शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर सुनको सिक्री लुट्ने समूह पक्राउ

आइतबार, २४ असार २०८०, १४ : ३७
आइतबार, २४ असार २०८०

काठमाडौँ । राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री, धनकुटाका राहुल माझी र भारतीय नागरिक श्रीकान्त माइती रहेका छन् । 

प्रहरीका अनुसार रविन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न व्यक्ति हुन् । यस्तै भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए । 

प्रहरीका अनुसार उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ । यस्तै  टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको केसीले जानकारी दिए । 

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो । दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्ध रुपमा बाइक प्रयोग गरेर महिलालाई टार्गेट गरेर लुट्ने कार्यमा संलग्न रहेको खुलेको छ । उनीहरुले राजधानीका विभिन्न ८ स्थानमा यसरी लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ । 

सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्मको बीचमा भएको  प्रहरीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप