शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय
न्यायालय

गोला प्रणालीलाई सुनसरी जिल्ला अदालतले दियो चुनौती

अन्य न्यायाधीशको मुद्दा पनि न्यायाधीश कोइरालालाई
सोमबार, २५ असार २०८०, १५ : ०९
सोमबार, २५ असार २०८०

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकबाट पारित भई २०७८ माघ २ गतेबाट सुरु भएको गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्ने नीतिलाई सुनसरी जिल्ला अदालतले चुनौती दिएको छ । सुनसरी जिल्ला अदालतले अन्य फाँटका मुद्दा पनि कुनै एक न्यायाधीशलाई दिएको पाइएको हो ।

आइतबार सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ४ नम्बर फाँटको मुद्दा परेको थियो । गोला तान्दा चार नम्बर फाँटको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा परे पनि न्यायाधीश कोइरालाले फाँट नम्बर ९ र १० का केही मुद्दा पनि हेरेका छन् । आइतबारमात्रै न्यायाधीश कोइरालाले २८ थान मुद्दा फैसला गरेको पेसी सूचीबाट देखिएको छ ।

सुनसरी जिल्ला अदालतका चार नम्बर न्यायाधीश कोइरालाले गोलामा परेको फाँट नम्बर ४ का १२ थान मुद्दा र फाँट नम्बर ९ र १० का १६ थान गरी २८ थान मुद्दा एकै दिन फर्स्यौट गरेका छन् । तर तीमध्ये अधिकांश मुद्दा डिसमिस, मिलापत्र, तामेली र लगाउका छन् ।

असार २४ गतेमात्रै होइन, असार २२ गते शुक्रबार पनि न्यायाधीश कोइरालाले त्यही गतिमा मुद्दाको फैसला गरेका छन् । शुक्रबार न्यायाधीश कोइरालाले १३ थान मुद्दाको फैसला गरेका छन् । तर फैसला गरिएका सबैजसो मुद्दा डिसमिस, मिलापत्र वा निवेदनसँग सम्बन्धित छन् ।

न्यायाधीश कोइरालाले अन्य फाँटका मुद्दा पनि आफ्नै इजलासबाट फैसला गरेपछि के कति आधारमा पेसी व्यवस्थापन भएको हो भनी रातोपाटीले जिल्लाका एक नम्बर न्यायाधीश अर्थात् मुख्य न्यायाधीशलाई सोधेको थियो । जवाफमा सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश अर्जुन अधिकारीले आफू आइतबार काम विशेषले बाहिर भएका कारण त्यस सम्बन्धमा थाहा नभएकाले बुझेर मात्रै त्यसबारे जानकारी दिन सक्ने बताए ।

केही समयपछि रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश अधिकारीले निवेदन, तामेली वा डिसमिसका मुद्दाहरु पालैपालो न्यायाधीशहरुलाई भाग लगाएर हेर्ने गरिएको बताए । उनले भने, ‘पालैपालो मुद्दा हेर्ने गरिएकामा आइतबार उहाँको पालो परेको रहेछ, त्यही भएर उहाँले नै अन्य फाँटको मिलापत्र, डिसमिस लगायतका मुद्दा पनि हेर्नुभएको हो ।’

सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश अर्जुन अधिकारीले पालो परेको जवाफ दिए पनि उनकै पालो परेको भने थिएन । न्यायाधीश कोइरालाले शुक्रबार मात्रै पनि डिसमिस, निवेदनसम्बन्धी मुद्दाहरु हेरेर १३ थान मुद्दा फर्स्यौट गरेका थिए ।

सुनसरी जिल्ला अदालतमा गोला प्रणाली सकिएको हो भन्ने रातोपाटीको प्रश्नमा न्यायाधीश हरिप्रसाद कोइरालाले त्यस्तो नभएको र गोला प्रणालीबाटै मुद्दा हेर्ने गरिएको बताए । गोला प्रणालीबाट मुद्दा हेर्ने गरिएको भए आइतबार चार नम्बर फाँटको मुद्दा तपाइँको इजलासमा परेकामा के कसरी ९ र १० नम्बर फाँटको पनि मुद्दा हेर्नुभएको हो भन्ने रातोपाटीको प्रश्नमा न्यायाधीश कोइरालाले आफू पहिले बिरामी भएकाले अन्य न्यायाधीशले ती फाँटका मुद्दाहरु आफूलाई दिएको बताए ।

न्यायाधीश कोइरालाले रातोपाटीसँग भने, ‘मेरो ढाडमा समस्या भएकाले पहिले मैले डिसमिस, निवेदन लगायतका मुद्दाहरु हेर्न पाएको थिइनँ, त्यही भएर अन्य श्रीमानहरुले पनि तपाइँको मुद्दा कम छ, तपाइँ नै हेर्नुहोस् भनेर मलाई नै हेर्न दिनुभएको हो ।’

त्यसो भए गोलाको के अर्थ भयो र, आफूले चाहेको मुद्दा त हेर्न मिल्ने रहेछ, होइन ? भन्ने रातोपाटीको प्रश्नमा उनले अन्य मुद्दा नभएर डिसमिस र मिलापत्रका मुद्दामा मात्रै त्यसो गरिएको बताए । न्यायाधीश कोइरालाले अन्य न्यायाधीशको सहमतिमै ती मुद्दा आफूले हेरेको बताए । बदनियत राखेर वा कैफियत गरेर नहेरिएको र फैसला नगरिएको उनको दाबी छ ।

Hari Koirala Causelist 01

Hari Koirala Causelist 02

प्रथम बन्न यस्तो हर्कत

सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले अन्य इजलासका मुद्दा पनि आफैँले राखी धमाधम फैसला गर्नुको कारणचाहिँ अरु केही नभएर फैसलामा देशैभरबाट प्रथम बन्न रहेको बुझिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालाको यस आर्थिक वर्षको फैसला सङ्ख्या केही दिन अघिसम्म अन्य जिल्लाका न्यायाधीशको तुलनामा कम थियो । तर मुद्दा फैसला सङ्ख्याका आधारमा देशैभरबाट प्रथम बन्नका लागि डिसमिस, मिलापत्र, निवेदन, तामेली, लगाउ लगायतका मुद्दा दिएर फैसला देखाई सङ्ख्या बढाउनकै लागि त्यस्तो गरिएको बुझिएको छ ।

देशैभरबाट बढी मुद्दा फैसला गर्ने न्यायाधीश बन्न सकेमा न्याय परिषद्को रेकर्डमा रहने र त्यो रेकर्ड भविष्यमा उच्च अदालतको न्यायाधीश बन्न र आकर्षक वा सुगम मानिएका अदालतहरुमा सरुवा हुन उपयोगी हुने भएकाले पनि न्यायाधीश कोइरालाले त्यही प्रयोजनका लागि अन्य न्यायाधीशको इजलासमा परेका त्यस्ता मुद्दा पनि तानेर आफूले नै हेरेको बुझिएको छ ।

यद्यपि न्यायाधीश कोइरालाले भने प्रथम बन्नलाई अन्य न्यायाधीशको मुद्दा तानेको कुरालाई अस्वीकार गर्दै पहिले आफू बिरामी परेकाले मुद्दा हेर्न नमिलेको कारण अहिले अन्य न्यायाधीशले अहिले त्यस्ता मुद्दा आफूलाई दिएको बताएका छन् ।

सुनसरीमा ८० भन्दा बढी छन् २ वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालतले फरक मुद्दा व्यवस्थापन सम्बन्धी कार्याविधि (डीसीएम) बनाएर दुई वर्ष नाघेका मुद्दाहरु शून्यमा झार्ने नीति लिएको थियो । सो नीति अनुसार काम भएको भए यतिबेला सुनसरी जिल्ला अदालतमा पनि दुई वर्ष नाघेका मुद्दाहरु शून्यमा झरिसकेको हुन्थ्यो । तर अहिले पनि सुनसरी जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा ८० भन्दा बढी छन् ।

सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश (एक नम्बर न्यायाधीशण) अर्जुन अधिकारीका अनुसार उनी आउँदा जिल्लामा दुई वर्ष नाघेका मुद्दा एक हजार दुई सय ८० थान थियो । तर अहिले दुई वर्ष नाघेका मुद्दालाई ८० थानमा सीमित गरिएको र असारको अन्त्यसम्ममा अझै घटाउने कोसिस भइरहेको उनले बताए । उनले भने, ‘हामीले कुनै बदनियत राखेर उहाँलाई धेरै मुद्दा दिएका होइनौँ । उहाँको पालोमा परेको कारण नै त्यस्तो भएको हो ।’

तर शुक्रबार पनि पालोमा र आइतबार पनि पालो कसरी हुन्छ र शुक्रबार दायरी परेको न्यायाधीशलाई आइतबार पनि कसरी दायरी पर्छ भन्ने प्रश्नमा भने न्यायाधीश अधिकारीले कुनै जवाफ दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप