मन्त्रीसँग दुई दिनको छुट्टी मागेर हिँडेका सचिव विमानस्थलबाट यसरी पक्राउ परे
काठमाडौँ । आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मालाई सचिव कृष्ण बहादुर राउतले बिन्ती बिसाए–हजुर बुवा बिरामी हुनुहुन्छ दुई दिन बिदा चाहियो ।
बुबा बिरामी भएको बताएपछि मन्त्रीले नाइनास्ती गरिनन् । तत्काल सचिव राउतले भनेअनुसार बिदा स्वीकृति भयो । बिदा स्वीकृत भएसँगै मन्त्रालयकै सहसचिवलाई कार्यबाहक सचिवको जिम्मेवारी दिइयो भने राउतचाहिँ घर जान भनेर एयरपोर्टतिर लागे ।
मन्त्रालयका एक अधिकारीका अनुसार सचिव राउत आइतबार दिउँसोसम्म भने मन्त्रालयमै थिए । सो क्रममा उनी विभिन्न बैठकमा पनि सहभागी भएका थिए ।
दिउँसो भने बुबा बिरामी भएको भनेर उनले दुई दिनको बिदा मागेपछि स्वीकृत भएको सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए ।
बिदा लिएसँगै उदरपुरमा रहेको आफ्नो घर जान भन्दै उनी विराटनगरसम्मको विमानका लागि त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा पुग्ने बित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई मन्त्रालयदेखि नै सीआईबीको टोलीले फलो गरेको बताइएको छ । उनले पक्राउ पर्ने डरले बिदा लिएका थिए या साँच्चिकै बुबा बिरामी भएका थिए भन्ने बारे चाहिँ खुलेको छैन ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।
२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले सो टिप्पणी सदर गरी मन्त्री विजय गच्छदारकहाँ पेश गरेका हुन् ।
सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।
निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ ।
सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । पूर्व सचिव मलेगो विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना