रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० असार २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा विवादास्पद अभिव्यक्तिबारे संसदमा प्रधानमन्त्रीको प्रस्टीकरण, राष्ट्र बैंकले जारी ग¥यो आर्थिक तथा वित्तीय रिपोर्ट, संसदमा रास्वपा र राप्रपाको रवाफ, ललिता निवास प्रकरणमा पूर्व गृहसचिव मलेगो कस्तो भूमिका ?, विदेशबाट अवैध रुपमा सुन ल्याउने गिरोह पक्राउ, सुदूरपश्चिमका सत्तारुढ दलले नै बजेट पारित हुन नदिने लगायत छन् ।
१. विवादास्पद अभिव्यक्तिबारे संसदमा प्रधानमन्त्रीको प्रस्टीकरण
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एउटा विवादास्पद अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । संसदमा प्रमुख प्रतिपक्षले सोही अभिव्यक्तिका कारण प्रधानमन्त्रीको राजीनामा माग गर्दै लगातार अवरोध गर्दै आएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रस्टीकरण दिएका हुन् ।
२. राष्ट्र बैंकले जारी गर्यो आर्थिक तथा वित्तीय रिपोर्ट
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत छ । यस्तै आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ ।
३. संसदमा रास्वपा र राप्रपाको रवाफ
सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो रवाफ देखाएका छन् । उनीहरुले संसदमा केही दिनदेखि भइरहेको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका शीर्ष नेता बसेर समझदारी गरेकोप्रति पनि असन्तुष्टि पोखे । संसदमा आफूहरु पनि रहेको भन्दै उनीहरुले कसैको स्वार्थका लागि संसदलाई बन्धक बनाउन नहुने धारणा राखे ।
४. ललिता निवास प्रकरणमा पूर्व गृहसचिव मलेगो कस्तो भूमिका ?
पूर्व गृह–सचिव नारायण गोपाल मलेगो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को खोजी सूचीमा छन् । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ । ब्यूरोले ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना भएकोबारे यसअघि नै छानबिन गर्दा पूर्व गृहसचिव मलेगोसँग ‘बयान’ लिएको थियो । त्यतिबेला मलेगोले आफू भौतिक योजना तथा निर्माण मन्त्रालयमा महाशाखा प्रमुख हुँदा तत्कालीन सचिवको निर्देशन अनुसार ‘ऐन, नियम बमोजिम निर्णय हुन भनी माथिल्लो पदाधिकारी समक्ष फरवार्ड (पेस) गरेको’ बयान दिएका थिए ।
५. विदेशबाट अवैध रुपमा सुन ल्याउने गिरोह पक्राउ
विदेशबाट अवैध रुपमा सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारको वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो ।
६. संसदको हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सुरु गर्नेगरी तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् । सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
७. सुदूरपश्चिमका सत्तारुढ दलले नै बजेट पारित हुन नदिने
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गर्न नदिने सत्तारुढ ३ दलले निर्णय गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
८. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु
बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६, रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
९. राजु मास्टर र बल्छी ध्रुबेलाई एक वर्ष कैद मागदाबीसहित मुद्दा दर्ता
हास्य कलाकारद्वय राजु मास्टर र बल्छी ध्रुबेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
१०. सुनसरी जिल्ला अदालतमा पेसी व्यवस्थापनमा गोला प्रथालाई चुनौती
सर्वाेच्च अदालतको फुलकोर्ट बैठकबाट पारित भई २०७८ माघ २ गतेबाट सुरु भएको गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्ने नीतिलाई सुनसरी जिल्ला अदालतले चुनौती दिएको छ । सुनसरी जिल्ला अदालतले अन्य फाँटका मुद्दा पनि कुनै एक न्यायाधीशलाई दिएको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी