शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सामाजिक न्यायबिनाको राजनीतिक संस्कार

मङ्गलबार, २६ असार २०८०, १६ : ०२
मङ्गलबार, २६ असार २०८०

नेपाली राजनीतिमा देश र जनताले पटक पटक नयाँ व्यवस्था तथा पात्रको प्रयोग र परीक्षण भइरहेको छ । यो अवस्थाको अन्त्य गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बनेको छ । बहुदलीय व्यवस्था, पञ्चायती व्यवस्था, पुनः बहुदलीय व्यवस्था र पछिल्लो जनआन्दोलनबाट प्राप्त गणतन्त्रात्मक व्यवस्थाले यो प्रमाणित गरेको छ । यसबाट पनि नेपाली जनता सन्तुष्ट छैनन् । यसको विकल्प खोजेका अभिव्यक्तिहरू अहिले देखा पर्न थालेका छन् । यस विषयमा खासगरी युवा पङ्क्ति संयमित, लक्ष्य केन्द्रित, धैर्यशील हुनु अपरिहार्य भएको छ । 

दोस्रो जनआन्दोलनपछि तत्कालीन विद्रोही पक्ष शान्तिपूर्ण राजनीतिमा आएको हो । त्यसपछि जनताका आधारभूत हकहरू संविधानमा लिपिबद्ध गर्न त्यो पार्टी सफल भएको हो । यो संविधान निर्माणपछि नेपाली राजनीतिले नयाँ मार्ग प्रस्तुत गरिदिएको छ । 

संविधानको निर्माणपछि औपचारिक रूपमा नेपालमा सङ्घीय शासन प्रणाली लागु भयो । निरन्तर सरकारहरू परिवर्तन भइरहे । राजनीतिक उथलपुल भइरहे । त्यसपछि मुलुक आवधिक निर्वाचनमा होमियो । विकेन्द्रित राज्यशक्तिबमोजिम अधिकार सम्पन्न प्रत्यक्ष निर्वाचित सरकारहरू बने । सरकारमार्फत गाउँ गाउँमा बजेट पुग्यो । विकासका पूर्वाधारहरू खानेपानी, पुलपुलेँसा, बाटोघाटोको निर्माण प्रारम्भ भयो । विद्यालय भवनका छाना फेरिए । पक्की भवन, शौचालय बने । गाउँ ठाउँमा मोटर बाटोका सञ्जाल जोडिए, सूचना सञ्चार र प्रविधिको विकासले गति लियो । तर यसबिचमा गठबन्धन बनाउने र निर्वाचन जित्ने सोच हाबी हुँदै गएको छ । यसले गर्दा दिगो विकास र सबल अर्थतन्त्र निर्माण गर्ने काममा हामी चुक्यौँ । देशभित्र रोजगारी सिर्जना गर्ने काममा प्रगति हुन सकेन । उद्यम गर्छु भन्ने युवाहरूलाई प्रोत्साहन गर्न सकेनौँ । वैदेशिक रोजगारमा जाने युवाहरूको ताँतीलाई हामीले रोक्न सकेनौँ । यो क्रम बढिरह्यो । व्यापार घाटा बढ्दो छ । आन्तरिक उत्पादनबाट सिर्जित पुँजीले देशको चालु खर्च पनि धान्न नसक्ने अवस्था छ । रेमिट्यान्स र दाताको अनुदान र ऋणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न सकेनौँ । 

देशका सबै संस्थागत संरचना कार्य क्षमता प्रदर्शन गर्न नसक्ने अवस्थामा पुगे । सुशासन भाषणमै सीमित भयो । हिजो हामीले लडेर ल्याएको गणतन्त्रमा संविधानमार्फत प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न सक्ने शासकीय स्वरूप र पुँजीको निर्माण गर्न हामी चुक्यौँ । फलस्वरूप आज यो गणतान्त्रिक प्रणालीले काम गर्न सकेन भन्ने किसिमको भाष्यको निर्माण गर्न खोजिँदैछ ।

मूलधारका राजनीतिक दलहरूबाट देशको विकास सम्भव छैन र अहिले देखिएका समस्त नकारात्मक सूचक र परिणामहरूको कारक यिनै ठूला दलहरू नै हुन् भन्ने अर्को नयाँ भाष्य पनि निर्माण हुँदै छ ।

अहिले हामीले नयाँ दलहरूको उदय र ती दलहरूप्रतिको जनभरोसा देखिरहेका छौँ । देशका प्रमुख दलहरूको शासकीय दुर्बलता र कमजोर राज्य संरचनाका अनपेक्षित कार्यशैलीबाट जनता आक्रोशित र फ्रस्टेड भएका छन् । अहिले देखिएका नयाँ दलहरूप्रति जनता आकर्षित हुनु अनौठो कुरा होइन । तर मूलधारका दलहरूप्रति बढ्दो वितृष्णाले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत नहुँदै हामी अर्काे नयाँ अस्थिरतातर्फ अग्रसर हुँदै त छैनौँ भन्ने प्रश्न खडा भए छ । 

२०७९ मा सम्पन्न स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचनले हामीलाई केही महत्त्वपूर्ण सूचक दिएका छन् । खासगरी मूलधारका राजनीतिक दलहरूप्रति जनमानसमा देखिएको आक्रोशको कारण स्वतन्त्र र नयाँ दलप्रति लोकप्रिय मत खसेको कुरा सत्य हो । राज्य संरचनामा केही सीमित दल र नेताहरूको लामो समयदेखिको पकड छ । तर राजनीतिक, आर्थिक र प्रशासनिक अराजकताका कारण आमजनताले भोगेका सास्ती र दिक्दारीको परिणाम पछिल्लो जनमतमा स्पष्ट प्रकट भएको छ । 

उपनिर्वाचनको ताजा परिणाम अझ चाखलाग्दो छ । अदालतको आदेशबाट सत्ताच्यूत हुँदा, दोहोरो पासपोर्ट बोकेको कुरा स्वीकार गरिरहँदा पनि केही पात्रले पहिलेभन्दा अझ धेरै मत ल्याएर निर्वाचन जित्ने कुरा कसरी सम्भव भयो ? सत्ता गठबन्धनमा रहेको प्रतिपक्षी दलको विरोधाभासपूर्ण व्यवहार, अनेकौँ आरोप र कमजोरी बोकेर निर्वाचनमा जाँदा पनि जनताले आँखा चिम्लिएर उनको पल्ला भारी बनाउने परिस्थिति कसरी सिर्जना हुन गयो ? यस पछाडिको मानसिकताको अन्वेषणन हुन जरुरी छ । 

‘आइ हेट द डर्टी पोलिटिक्स’, ‘आइ डु नट लाइक आवर लिडर’, ‘बाल छैन’, ‘राजनीतिले खत्तम बनायो’, नेता भनेका दलाल हुन् जस्ता अभिव्यक्ति अहिलेका किशोर किशोरीहरूले दिने गरेका छन् । उनीहरू दोस्रो जनआन्दोलन २०६२–६३ मा आमाको गर्भमा थिए । 

साथै ‘खत्तम भयो ! गरिखान नै नदिने भए’, ‘राजनीतिले बिगार्यो’, ‘सबै फटाहा मात्रै, यो देश बन्दैन’, ‘सतीले सरापेको देश हो भन्ने बुझाइको पैरवी जनयुद्ध, दोस्रो जनआन्दोलनमा सहभागी पात्रहरूले गर्छन् । यी भनाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीका लागि खतरा हो । 

विगतमा केही त्रुटि भए । खासगरी गठबन्धन बनाएर निर्वाचन लड्ने, सरकार अर्काे गठबन्धन गरेर बनाउने जस्ता राजनीतिक बेइमानीपूर्ण कार्यहरू हुँदै आएका छन् । यस्ता सत्ताकेन्द्रित नेतृत्वका कमजोरीले नै अहिलेको परिस्थिति सिर्जना भएको हो । 

अहिले धेरै जसो मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पात्रहरू अर्कै ग्रहबाट आएका भगवान हुन्, उनीहरूले अहिलेसम्म हामीले बेहोरेका दुःख कष्टबाट मुक्ति दिन्छन् भन्ने तहको एक अन्ध समर्थन र विश्वास कसरी निर्माण भयो ? यो पक्षा सबैले खोज गर्न आवश्यक छ ।

रास्वपाका पात्रहरू को हुन् र क्षमता के हो भन्ने समयक्रममा पुष्टि हुने नै छ । अहिले धेरै ठुलो पूर्वानुमान गर्न हतार हुने छ । तर अहिलेका मूलधारका दलहरू र खासगरी युवा जमातले मनन गर्नैपर्ने केही कुराहरू छन् । हामी मूल एजेन्डामा केन्द्रित हुन सक्दा देशलाई नियन्त्रित अस्थिरता र गडबडीतिर लैजानबाट बचाउन सकिन्छ भन्ने विश्वास र भरोशा अहिलेका मूलधारका राजनीतिक दलहरूको आगामी कदमबाट निर्धारण हुने छ । 

नेपालको इतिहासमा नेकपाको निर्माण भयो । त्यसले करिब दुई तिहाइ जनमत प्राप्त गर्यो । साथै सहितको शक्तिशाली सरकार र सदन पनि निर्माण गर्यो । तर एकजना सन्की पात्रले त्यो अभिमतलाई नै कुल्चेर अपहरण गरे । तर त्यसलाई अदालतले हस्तक्षेप गर्याे । यही कारण नेकपा पार्टी विघटन हुनपुग्यो । जसबाट कम्युनिस्ट पार्टी र गणतान्त्रिक नेपालको भविष्यका लागि अत्यन्तै त्रासदीपूर्ण स्थितको उदय भयो । 

तर के अहिले देखिएका चुनौती सामना गर्न नै नसक्ने तहमा ठुला दलहरू पुगेका हुन् त ? पक्कै होइनन् । देशको सबै समस्याको समाधान गर्ने ल्याकत तिनमा छ । उनीहरूले आफूभित्रको राजनीति मुर्झाउनु जरुरी छ । ती दलमा व्यापक शुद्धीकरण र नेतृत्व हस्तान्तरणको सवाल यथाशक्य चाँडो सुरु हुनुपर्छ । नयाँ पुस्तालाई आकर्षित गर्ने अभियान जरुरी छ । नयाँ पुस्तालाई बुझ्ने सन्दर्भमा रहेको पुरातनवादी मूल्य मान्यता भत्कन जरुरी छ । त्यसो हुँदा मात्र हाम्रो लोकतन्त्र सबल हुन्छ । 

लोकतन्त्रका लागि त्याग, सङ्घर्ष, बलिदान गरेका दलहरूमा मात्र गणतन्त्रलाई सुदृढ बनाउने बुझाइ जीवन्त रहन्छ । जनतालाई सुख दिने र देशलाई समृद्ध बनाउने सङ्कल्पमा जिन्दगीका उर्वर समय बिताएका नेताहरूभित्र मुलुक बनाउँछु भन्ने हुटहुटी पक्कै छ । त्यो मुखरित हुन सके  र त्यसको कार्यभार युवा पुस्तालाई सुम्पिन सके मुलुक बन्न समय लाग्दैन । अहिलेको मौजुदा नेतृत्वमा भरोसालायक पार्टी बनाउन सक्ने ल्याकत नेकपा माओवादी, एमाले र नेपाली कांग्रेससँगै छ । देशलाई विकास र समृद्विको गन्तव्यमा पुर्योउन व्यवस्था परिवर्तनका लागि हजारौँको बलिदान र त्यागको नेतृत्व गरेको पार्टी माओवादीको भूमिका अन्य दलकोभन्दा बृहत् छ । 

मुलुकको परिवर्तन र विकासको पर्याय बनेको पार्टी हो नेकपा माओवादी । आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको योजना र स्पष्ट कार्यदिशाको निर्माण गर्ने जिम्मेवारी नेकपा माओवादीको हो । यस पार्टीमाथि सर्वहारा वर्गले आशा गरेका छन् । 

अबको समय दलहरूको एजेन्डाको ब्रान्डिङ, कार्यगत प्रस्तुतीकरण र नयाँ दलको परीक्षणमा भर पर्ने छ । देश र जनताले पटक पटक नयाँ नयाँ व्यवस्था र पात्रको प्रयोग तथा परीक्षण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । यो अहिलेको प्रमुख राजनीतिक मुद्दा पनि हो । खासगरी युवा पङ्क्ति यसप्रति संयमित, लक्ष्य केन्द्रित, धैर्यशील हुनु अपरिहार्य भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुन्दर शर्मा
सुन्दर शर्मा
लेखकबाट थप