बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
सीमामा संरचना

उत्तरी नाकामा धमाधम व्यापारिक पूर्वाधार बनाउँदै चीन

तातोपानीपछि रसुवागढी बन्दरगाहमा चीनको अर्बौँ लगानी
मङ्गलबार, २६ असार २०८०, १४ : ३४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनले आफूसँग सीमा जोडिएका नेपाली भूभागमा धमाधम व्यापारिक पूर्वाधार बनाउने क्रमलाई तीव्रता दिएको छ । चीनले ४ अर्ब रुपैयाँ सहयोगमा सिन्धुपाल्चोकको तातोपानीपछि ३ अर्बको लागत सहयोगमा रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ ।

यी दुई उदाहरणले चीन नेपालसँगको व्यापारिक नाकालाई व्यवस्थित र भरपर्दो रूपमा विकास गर्न अर्बौँ लगानी गरिरहेको प्रस्ट हुन्छ । चीनले तातोपानी सुख्खा बन्दरगाह, मितेरी पुल र ६ किलोमिटर सडक निर्माणका लागि ४ अर्बभन्दा बढी रकम खर्च गरेको थियो । तातोपानी सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएर हाल सञ्चालनमा छ ।

यता रसुवाको टिमुरेमा ३ अर्बको लागतमा निर्माणाधीन अवस्थामा रहेको सुख्खा बन्दरगाहको कामसमेत ४५ प्रतिशत सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सन् २०२५ भित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ पक्षले काम गरिरहेको बताए । हाल रसुवाको सुख्खा बन्दरगाह बनाउन १०० जना चिनियाँले काम गरिरहेका छन् ।

यी दुईबाहेक चीनले माथिल्लो मुस्ताङमा समेत कोरला सुख्खा बन्दरगाह निर्माणमा चासो देखाइरहेको छ । नेपाली पक्षले समेत कोरला सुख्खा बन्दरगाह बनाउन चिनियाँ पक्षलाई आग्रह गरिरहेको छ । 

हाल कोरला सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यो सुख्खा बन्दरगाह निर्माणमा समेत चीनको सहयोग हुने सक्ने अनुमान उच्च सरकारी संयन्त्रको छ ।

४५ प्रतिशत सकियो सुख्खा बन्दरगाहको निर्माण

रसुवाको टिमुरेमा बनिरहेको सुख्खा बन्दरगाहको कामले कोरोला महामारी मत्थर भएसँगै गति लिन थालेको छ । चीन सँगको व्यापारिक नाकालाई व्यवस्थित र भरपर्दो बनाउने लक्ष्यसहित सुरु भएको सुख्खा बन्दरगाह निर्माणको काम महामारीका कारण प्रभावित बनेको थियो ।

सन् २०१९ देखि निर्माण सुरु भएको सुख्खा बन्दरगाह निर्माणको काम यतिबेला ४५ प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले बताइ । त्यसो त सुरुमा निर्माण सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । तर, २० नोभेम्बर २०१९ बाट सुरु भएको काम महामारीका कारण प्रभावित बनेको थियो । महामारीले सुस्त बनेको निर्माण कार्य यतिबेला तीव्रताका साथ अघि बढिरहेको छ ।

सुरुमा १ अर्ब ८० करोड अधिकतम लागतमा निर्माण हुने आकलन गरिएको थियो । तर, महामारीका कारण समयावधि लम्बिँदा आयोजनाको लागत बढेर ३ अर्ब हाराहारी पुगेको छ । 

टिमुरेको ८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहमा ३५० वटा मालवाहक कन्टेनर अटाउने छन् । यस्तै, दुई वटा जाँच पास स्थल हुनेछन् भने पाँच तले भवन र एउटा गोदामसमेत हुनेछ । 

यस्तै, सोही बन्दरगाहबाट भन्सार, सशस्त्र प्रहरी, अध्यागमन लगायतले एकीकृत सेवा उपलब्ध गराउनेछन् । हाल चिनियाँ पक्षले भोटेकोसी नदीपट्टीबाट आउने पानीको बहावबाट सुख्खा बन्दरगाहलाई बचाउन ठुलो पर्खाल बनाइरहेको छ । यो पर्खालको निर्माण सकिएपछि आयोजनाले थप गति लिने समितिको भनाई छ ।

भरपर्दो व्यापारिक नाका बन्दै रसुवा

हाल उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारका लागि नेपालसँग तातोपानी सुख्खा बन्दरगाह र रसुवा गरी २ वटा स्थलमार्ग छन् । २०७२ सालको भूकम्पपछि विभिन्न बहानामा तातोपानी नाका करिब–करिब ठप्प जस्तै छ । यद्यपि, पछिल्लो समय धेरथोर सामान आयात/निर्यात हुन थालेको छ । पुरानो व्यापारिक नाकाको रूपमा पहिचान बनाएको तातोपानी सुस्ताएसँगै रसुवागढी भरपर्दो नाका बन्ने स्थिति देखिएको छ ।

अर्बौँको लागतमा बन्न थालेको बन्दरगाह निर्माण सम्पन्न भएपछि रसुवागढी भरपर्दो व्यापारिक नाका बन्ने देखिएको छ । नेपाल–चीन व्यापारमा अहिले पनि यो नाकाले मुख्य भूमिका खेल्दै आइरहेको छ । बन्दरगाहको साथै गल्छी–स्याफ्रुवेसी–रसुवा सडकको स्तरोन्नति भएपछि चीनसँगको व्यापारमा रसुवागढी नै भरपर्दो र व्यवस्थित नाका बन्ने व्यापारिक तथ्याङ्कले पनि देखाउँछ ।

चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा चीनसँग भएको व्यापारले समेत यसलाई पुष्टि गर्छ । सङ्घीय राजधानी काठमाडौँबाट १३१ किलोमिटरको दूरीमा रहेको यो नाकाबाट यस अवधिमा २७ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै, नेपालबाट यही नाका हुँदै १ अर्ब १ करोड रुपैयाँको सामान निर्यात भएको छ ।

जबकि, काठमाडौँबाट जम्मा ६४ किलोमिटरको दूरीमा रहेको तातोपानी कोदारी नाकाबाट जम्मा ११ अर्ब ८९ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै, नेपालबाट जम्मा ५९ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप