मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : रोकिएन हवाई दुर्घटनाको शृङ्खला, बालेनलाई अदालतको झट्का

मङ्गलबार, २६ असार २०८०

आज २०८० असार २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

मनाङ एयर दुर्घटना

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।  क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ ।

 

बालेनको निवेदन सर्वोच्चद्वारा अस्वीकार

अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न बालेन्द्र शाहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।

 

मन्त्री हेरफेरको मुडमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्री हेरफेर गर्न लागेको स्रोत बताउँछ । जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ ।

 

मनाङ एयर दुर्घटना

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध ‘संगठित सरकारी छाप र लिखत किर्ते’ मुद्दा चलाएको छ । तर, ललिता निवास प्रकरणमा आफ्नो गल्ती नभएको गुरुङले जिकिर गरेका छन् । ‘ललिता निवास क्याम्प भित्रको जग्गा मैले किनको हो,’ बयानमा मीनबहादुरले भनेका छन्–‘गल्ती गरेको छैन ।

मन्त्रिपरिषद्को निर्णय

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।  मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । 

कोषाध्यक्ष मनोनयनको तयारीमा देउवा

 नेपाली कांग्रेसमा कोषाध्यक्षका आकांक्षीहरुले लबिङ तीव्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष मनोनयनका लागि आन्तरिक छलफल थालेपछि आकांक्षीहरु लबिङमा लागेका हुन् ।

कर्मचारी प्रशासन संयन्त्र निर्देशनमा चल्ने कि कानुनसम्मत ?

तीन महिनाको बीचमा दुई फरक घटनाको अनुसन्धानका क्रममा सरकारका बहालवाला दुई सचिव पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे र बालुवाटारस्थित ‘ललित निवास’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउले निजामती प्रशासनमा तरङ्ग ल्याएको छ ।

नेपालीहरू किन हराउँछन् ?

सुनसरीका दिपेन्द्र मण्डल (नाम परिवर्तन) सन् २०१२ मा वैदेशिक रोजगारीका लागि मलेसिया गए । लामो समय उनी उतै बसेर काम गरे । २०२२ को नोभेम्बरदेखि उनी घर परिवारको सम्पर्क बाहिर रहे । उनी अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । उनीसँगै काम गर्ने कम्पनीका साथीहरूले कोठा र कम्पनी छोडेर हिँडेको प्रतिक्रिया दिएका छन् ।

दुर्गा प्रसाईंसँग ३० करोड माग

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँको माग गर्दै नदिए ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई सीआईबीको टोलीले मंगलबार बिहान महाराजगन्जबाट पक्राउ गरेको हो ।

अर्थ मन्त्रालय भर्सेज राष्ट्र बैंक

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालादेखि सुरु भएको अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको तिक्ततापूर्ण अवस्था अझै कायम छ । शर्माको कार्यकालमा उनी र गभर्नर महाप्रसाद अधिकारीबीचको द्वन्द्व स्पष्ट रुपमै देखिन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया