राज्यविहीनको पीडा : ‘शरणार्थीमाथि दास जस्तो व्यवहार किन गरिन्छ ?’
काठमाडौँ । राज्यविहीन हुनुको पीडा त्यसलाई थाहा हुन्छ जसले यो नियति भोगिरहेको छ । अरूले त राज्यविहीनले भोग्नुपरेको पीडाको अनुमानसम्म गर्ने हो । यस्तै राज्यविहीन कुर्द हुन्, ३७ वर्षीय अनवर निलुफरी । पेसाले उनी सिभिल इन्जिनियर हुन् ।
अधिकारकर्मी भएकै कारण उनले आफ्नो घरपरिवार र आफ्ना प्रियजनलाई छाड्नु प¥यो । सामाजिक सुधारका पक्षमा निरन्तर आवाज उठाएपछि अनवर निलुफरीमाथि शासकहरूको विभिन्न दबाब आउन थाल्यो । त्यति हुँदा पनि उनी आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहे । तर जब आफ्नो बाँच्न पाउने अधिकारमाथि नै शासकहरूद्वारा धावा बोलियो त्यसपछि भने उनी आफ्नो घरपरिवार छाडेर बिदेसिन बाध्य भए ।
बाध्यतावश देश छाडेर हिँडेपछि उनी विभिन्न हन्डर खाँदै एक दशकअघि युरोप पुगेका थिए । अहिले उनी लामो समयदेखि युरोपेली राष्ट्र ग्रिसमा शरणार्थी जीवन बिताइरहेका छन् । तर विकास र मानव सभ्यताको उद्गम भूमि ग्रिसमा पनि उनलाई नियतिले सताउन भने छाडेको छैन ।
ऐतिहासिक देश ग्रिसको प्राचीन राजधानी सहर एथेन्समा त उनले झनै नारकीय जीवन बिताउनु परिरहेको छ । अनवर निलुफरीका अनुसार उनलाई सन् २०१५ मा गैर कानुनी रूपमा स्विडेनबाट ग्रिस पु¥याइएको थियो । उनलाई शरणार्थीसम्बन्धी ‘डब्लिन नियम’ अनुरूप ग्रिस पठाइएको दाबी स्विडेन सरकारले गरेको छ ।
स्विडेनबाट ग्रिस पु¥याउँदा अनवर निलुफरीलाई त्यहाँका सरकारी निकाय र उनको निगरानी गरिरहेका गैरसरकारी संस्थाहरूले गलत र अधुरा सूचनाहरू उपलब्ध गराएका थिए । अहिले उनले ग्रिसमा शरणार्थीको कानुनी मान्यता पाएका छन् । तर उनको जीवन झनै कष्टकर र नारकीय बनेको छ ।
शरणार्थीका रूपमा कानुनी मान्यता पाएर पनि अहिले उनले ग्रिसमा दुई छाक खाना र शुद्ध पिउने पानीका लागि समेत छटपटिनुपर्ने अवस्था छ । बाँच्नका लागि चाहिने आधारभूत आवश्यकतादेखि लिएर अन्य थुप्रै समस्यासँग उनले जुध्नु परिरहेको छ ।
एकपछि अर्को अन्यायको सिकार हुनुपरेपछि उनले लामो समयदेखि ग्रिसको एथेन्सस्थित संयुक्त राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि धर्ना दिँदै आएका छन् । आफ्नो देशभित्र यस्तै भेदभाव र अन्यायको विरोध गरेपछि अप्ठ्यारोमा परेका अनवर निलुफरी युरोपमा समेत त्यस्तै विभेदको सामना गर्नु परेपछि बाध्य भएर यूएनएचसीआरको कार्यालय अगाडि धर्ना दिनुपरेको बताउँछन् ।
तर लामो समय धर्ना दिँदासमेत ग्रिस सरकार र यूएनएचसीआरले आफ्नो जायज मागमाथि कुनै चासो नदेखाएको उनको गुनासो छ । ‘मैले न्याय र स्वतन्त्रताका लागि उठाएको मागको विषयमा ग्रिस सरकार र यूएनएचसीआरले समेत चासो दिएको छैन,’ उनी भन्छन्, ‘यूएनएचसीआर भनेकै शरणार्थीको दुःख र समस्या सुनुवाइ गर्ने निकाय हो । तर मैले दुई छाक खाना र शुद्ध पिउने पानीसम्म नपाएको गुनासो गर्दा पनि उनीहरू सुन्न तयार छैनन् ।’
उनले शरणार्थीहरूमाथि दासजस्तो व्यवहार भइरहेको आरोप पनि लगाएका छन् । ‘वास्तवमै लज्जाको विषय हो, यहाँ शरणार्थीमाथि दासको जस्तो व्यवहार हुने गरेको छ,’ सामाजिक सञ्जाल लिङ्क्डइनमा प्रकाशित उनको लेखमा भनिएको छ ।
अहिले बाँच्नका लागि अनवर निलुफरीले उदार मन भएका व्यक्तिहरूको चन्दामा भर पर्नुपरेको छ । उनले आफूलाई स्विडेनबाट गरिएको गैर कानुनी निर्वासनको विषयलाई लिएर मानव अधिकारको युरोपेली अदालत (ईसीएचआर) मा मुद्दा चलाउन पनि यूएनएचसीआरसँग माग गर्दै आएका छन् । उनी गुनासो गर्छन्, ‘तर मेरो यो जायज मागमाथि पनि यूएनएचसीआरले आँखा चिम्लिरहेको छ ।’
यसका अतिरिक्त उनले ग्रिसदेखि बाहेक अन्य राष्ट्रमा आफ्नो पुनर्वासको प्रक्रिया अगाडि बढाइयोस् भनेर पनि माग राखेका छन् । तर उनको यो अनुरोधलाई पनि लामो समयदेखि यूएनएचसीआरले बेवास्ता गर्दै आएको छ ।
‘मलाई बन्धक बनाइएको समयदेखि नै न्यूनतम मानवीय आवश्यकताबाट समेत वञ्चित गरिएको छ । मेरो विचारमा यो भनेको गैर कानुनी रूपमा शरणार्थीहरूलाई फिर्ता पठाउने वा शरण दिन अस्वीकार गर्ने सामूहिक प्रयासको एउटा रूप हो,’ उनले विद्युतीय पत्रमार्फत रातोपाटीसँग भनेका छन् ।
उनले ग्रिसमा रहेका मानव अधिकार सङ्गठनहरूबाट कानुनी र बाँच्नका लागि सहायता प्राप्त गर्न लगभग दुई वर्ष निरन्तर प्रयास गरे । तर उनका ती सबै प्रयासहरू असफल भए । उनलाई सहायता प्रदान गर्नुको सट्टा झुटो आश्वासन दिने कार्य मात्र भयो । उनी झनझन नराम्रो चक्रमा फस्न पुगे । उनलाई पटक पटक एक संस्थाबाट अर्को संस्थामा पठाउने क्रम चलिरह्यो ।
त्यसपछि बाध्य भएर उनले सन् २०१७ को मार्च २१ तारिखदेखि एथेन्सस्थित यूएनएचसीआरको कार्यालय अगाडि धर्ना सुरु गरेका हुन् । यूएनएचसीआरको कार्यालय अगाडि कुट (मोटो कागज) ले सानो टहरो बनाएका छन् । विगत छ वर्षदेखि उनको संसार भनेकै त्यही सानो कटेरो हो ।
गाँस, बास र कपासको अभाव अनि निरन्तरको सङ्घर्षपछि यति बेला शारीरिक रूपमा उनी निकै कमजोर भएका छन् । आफ्नो राष्ट्र इरान, वैभवशाली युरोपेली राष्ट्र स्विडेन र ग्रिस, सामाजिक सेवामा सक्रिय भनिएका गैरसरकारी संस्थाहरू अनि शरणार्थीहरूको समस्या सुन्ने सबैभन्दा ठुलो निकाय यूएनएचसीआरबाट समेत पटक पटक जिल्लिएपछि उनले पछिल्लो समय विश्वभरिका मनकारी व्यक्तिसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
यसअघि पनि उनको जीवन बचाउन विभिन्न व्यक्ति र संस्थाले चन्दा प्रदान गर्दै आएका छन् । त्यसैबाट उनले आफ्नो न्यूनतम मानवीय आवश्यकताहरू पूरा गर्दै आएका छन् । यसका अतिरिक्त उनले विश्वभरका मानिससँग आफू र आफूजस्तै समस्यामा परेका अन्य शरणार्थीको बारेमा आवाज उठाएर ऐक्यबद्धता जाहेर गर्न पनि अनुरोध गरेका छन् ।
‘म विश्वभरिका सहृदयी र न्याय प्रेमीसँग मेरो यथार्थ अवस्थाको बारेमा जानकारी फैलाइदिनु हुन अनुरोध गर्छु । बाँच्न पाउने अधिकारको रक्षाका लागि मेरो अभियानमा ऐक्यबद्धता जनाइदिनु हुन पनि अनुरोध गर्दछु । पछिल्लो समय मलाई लागेको छ उनीहरू सबै मिलेर मेरो जीवन समाप्त पार्ने योजना बुनिरहेका छन्,’ अनवर निलुफरीले भनेका छन् ।
उनले आफ्नो अभियानलाई तुहाउनका लागि विभिन्न निकायले सक्दो प्रयास गरिरहेको आरोप पनि लगाएका छन् । ‘उनीहरू मेरो अभियानलाई कुनै पनि हालतमा विफल पार्न चाहन्छन् । मेरो पीडामाथि अझ पीडा थप्न चाहन्छन् । यसका लागि उनीहरूको प्रतिनिधि सक्रिय भएर लागेका छन् । कठ्याङ्ग्रिने जाडोमा नुहाउन जाँदा तातो पानी बन्द गरिदिन्छन् । अनि दैनिक नित्यकर्मका लागि गएको पाँच मिनेट पनि बित्न नपाउँदै प्रहरीहरू लखेट्न आइपुग्छन्,’ उनी आफ्नो व्यथा सुनाउँछन् ।
त्यसैले आफ्नो बाँच्न पाउने अधिकारीका लागि मात्र भए पनि यूएनएचसीआरको कार्यालय अगाडि धर्ना दिनु आफ्नो बाध्यता रहेको उनले बताएका छन् । ‘ग्रिसमा मेरा लागि अनगिन्ती समस्या छन् । अवस्था निकै पीडादायी छ । त्यसैले बाँच्न पाउने अधिकार रक्षाका लागि म छिटोभन्दा छिटो अन्य राष्ट्रमा पुनर्स्थापित हुन चाहन्छु । तर कसैले पनि मेरो थकित र कमजोर आवाज सुनिरहेका छैनन्,’ उनी भन्छन् ।
अनवर निलुफरीले सन् २०१७ मा पहिलो पटक यूएनएचसीआरको कार्यालय अगाडि भोक हडताल गरेका थिए । उनको त्यो भोक हडताल ६४ दिनसम्म चलेको थियो । आधिकारिक निकायले आफ्नो कुरा नसुनेपछि सर्वसाधारणको ध्यान आफूतर्फ तान्न उनले त्यो भोक हडताल सुरु गरेका थिए । तर त्यो भोक हडतालपछि पनि उनको मागप्रति आधिकारिक निकायहरूले कुनै वास्ता गरेनन् ।
त्यसपछि सन् २०२० मा उनले पुनः यूएनएचसीआरको कार्यालय अगाडि नै फेरि भोक हडताल सुरु गरेका थिए । यस पटक उनको भोक हडताल ७३ दिन लामो थियो । उनले दोस्रो भोक हडताल खुला आकाशमुनि गरेका थिए । दोस्रो भोक हडतालका क्रममा उनी गम्भीर रूपमा बिरामी परे । त्यसपछि उनलाई दोस्रो पटक अस्पताल पु¥याइएको थियो ।
यति बेलासम्म ३७ वर्षीय अनवर निलुफरीको शारीरिक अवस्था अत्यन्तै कमजोर बनिसकेको थियो । उनको पेटमा विभिन्न समस्या देखिएको थियो भने पित्त थैलीमा पनि समस्या आएको थियो । उनको तौल घटेर ३० केजी पुगेको थियो । अर्थात् उनको शरीरमा हाड र छाला मात्र बाँकी थियो ।
त्यसयता विभिन्न सहृदयी व्यक्ति र संस्थाहरूले उनलाई न्यूनतम आवश्यकता परिपूर्तिका लागि चन्दा उपलब्ध गराउँदै आएका छन् । यस्ता सहयोगीहरूबाट उनले प्रत्येक महिना ७० युरो चन्दा पाउने गरेका छन् । तर न्यूनतम आवश्यकता पूरा गर्न त्यो रकम अत्यन्तै न्यून हो । उनलाई हालसम्म १७ जनाले आर्थिक सहयोग उपलब्ध गराएका छन् । आफूलाई आर्थिक सहयोग गर्नेहरूको नाम उनले टिपोट गरेर राख्ने गरेका छन् ।
यी निरीह पात्रको दुःख यतिमा मात्र सकिँदैन । आफूलाई घाम–पानी र चिसोबाट जोगाउन उनी सामान्य छाप्रो बनाउँछन् । तर अस्थायी छाप्रो बनाएको केही समयपछि नै प्रहरीहरू आएर त्यो छाप्रो भत्काएर जान्छन् । यो क्रम छ पटकसम्म दोहोरिइसकेको छ । प्रत्येक पटक अस्थायी छाप्रो बनाउन शारीरिक श्रमसँगै उनको केही न केही रकम खर्च हुने गरेको छ ।
पटक पटक प्रहरीले छाप्रो भत्काएपछि सन् २०२१ मा बाध्य भएर उनी झाडीमा बस्न पनि बाध्य भए । सन् २०२३ को मे १९ तारिखमा यूएनएचसीआरका दुई जना प्रतिनिधि उनीसँग वार्ता गर्न आएका थिए । करिब एक घण्टा चलेको उक्त वार्ता पनि उनका लागि सकारात्मक रहेन । वार्ताका क्रममा उनले केही मिठा आश्वासन पाए । तर त्यो आश्वासन भने पूरा कहिल्यै भएन ।
यूएनएचसीआरका प्रतिनिधिसँग उनले क्यानडा, अमेरिका र अस्ट्रेलियाका ग्रिसस्थित राजदूतलाई पनि सँगै राखेर वार्ता गर्न प्रस्ताव राखेका थिए । तर उनको त्यो प्रस्तावमाथि पनि कुनै सुनुवाइ भएन । उनले पछिल्लो समय जापान, भारत र दक्षिण अफ्रिकाका राजदूतहरूलाई पनि आफ्नो विषयमा आवाज उठाइदिन अनुरोध गर्दै इमेल पठाएका छन् । तर त्यसको पनि जवाफ आइसकेको छैन ।
यसका अतिरिक्त उनले सन् २०२३ को जुन २१ तारिखमा यूएनएचसीआरलाई पुनः इमेल पठाएर आफ्ना समस्याका बारेमा जानकारी गराएका छन् । त्यसअघि पनि उनले यूएनएचसीआरलाई यस्ता थुप्रै इमेल पठाएका थिए । तर उनको हरेक प्रयास निरर्थक साबित भएको थियो । त्यसैले यस पटक पनि यूएनएचसीआरबाट सकारात्मक जवाफ आउनेमा उनी आशावादी छैनन् ।
‘विश्वभर शरणार्थीको विषयमा आवाज उठाइन्छ । यूएनएचसीआरले शरणार्थीको हकहितमा थुप्रै काम गरेको चर्चा पनि गरिन्छ । तर वर्षौँदेखि प्रयास गर्दा पनि मैले ग्रिसमा किन नारकीय जीवन बिताउनु परिरहेको छ ? के व्यक्ति अनुसार, यूएनएचसीआरको व्यवहार पनि फरक फरक हुने गर्छ ?,’ उनी प्रश्न गर्छन्, ‘गैरसरकारी संस्थाहरू पनि म जस्ता निरीहको भावनासँग खेल्न मात्र स्थापना भएका हुन् ?’
यो समाचार अंग्रेजीमा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस