शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा जटिल बन्दै लम्पी स्किन, ४० हजार बढी पशुमा सङ्क्रमण

मङ्गलबार, २६ असार २०८०, १० : ०८
मङ्गलबार, २६ असार २०८०

मकवानपुर । बागमती प्रदेशमा लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ । प्रदेशका १३ जिल्लामा देखिएको लम्पी स्किन रोगको सङ्क्रमणबाट ४० हजार भन्दा बढी पशु सङ्क्रमित भएका छन् ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाका अनुसार लम्पी स्किन रोगको संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक हजार २४८ गाई भैँसीको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लाका ६१७ बाच्छाबाच्छी, ३५ हजार ६७८ गाई, ३ हजार ३०९ गोरु र ७५९ भैँसीमा सङ्क्रमण पुष्टि भएको छ भने ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैँसी सङ्क्रमणका कारण मरेका छन् ।

लम्पी स्किन रोगबाट बागमती प्रदेशको १३ जिल्लामा एक हजार २४८ गाई भैँसी मरेका छन् । रोगको संक्रमणबाट सबैभन्दा बढी धादिङका गाई भैँसी प्रभावित बनेका छन् भने त्यसपछि क्रमशः मकवानपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोट प्रभावित भएका छन् । रोगको सङ्क्रमण पश्चात् पशुवस्तुमा एक्कासि ज्वरो आउने, घाउ खटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थला पर्ने जस्ता लक्षणहरू देखापर्ने गरेको मन्त्रालयले जनाएको छ ।

रोगको सङ्क्रमणबाट धादिङमा ६१७ बाच्छाबाच्छी सहित ९ हजार ५४९ गाईभैँसीमा सङ्क्रमण देखिएको छ । जसमा गाई ५ हजार २१२, गोरु ३ हजार ३०९ र भैँसी ४११ रहेका छन् । रोगको सङ्क्रमणका कारण धादिङमा ४६ बाच्छाबाच्छी, ९३ गाई, १०२ गोरु र ११ भैँसी गरी कुल २५२ पशुवस्तु मरेका छन् ।

त्यस्तै चितवन ६ हजार ५३९ गाई र २६० भैँसी गरी ६ हजार ७९९ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ भने १७६ गाई मरेका छन् । मकवानपुरमा ७ हजार २८२ गाई र १३ भैँसी गरी ७ हजार २९५ गाई भैँसीमा रोगको सङ्क्रमण पुष्टि भएको छ भने २७४ गाई सङ्क्रमणका कारण मरेका छन् । नुवाकोटमा ६ हजार १ गाईमा सङ्क्रमण पुष्टि हुँदा १७८ गाई सङ्क्रमणका कारण मरेका छन् ।

त्यसैगरी रोगको सङ्क्रमणबाट सिन्धुली ३२४ गाईमा सङ्क्रमण देखिएको छ भने ९ गाई मरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार, काठमाडौँमा ९३९ गाई र ३ भैँसी गरी ९४२ गाई भैँसीमा सङ्क्रमण पुष्टि हुँदा ९० गाई र २ भैँसी गरी ९२ गाई भैँसी मरेका छन् । ललितपुरमा ५३८ गाई र ७  भैँसीमा गरी ५४५ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २१ गाईहरू रोगको सङ्क्रमणका कारण मरेका छन् । भक्तपुरमा ८३० गाईमा सङ्क्रमण देखिएको छ भने १८ गाई मरेका छन् ।

यता काभ्रेमा १२१ गाई र १० भैँसी गरी १३१ गाई भैँसीमा सङ्क्रमण देखिएको छ भने ४ वटा गाई रोगको सङ्क्रमणबाट मरेका छन् । रसुवामा २३४ गाईमा सङ्क्रमण देखिएको छ भने १५ वटा  सङ्क्रमणका कारण मरेका छन् । रामेछापमा २१६ गाईमा सङ्क्रमण देखिँदा एक गाई मरेको छ । 

दोलखामा ३ हजार १५६ गाई र २५ भैँसी गरी ३ हजार १८१ गाईभैसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५१ वटा गाई सङ्क्रमणका कारण मरेका छन् । सिन्धुपाल्चोकमा ४ हजार २९५ गाई र ३० भैँसी गरी ४ हजार ३२५ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १५७ गाई रोगको सङ्क्रमणका कारण मरेका छन् ।

५६ हजार बढी गाईलाई खोप लगाइयो

लम्पी स्किन रोगका कारण प्रभावित भएका जिल्लाहरूका ५६ हजार बढी पशुवस्तुमा रोग विरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ५६ हजार ३३३ गाईमा खोप लगाइएको छ ।

सिन्धुली, रामेछाप, काभ्रे र रसुवाबाहेकका जिल्लाहरूमा खोप सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । ४ जिल्लामा भने खोप सेवा सञ्चालन गरिएको छैन । मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँका ८ हजार ७७० गाईमा खोप लगाइएको छ भने खोप लगाउने कार्य जारी रहेको छ । ललितपुरको ५ हजार ४०० गाई, भक्तपुरका ३ हजार ७५ गाई, दोलखामा २ हजार ५०० गाई र सिन्धुपाल्चोक ३ हजार ४५० गाईमा खोप लगाइएको छ । ती ४ जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहकोले खोप लगाउने कार्य निरन्तर भइरहेको छ ।

धादिङमा ५ हजार ५३३ गाईमा खोप लगाइएको छ भने नुवाकोटमा ४ हजार र ८२५ गाई, चितवन ३ हजार ३८० गाई र मकवानपुरमा १९ हजार ४०० गाईमा खोप लगाइएको छ । ४ वटै जिल्लामा खोप ल गाउने कार्य सञ्चालनमा रहेको छ ।

मन्त्रालयले सङ्क्रमणको उक्त तथ्याङ्कलाई आपतकालिन अवस्थाको रूपमा व्याख्या गरेको छ । मन्त्रालयले रोगको सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रणको तयारी गर्ने तर्फ छलफल अघि बढाएको मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले जानकारी दिए ।

उनका अनुसार लम्पी स्किन रोगको सङ्क्रमण दर न्यूनीकरणका लागि मन्त्रालयबाट पहल भइरहे पनि सोचे जस्तो परिणाम प्राप्त हुन सकेको छैन । रोग नियन्त्रण भन्दा बाहिर जान नदिन मन्त्रालयले सङ्घीय सरकारसँगको छलफलमा आपत्कालीन अवस्था घोषणाका विषयमा छलफल गरिरहेको उनले बताए । प्रदेश सरकारसँग आपत्काल घोषणाको अधिकार नरहेकाले सो विषमा सङ्घीय सरकारसँग समन्वयन गरिरहेको उनको भनाई छ । आपत्काल घोषणा पश्चात् कृषकहरूले बिमा बापत पाउने सुविधा नहुने भएकाले सङ्घीय सरकारले सो विषयमा पनि अध्ययन गरिरहेको उनले बताए ।

रोग नियन्त्रणका लागि मन्त्रालयबाट सचेतनामूलक कार्यक्रम, खोप तथा प्राविधिकहरूको सहयोग कृषकहरूलाई उपलब्ध गराउँदै आएको डा. शर्माले बताए । मन्त्रालयले आगामी आर्थिक वर्षको साउनबाट कार्यविधि र निर्देशिकाहरू निर्माण गरी छिट्टै नै अभियानको रूपमा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

अभियान मार्फत प्रदेशमा रहेका ११ लाख गाई मध्ये ४ लाख गाईलाई खोप लगाउने गरी कार्य योजना र रणनीति निर्माणको चरणमा मन्त्रालय रहेको उनको भनाई छ । सरकारसँग लम्पी स्किन रोग नियन्त्रणका लागि खोप मौज्दात नरहेको र नेपालमा सो खोप उत्पादन नहुने भएकाले खरिद गरेर अभियान सञ्चालन गरिने उनले बताए । खोप खरिदका लागि मन्त्रालयले१० करोड रुपैयाँ लागत अनुमान गरेको र सोही अनुसार सङ्क्रामक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत बजेट सुनिश्चितता गरिएको डा. शर्माको भनाइ छ ।

लम्पी स्किन रोग भाइरसबाट सर्ने भएकाले पशुवस्तुमा सङ्क्रमण भएपछि दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आउने उनले बताए । खोपको प्रभावकारी रहेको र खोपको प्रयोगबाट रोग नियन्त्रणमा सहयोग पुग्ने भएकाले अभियान सञ्चालन गर्नु पूर्व कृषकहरूले जारबाट खोप खरिद गरेर लगाउन सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप