शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

समाजवाद निर्माणका आधार र हाम्रो कर्तव्य

आइतबार, २४ असार २०८०, १२ : १७
आइतबार, २४ असार २०८०

अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी चर्चित, स्थापित र बढी प्रयोग गरिने शब्द समाजवाद हो । नेपालको संविधानदेखि समकालीन सबै राजनीतिक दलहरू समाजवादको रटानबाट थाक्दैनन् । पछिल्लो पटक आधा दर्जनभन्दा बढी दलहरूको त नाममै समाजवाद झुन्डिएको छ । 

नेपालको संविधानमा समाजवाद उन्मुख संविधान उल्लेख भएपछि आफूलाई खाटी समाजवादी भएको देखाउने होड नै चलेको छ । के कम्युनिस्ट, के डेमोक्र्याट सबका सबले समाजवाद भट्याएका छन् । तर विडम्बना त्यो समाजवाद भनेको कस्तो राज्य व्यवस्था हो ? त्यसका आधार के के हुन् भनेर कुनै दलले, कुनै बौद्धिक व्यक्तिले आधार पेस गरेका छैनन् । त्यति मात्र होइन उनीहरूले समाजवादको बाटो, अर्थ व्यवस्था, संस्कृति, समाजवादी राज्य प्रणालीसम्बन्धमा आफ्नो अवधारणा समेत अगाडि सारेको देखिँदैन । खालि नेपाली राजनीतिक बजारमा समाजवाद शब्द जसले, जहाँ, जुन उद्देश्यका लागि पनि प्रयोग गरिने रोमान्सकारी विज्ञापन मात्र भएको छ । यस आलेखमा हामीले खोजेको समाजवादी राज्यव्यवस्था प्राप्तिका आधारका विषयमा चर्चा गर्ने प्रयास गरिएको छ । 

विश्वमा समाजवाद भन्ने बित्तिकै लेनिनकालीन एकदलीय राज्य व्यवस्था बुझ्ने गरिन्छ । तर हाम्रो संविधान र हामीले अहिले प्राप्त गर्न खोजेको समाजवाद त्यो नभएर राज्य, निजी दुवै जवाफदेही रहेको (उन्नत पुँजीवाद) व्यवस्था हो । त्यसका लागि पनि हामीले पूरा गर्नै पर्ने केही सर्तहरू छन् ।

पहिलो– कुरा कुनै पनि देशको राज्य व्यवस्था कस्तो बनाउने भन्ने कुरा त्यो देशभित्र बसोवास गर्ने नागरिकको सामाजिक, आर्थिक, जातीय, भाषिक, धार्मिक, सास्कृतिक, लैङ्गिक अन्तर्विरोधसित जोडिएको प्रश्न हो । समाजवाद संविधानमा लेखेर, भाषण गरेर मात्र आउने राज्य व्यवस्था हैन । समाजवादमा पुग्नका लागि माथि भनिएका सामाजिक अन्तर्विरोधको समाधान पहिलो सर्त हो । हाम्रो देश सायद लोकतन्त्रका लागि सबैभन्दा लामो लडाइँ लडेको राष्ट्रमा पर्दछ । आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त गरे पनि हाम्रा सामाजिक सम्बन्ध, राज्य सञ्चालन, राजनीतिक दलको बनावट, लैङ्गिक र जातीय विभेदले अझै पनि सामन्तवादको झल्को दिइरहेका छन् । त्यसका लागि दलहरूमा रहेको सामान्ती केन्द्रीकृत मानसिकता अन्त्य गर्न जरुरी छ । दलहरूले दलको केन्द्रमा रहेको अधिकार प्रदेश र स्थानीय तहमा छोड्न, दलका एकाइदेखि केन्द्रसम्म पूर्ण समावेशी बनाएर दलहरू पूर्ण लोकतान्त्रीकरण हुनु पहिलो सर्त हो । समावेशिताबिना र अधिकार तल विन्यास नगरी समाजवाद कल्पना मात्र हो ।

दोस्रो– देशमा अत्यन्त जरा गाडेको भ्रष्टाचार जो राजनीतिक आवरणमा बसेको छ । त्यसलाई समूल अन्त्य नगरी न समृद्धि हुन्छ न समाजवाद । त्यसको अन्त्यको सुरुवात वर्तमान सरकारले गरेको छ । यसलाई तीव्र गतिमा अगाडि बढाएर सुशासनको आधार तयार गर्नुपर्छ । वर्तमान सरकारले सुरु गरेको यो महाअभियानमा सबै दल र नागरिक समाजले साथ दिएर निष्कर्षमा पुर्याउनु छ । यो अभियान पूरा गर्दै गर्दा जनतामा एउटा सकारात्मक आशा जाग्छ र समृद्धिको आधार तयार हुने छ ।

तेस्रो– नेपाल भौगोलिक रूपमा एकीकरण भए पनि मनोवैज्ञानिक रूपमा खण्ड खण्ड छ । जबसम्म देशभित्र बसोबास गर्ने नागरिकले यो देश मेरो हो भन्ने भावनाको विकास हुँदैन तबसम्म समृद्धि टाढाको विषय हो । त्यसका लागि वर्तमान संविधान संशोधन गरेर संविधानप्रति असन्तुष्ट समुदाय सन्तुष्ट हुने सबै जात जाति क्षेत्र वर्ग र लिङ्गको पहिचान स्थनपित गरी शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख पूर्ण समानुपातिक निर्वाचन प्रणाली र अख्तियार, न्यायालय जस्ता अङ्ग दल सरकार होइन, जनउत्तरदायी बनाउँदै राज्यको प्रशासनिक खर्च कम गर्ने व्यवस्था गरेपछि हामी समृद्धिको मार्गमा प्रवेश गर्ने छौँ ।

भ्रष्टाचारको अन्त्य, दलहरूको लोकतान्त्रीकरण, संविधान संशोधनमार्फत असन्तुष्ट जात जाति क्षेत्र, वर्ग र लिङ्गको मनोवैज्ञानिक एकीकरण र शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेपछि हामी समृद्धिको चरणमा प्रवेश गर्छौं ।

चौथो– अहिले हामीले कल्पना गरेको समाजवाद मिश्रित अर्थ प्रणालीको समाजवाद हो । जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा पूर्ण राज्यको बाँकी निजीको निजीभित्र पनि सहकारी मोडलको निजीमा जोड हुन पर्छ । त्यसका लागि हामीले पाइला अहिलैदेखि त्यता सार्नु पर्छ ।

पाचौँ– समाजवादी संस्कृतिको निर्माण । समाजवादले मलाई चिन्दैन, समाजवादले हामी चिन्छ । त्यसका लागि पहिलो दलहरू रूपान्तरण हो । त्यसका लागि अहिले दलहर र समाजमा भएको तल–माथि, उचा–निचा, नेता–जनता भनेर जुन वर्ग खडा गरिएको छ, त्यसको अन्त्य गरेर विषयका आधारमा भन्ने र सुन्ने विकास गर्न जरुरी छ । ठुला ठुला मञ्च, माला खादा, आसन ग्रहण गरेर कसैलाई देवत्वकरण गरेर समाजवादमा पुगिँदैन । समाजवादले काम फरक आवश्यकता बराबर भन्छ र मान्छे मान्छेको बिचको खाडल भत्काउँदै समानताको संस्कृति निर्माणमा पनि अहिलैदेखि हामी पहल गर्न पर्छ । यति गर्दैगर्दा हामी समाजवादको आधार तयार गर्न सक्ने छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यज्ञ पोखरेल
यज्ञ पोखरेल
लेखकबाट थप