हिरासतमा बन्यो सिक्री लुटेराको ‘दोस्ती’, क्याफेमा बसेर लुटपाट ‘योजना’
काठमाडौँ । काठमाडौँमा असारमा मात्रै ८ वटा सिक्री लुटपाटका घटना भएको छ । बिहान मोर्निङ वाकमा निस्केका महिलाहरुलाई मोटरसाइकल चढेर निगरानी गर्ने र मौका छोपेर ‘लुट्ने’ समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘केटिएम डुक’ मोटरसाइकल चढेर लुट्न हिँड्ने सो समूहको ‘अपराध शैली’ फरक देखिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएर चाबहिल बस्ने रवि विश्वकर्मा मोटरसाइकल चलाउँछन् । मोटरसाइकलको पछाडि बस्छन्, रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३२ वर्षीय रविन दमाई ।
मोर्निङ वाकमा निस्केका महिलाहरुले सिक्री लगाएको निगरानी गर्न उनीहरु मोटरसाइकलमा हिँड्छन् । गलामा सिक्री लगाएको यकिन गरेपछि रविन मोटरसाइकलबाट झरेर पिछा गर्छन् । नजिकै १८ वर्षीय रवि मोटरसाइकल स्टार्ट गरेर तयारी अवस्थामा बस्छन् । लुटेपछि रविन सोही मोटरसाइकल चढेर भाग्छन् ।
असार १ भन्दा पछि आरोपितहरुले ८ ठाउँमा सिक्री लुटेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई बताए ।
लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा घर भएर गौशाला बस्ने राहुल माझी र सुन व्यापारी ४२ वर्षीय भारतीय नागरिक श्रीकान्त माइती पनि पक्राउ परेका छन् ।
रविन र उमेश क्षेत्री २०७९ पुसमा सँगै नयाँ बानेश्वर वृत्तको हिरासतमा थिए । सिक्री लुटेको आरोपमा रविन तथा मोटरसाइकल चोरीको आरोपमा उमेश क्षेत्री हिरासतमा पुगेका थिए । त्यहाँ उनीहरुबीच ‘दोस्ती’ बनेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । हिरासतमा बनेको ‘दोस्ती’लाई उनीहरुले छुटेपछि लुटमा प्र्रयोग गरेका छन् ।
राम मन्दिरमा एउटा क्याफेमा उमेशले ‘सेयर’ लगानी गरेका छन् । बत्तिसपुतलीस्थित सो क्याफेमा बसेर उनले लुटको ‘योजना’ बनाउँथे । अनि, ३० वर्षीय राहुल माझीलाई सुन गाल्न दिन्थे । सुनको काम गर्ने ‘कालीगढ’ राहुल माझीका मामा ससुरा हुन् मोटरसाइकल चालक रवि विश्वकर्मा ।
न्यूरोडमा सुन पसल चलाउने श्रीकान्त माइती लुटेको सुन किनेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
कपुरधारामा लुटेपछि अनुसन्धान
असार १ मा काठमाडौँ–२६ स्थित कपुरधारामा मोर्निङ वाकमा निस्केकी ४७ वर्षीया रमा पाण्डे लुटिइन् । मोटरसाइकलमा आएका दुईजनाले घाँटीमा लगाएको सिक्री लुटेर भागेपछि उनले प्रहरीलाई खबर गरिन् ।
असार १ मा नै टोखास्थित ग्राण्डी अस्पताल नजिक बिहान ५ बजेर ५५ मिनेटमा ५४ वर्षीया सरस्वती खड्काको सिक्री लुटपाट भयो । त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले त्यसबारे अनुसन्धान सुरु गरेका हुन् ।
‘अनुसन्धान गर्दै थियौं, लगातार सिक्री लुट्ने क्रम चलिरह्यो’ एसएसपी डा. केसी भन्छन्–‘सिसिटिभी फुटेजको आधारमा हामी लुटेरासम्म पुग्न सफल भयौं ।’ लुटेराहरुले हरेक पटक लुट्दा मोटरसाइकल नम्बर फेरेका थिए ।
सो समूहले नागार्जुन नगरपालिका–५ स्थित बुद्धचोक, टोखा नगरपालिका–३ स्थित विष्णुमती पुललगायत ८ ठाउँमा लुटेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी