रेमिट्यान्सले थामियो अर्थतन्त्रको ‘डिजास्टर’ : बाह्य क्षेत्र सुध्रियो, आन्तरिकतर्फ दबाब अझै कायमै
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा मुलुकको आर्थिक स्थिति निकै सुधाोन्मुख देखिन्छ । खास गरी, यस अवधिमा अर्थतन्त्रको आन्तरिक भन्दा बढी बाह्य क्षेत्र सुधारोन्मुख हुँदै गएको देखिन्छ ।
केन्द्रीय बैंकले सोमबार आर्थिक वर्षको ११ महिना (साउन–जेठ) को वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ सय २८ अर्ब अर्थात् २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो ।
समीक्षा अवधिमा तीब्र गतिमा बढेको विप्रेषण आप्रवाह (रेमिट्यान्स), पर्यटन क्षेत्रमा सुधारसँगै यता वस्तु तथा सेवाको आयात नियन्त्रण भएसँगै मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) मा सुधार आएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले ऋणात्मक रहेको थियो । यस वर्ष उक्त घाटा पूर्ति भएर करिब २ खर्ब २९ अर्ब रुपैयाँ बचतमा हुनुले अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुधार भएको मान्न सकिन्छ ।
त्यसो त शोधनान्तर स्थितिमा सुधार आएसँगै यता विदेशी मुद्राको सञ्चितिमा समेत सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार, २०६९ को तुलनामा जेठ मसान्तसम्ममा विदेशी मुद्राको सञ्चितिमा २१.८ प्रतिशतले वृद्धि हुँदै १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ अर्थात् ११ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ ।
अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो । सञ्चित विदेशी मुद्राको सञ्चितिले अहिलेकै आयात रेसियोका आधारमा ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त हुने बैंकको भनाइ छ ।
रेमिट्यान्सले थामिएको अर्थतन्त्रको ‘डिजास्टर’
मूलतः एकाएक मुलुकको अर्थतन्त्र ट्रयाकमा आउनुको पछाडि त्यस्तो अन्य कुनै खास कारण नभएर रेमिट्यान्स नै हो । पछिल्लो समय मुलुक बाहिरबाट भित्रिने रेमिट्यान्समा तीब्रता आएको छ । राष्ट्र बैंककै तथ्याङ्कअनुसार गएको एक वर्षमा २२.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ ।
अघिल्लो वर्षको जेठ मसान्त सम्ममा जम्मा ४.१ प्रतिशतले मात्र रेमिट्यान्स वृद्धि हुँदै ९ खर्ब २३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबर मात्र आयात भएकोमा यो वर्ष बढेर ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ ।
यसैको कारण मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) मा सुधार आएको पूर्व बैंकर समेत रहेका आर्थिक विश्लेषक पर्शुराम कुँवर क्षेत्री बताउँछन् ।
‘तुलनात्मक रुपमा अघिल्लो वर्ष भन्दा यस वर्ष केही आयात घटेका छन् । र, पनि लार्ज स्केलमा त्यसले परिणाम देखिएन । बरु आयात नियन्त्रणले ‘ग्रे मार्केट’ बढायो । यसो गर्दा अनौपचारिक च्यानलबाट पैसा बाहिरियो । तथापि, रेमिट्यान्सको स्रोत ठूलो सुधार आएसँगै अर्थतन्त्र सुध्रिएको छ,’ कुँवरले भने ।
रेमिट्यान्सको वृद्धिदर मासिक रुपमै ५ प्रतिशत माथि रहेको उनको भनाइ छ । ५३ खर्ब ८३ अर्ब हाराहारी पुगेको मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को झण्डै २१ प्रतिशत हाराहारी रेमिट्यान्स पुग्नुले अर्थतन्त्रलाई ठूलो भरथेग गरेको उनको भनाइ छ ।
यसो हुनुमा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा आएको बढोत्तरीसँगै रेमिट्यान्सलाई वैधानिक बाटोमा ल्याउन सक्नु पनि प्रमुख कारण रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ४९ हजार ४१५ पुगेको छ । यसको मतलव ११ महिनामा नै साढे ४ लाख नेपालीहरुले नेपाल छाडेका छन् । थप वैदेशिक रोगारीबाट फर्किएर पुनः श्रम स्वीकृति लिएर विदेशिने नेपालीहरुको संख्या २ लाख ६० हजार २६२ जना रहेको छ ।
आयातमा १६ प्रतिशतको गिरावट
अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा यस वर्ष वैदेशिक व्यापार घट्नु पनि अर्को कारण बनेको छ । अघिल्लो वर्षको जेठ मसान्तसम्म झण्डै १८ खर्ब रुपैयाँ हाराहारी विदेशी वस्तु तथा सेवाको आयात हुँदै गर्दा यो वर्ष जम्मा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष विदेशी वस्तुको आयात १६ प्रतिशतले घटेको हो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।
वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस् लगायतका वस्तुको आयात घटेको छ । जसले वैदेशिक व्यापार घाटासँगै शोधनान्तर स्थिति सुधारमा सकारात्मक भूमिका खेलेको छ ।
यता निर्याततर्फ भने अघिल्लो वर्षको भन्दा पनि घटेकाले आर्थिक सुधारमा खासै भूमिका खेलेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष निर्यात हिस्सा ५३.३ प्रतिशतले वृद्धि हुँदै गर्दा यो वर्ष २२.७ प्रतिशतले घटेर जम्मा १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा विदेश निर्यात हुन सकेको छ ।
आन्तरिक अर्थतन्त्रमा दबाब कायमै
नेपाल राष्ट्र बैंकका अनुसार आन्तरिक अर्थतन्त्रको पाटो बैंकिङ तरलता, ब्याजदरसँगै उपभोक्ता मुद्रास्फीति (बजार महँगी) अझै नियन्त्रणमा आउन सकेको छैन । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत कायम भएको छ । यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले कमी हो ।
तुलनात्मक रुपमा उपभोक्ता मुद्रास्फीति घटे पनि अझै वाञ्छित सीमाभित्र राख्न नसकिएको बैंकले स्वीकारेको छ । चालु आर्थिक वर्षका लागि केन्द्रीय बैंकले अधिकतम् ६.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीति राख्ने रणनीति बनाएको थियो ।
यस्तै, बजारमा व्यापक आर्थिक तरलताका बाबजुद आर्थिक वर्षको ११ महिनाभित्र केन्द्रीय बैंकले विभिन्न साधनमार्फत् ५२ खर्ब ५३ अर्ब १६ करोड रुपैयाँ तरलता प्रवाह गर्नु परेको जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा लक्षित भन्सार, राजस्व, गैर–राजस्व उठ्न नसक्दा बजेट खर्चमा समेत समस्या आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित