आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु

मङ्गलबार, २६ असार २०८०, २० : ५१
मङ्गलबार, २६ असार २०८०

झापा । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ । 

सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त विद्यालयका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । विद्यालयको लापर्बाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर–१० का वडाध्यक्ष नारायण खनालको भनाइ छ । 

विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापर्बाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनको भनाइ छ । हाल ६३ जना अध्ययनरत उक्त विद्यालय विसं २०७० मा गुरुङले स्थापना गरेका हुन् । विद्यालयमा पिजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप