उल्लेख गरिएको छ ।
जनयुद्ध सुरु भएको एक वर्षपछि प्रचण्डले परिवारलाई साथमै राखे । सीता पनि पार्टीको हेडक्वार्टरमा खटिइन् ।
प्रचण्डले सीतालाई छैटौँ इन्द्रीयको संज्ञा दिएका थिए । सीताको बारेमा प्रचण्डले भनेका छन्, ‘उनी धेरै चलाख थिइन् । उनले धेरै ठाउँमा मलाई बचाएकी छन् । छैटौँ इन्द्रिय जस्तो क्या कति बेला के हुन्छ, मान्छेले कसरी बोल्दा यसभित्र के छ भन्ने मलाई भन्दा धेरै उनलाई थाहा हुने । खतराको घन्टी बजेको उनलाई थाहा हुने । यहाँ खतरा हुन लागेको छ है हिँड्नुपर्छ भनेपछि हिँड्ने । नभन्दै उनले भनेजस्तै हुन्थ्यो ।’
नेपाली राजनीतिक इतिहासमा प्रचण्डको जति नाम र काम छ, त्यसलाई खोतल्दै जाँदा धेरैतिर सीता भेटिन्छिन् ।