काठमाडौँ । प्लास्टिकको टनेलभित्र लटरम्म फलेका छन् गोलभेँडा । तरकारी बजार पठाउन तारा शेर्पालाई हरेक दिन भ्याई नभ्याई हुन्छ । करिब ५ वर्ष अघिदेखि तारा दम्पतीले काठमाडौँको साँखु, सलम्बुटारमा व्यावसायिक ढङ्गले गोलभेँडा खेती गर्दै आएका छन् ।
दोलखाकी शेर्पा विगतमा कालीमाटी तरकारी तथा फलफूल बजारमा तरकारी व्यापार गर्थिन् । तरकारी व्यापार गर्दा गर्दै उनी र उनका श्रीमान्लाई पनि तरकारी खेती गर्न मन लाग्यो ।
सुरुको वर्ष २०७४ सालमा उनीहरूले १५ रोपनी जग्गा भाडामा लिएर गोलभेँडा खेती गरेका थिए । राम्रो कमाई हुन थालेपछि शेर्पा दम्पतीले जग्गा बढाउँदै गएर अहिले ६० रोपनी क्षेत्रफल पुर्याएका छन्, जसमा झन्डै डेढ करोड लगानी भएको छ ।
यो वर्ष ४० रोपनी क्षेत्रफलमा गोलभेँडा अनि २० रोपनीमा काँक्रो, फर्सी, ब्रोकाउली, घिउ सिमी, काउली, धनियाँ लगायतका तरकारी लगाएका छन् ।
ताराको तरकारी खेतीको मुख्य विशेषता भनेको उनले विषादीरहित तरकारी खेती गर्ने गरेकी छिन् । तरकारी व्यापारमा लागेका बेला तरकारीमा धेरै विषादीको प्रयोग भएको पाएकोले विषादी प्रयोग नगरी तरकारी लगाएको उनले बताइन् ।
आफ्नो तरकारी बाली ९० प्रतिशत अर्ग्यानिक रहेको जनाउँदै शेर्पाले भनिन्–‘विषादी नहाल्दा पनि राम्रो तरकारी उत्पादन हुँदो रहेछ भन्ने मैले अनुभव गरेँ । अघिल्लो वर्ष मैले उत्पादन गरेको तरकारी ९० प्रतिशत अर्ग्यानिकको मान्यता पाएको थियो । राष्ट्रपतिबाट मैले अर्ग्यानिक तरकारी खेतीको गरेबापत सम्मान पत्र पनि पाएकी छु ।’
५ वर्षअघि १५ रोपनी जग्गामा तरकारी खेती सुरुवात गर्दा ३० लाख रुपैयाँ लगानी गरेका थिए । अहिले ६० रोपनी पुर्याउँदा जग्गा भाडा, टनेल बनाउन, सिँचाइ पूर्वाधार लगायतका लागि हालसम्म झन्डै डेढ करोड हाराहारी लगानी भएको उनले बताइन् ।
‘सुरुमा लगानी गर्दा अनुभव पनि थिएन । काम गर्ने मान्छे धेरै लगाइयो । कहीँबाट अनुदान सहयोग हुन्छ भन्ने पनि थाहा थिएन । पछिल्लो वर्षहरूमा मैले थोपा सिँचाइका लागि सिँचाई मिटर अनुदानमा पाइन्छ भन्ने सुनेँ ।’ शेर्पाले भनिन्– ‘शंखरापुर नगरपालिकाको कृषि शाखाबाट पनि मलाई सहयोग भयो । त्यहाँबाट मैले ट्याक्टर, बीउ, प्लास्टिक, औषधिहरू पनि सहयोग पाएँ । राम्रो गर्नुभएको रहेछ भनेर अनुगमन पनि गर्नुभयो ।’
थोपा सिँचाई, बीउ, मलखाद, कामदार, जग्गा भाडा लगायतको खर्चको आधारमा १ किलो गोलभेँडा उत्पादन गर्न सरदर ४० रुपैयाँ हाराहारी खर्च हुन्छ । यसरी प्रतिकिलो ५० रुपैयाँभन्दा माथि बिक्री गर्दा मात्र नाफा हुने उनको बुझाई छ ।
ताराको फार्ममा १६ जना कामदार छन्, उनीहरूका लागि फार्मभित्रै बस्ने कटेज बनाएर खाने बस्ने व्यवस्था मिलाइएको छ । यो वर्ष मात्रै गोलभेँडा लगाउन ६० लाख भन्दा बढी लगानी थपियो ।
यो वर्ष ४० हजार हाराहारी गोलभेँडाको बेर्ना लगाइएको छ । एउटा बोटबाट कम्तीमा ८ किलो फलाउने टार्गेट छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री भए यो वर्ष १ करोड रुपैयाँ हाराहारीको बिक्री हुने उनको अनुमान छ ।
गोलभेँडा खेतीमा विषादी प्रयोग नगरी गाई फर्मबाट गाईको गहुँत, कम्पोस्ट मल प्रयोग गर्दा असोज कार्तिकसम्म गोलभेँडाबाट उत्पादन लिन सकिने उनको अनुभव छ ।
यस्तै, उनले फलाएका फर्सी, काउली, ब्रोकाउली, काँक्रा, बोडी, सिमीे लगायतका तरकारी होटल सोल्टी, हायातलगायत काठमाडौँका ठूल्ठूला होटलमा बिक्री हुन्छ ।
कालीमाटी तथा धुम्बाराही गरी उनको २ वटा तरकारी पसल छ । आफ्नै पसल भएका कारण बिक्रीमा समस्या छैन ।
थप १ सय रोपनी जग्गामा खेती गर्ने तयारी
ताराले अन्य ५ जना महिलासँग मिलेर भक्तपुरको चाँगुनारायणमा १ सय रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा गोलभेँडा खेती गर्न लागेको बताइन् । सो ठाउँमा अहिले गरिरहेको भन्दा फरक डिजाइनबाट काम गर्ने उनीहरूको योजना छ ।
अहिले सञ्चालन भइरहेको गोलभेँडा फार्मको मुख्य लगानीकर्ता आफ्नो श्रीमान् भएकाले उनले आफू पनि छुट्टै काम गरौँ भनेर अन्य महिलासँग मिलेर १ सय रोपनीमा गोलभेँडा खेती गर्न लागेको बताइन् ।
त्यसो त व्यावसायिक गोलभेँडा खेती गर्न निकै चुनौती पनि छ । उनले भनिन्–‘केही छिनमै भाइरस लागिरहेको हुन्छ, एक रातमै डढुवा रोगले समातिसकेको हुन्छ । एक रातमै किरा लागिसकेको हुन्छ । । यो वर्ष पनि धेरै भाइरस छिरेका थिए । कामदारको मात्रै भरले कुनै कुरामा सफल हुन सकिँदैन । खेतीमा आफैले ध्यान पुर्याउनुपर्ने हुन्छ ।’
उनी किरा मार्न टेप झुण्ड्याउँछिन्, पानीको पासो थाप्छिन् । कहिलेकाहीँ गाईको गहुँत र तीतेपाती स्प्रे गर्छिन् । दूध स्प्रे गर्न सकियो भने ४० प्रतिशत किरा हटाउन सकिने उनको अनुभव छ ।
शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठसहित नगरपालिकाका कर्मचारीहरूले हालै आफ्नो गोलभेँडा खेतीको अवलोकन गरेको शेर्पाले बताइन् ।
सो नगरपालिकाको कृषि शाखाले राम्रो काम गरेको भन्दै प्रोत्साहनस्वरुप उनको फार्मको लागि १२ लाख रुपैयाँ अनुदान दिएको छ । त्यसअघि उनले कुनै अनुदान नपाएको र कतै खोजेर पनि नहिँडेको बताइन् । सो अनुदानको रूपमा प्राप्त रकमबाट अर्को ठाउँमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्न लागेको बताइन् ।
राजनीतिक संग्लग्नताले झोलामा फार्म खोल्ने मान्छेले सरकारी अनुदान पाउने गरेको बताउँदै साँच्चै दुःख गरेर खेती गर्ने किसानलाई अनुदान दिएमा उनीहरूले थप विकास गर्दै जाने बताउँछिन् ।
शेर्पाले भनिन्–‘नेपालमा खेतीयोग्य जग्गा जमिन प्रशस्त छ, यहीँ हिरा फलाउन सकिन्छ । तर भौँतारिएर हिँड्नेले गन्तव्य थाहा नपाउँदा दुःख पाइरहेका छन् ।’
प्रतिक्रिया