आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

महँगियो तरकारी

मङ्गलबार, २६ असार २०८०, ०६ : ३०
मङ्गलबार, २६ असार २०८०

काठमाडौं । कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो ।

“एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उनले प्रश्न गरिन् । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । 

थापाका श्रीमान्को मासिक तलब साढे १५ हजार रुपियाँ छ । हुन त उनका श्रीमान्को तलब सरकारले न्यूनतम पारिश्रमिक अनुसार छ तर यो तलबले अहिलेको महँगीमा आफूसहित चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । महँगो तरकारी कसरी खाने ? 

“तरकारी महँगो भए पनि राम्रो पाए त हुन्थ्यो नि, किनिहाल्ने खालको तरकारी नै देखिँदैन । हेर्दै बासी जस्तो छ,” असन चोकमै तरकारीको भाउ बुझ्दै गरेका विनोद पोखरेलले थपे । थोरै र सीमित आय भएकालाई मात्रै होइन, मध्यम वर्गमा पनि राम्रै आय भएकालाई समेत भान्छा चलाउन गाह्रो भएको अनुभव उनले सुनाए । 

तरकारीको महँगीले उपभोक्तालाई मात्रै असर गरेको छैन, व्यापारीसमेत व्यापार नभएर चिन्तित छन् । कालीमाटीको खुद्रा बजारमा व्यापार गर्ने काशीनाथ कार्की महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित छन् ।

उनले भने, “महँगो तिरेर ल्याएको तरकारी उपभोक्ताले भाउ भन्नेबित्तिकै नाक खुम्चाउँछन् । सधैँ एक केजी किन्नेले आधा केजी र पाउको कुरा गर्छन् । बर्खाको तरकारी एक दिनमै कटेन भनेर भोलिपल्ट सबै फ्याँक्नु पर्छ । तरकारी बिक्री हुँदैन, तरकारी मात्रै खाएर भएन, दाल, चामल, तेल पनि किनेरै खानु पर्छ । व्यापारमै नोक्सान भएपछि कसरी बाँच्ने ?” यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप