शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्व

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक

आइतबार, २४ असार २०८०, १२ : ०६
आइतबार, २४ असार २०८०

हरेक वर्ष श्रावण कृष्ण पञ्चमी अर्थात् मौना पञ्चमीको दिनबाट सुरु भई १५ दिनसम्म चल्ने ‘मधुश्रावणी’ पर्व यस वर्ष मलमास (अधिक मास, पुरुषोत्तम महिना) ले गर्दा लगभग डेढ महिना महिनासम्म चल्ने भएको छ । मिथिलाञ्चलको लोकपर्व मधुश्रावणी यस वर्ष असार २२ गते शुक्रबारबाट धुमधामका साथ सुरु भइसकेको छ । 

मधुश्रावणीलाई सौभाग्यको पर्व पनि भनिन्छ । विभिन्न पूजापाठ र संस्कृतिका लागि प्रख्यात मिथिलामा मधुश्रावणी व्रतको विशेष महत्त्व छ । श्रावणको पवित्र महिना नववधुका लागि खास महत्त्व राख्छ । मिथिलाका नवविवाहिता वधुहरूले आफ्ना पतिको दीर्घायुको कामना र सम्पूर्ण परिवारको मंगलकामना हेतु माता विषहरा र उनका पूरै परिवारको पूजन गर्छन् ।

मिथिलाको सांस्कृतिक जीवनमा मधुश्रावणी पर्वको महत्त्वपूर्ण स्थान रहेको छ । यो पर्व मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने भएकाले पनि यसको महत्त्व झन् बढेर गएको देखिन्छ । यस अवसरमा नवविवाहिता महिलाले विवाहको प्रथम वर्षको श्रावणमा नागपूजा गर्दै आफ्नो सौभाग्यको दीर्घकामना र सुखी जीवनको मंगलकामना गर्छन् ।    

पहिला पहिला मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अचेल सबै जातजातिको साझा हुँदै मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ । श्रावण कृष्ण पञ्चमीको दिन सुरु भई साउन शुक्ल तृतीयाको दिन सम्पन्न हुने यो पर्व मैथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ । 

यस जगत्मा शिव परिवारलाई आदर्श परिवार मानिन्छ । त्यसैले नवदम्पतीले आफ्नो जीवनको शुभारम्भ शिव परिवारलाई साक्षी मानेर यसैको अनुसरण गर्ने प्रण लिएर गृहस्थ जीवनमा प्रवेश गर्छन् । नवदम्पतीले यसै पूजाको माध्यमले जीवनका सम्पूर्ण पाठहरू यसै १३ दिनमा ग्रहण गर्ने कोसिस गर्छन् । १३ दिनसम्म मनाइने यस मधुश्रावणी पर्वका लागि प्रायःजसो नवविवाहिताहरू अहिले माइत पुगेका हुन्छन् । यस पर्वको सम्बन्धमा सांस्कृतिक मान्यता छ कि मधुश्रावणी पूजाको अवधिमा नवविवाहिता महिला आफ्नो माइत गएर यो पर्व मनाउनुपर्छ ।

359687600_637497608099854_9083262721867137348_n

पूजा सामग्री

कपडा, शृंगारका सामान, पूजाका सामग्रीको व्यवस्था र पवनैतिन (पूजा गर्ने नवविवाहिता) को भोजनका वस्तुहरू पनि ससुराली (पतिको घर) बाटै आउँछ । मधुश्रावणी पर्वको पहिलो दिन तथा अन्तिम दिन विधिविधानसहित नवविवाहिता वधुहरूले पूजा र अनुष्ठान गर्दै देवी पार्वती (गौरी), सूर्य, चन्द्र, नवग्रह, नागको विधिवत पूजा गर्छन् । 

मधुश्रावणीको अन्तिम दिन अर्थात् श्रावण शुक्ल तृतीयाको दिन नवविवाहिता वधुको ससुरालीबाट पूजन सामग्रीका साथै पकवान र नववस्त्र उपहार आउँछ, सोही पूजन सामग्रीबाट पूजा समापन गरिन्छ । पूजाको अन्त्यमा महिलालाई प्रसादस्वरूप गुलियो खान दिइने गरिन्छ ।

यस पर्वमा हरेक दिन पूजाको अघिल्लो दिन नै साँझपख फूल, पात आदि एकत्रित गरेर बाँसको डालामा सजाइने गरिन्छ । त्यही फूलपातले भगवान् भोलेनाथ, माता गौरी तथा नागवंश वा विषहारा पूजा–अर्चना गरिन्छ ।  

भनिन्छ, माता विषहरा देवादिदेव शिवका पुत्री हुन्, त्यसैले १३ दिनसम्म शिव–पार्वतीको साथै माता विषहराको माटोको स्वरूपको पूजा गरिन्छ र शिव–पार्वतीको जीवन चरित्रको साथै माता विषहराको जन्म र मानव जीवनमा त्यसको महत्त्वको कथाको रूपमा सुनिन्छ । 

मधुश्रावणी पूजाका लागि चाहिने विशेष सामग्रीमा दुबो, काँचो बेसार, धनिया, सरवा, पानक पात, सुपारी, सिंदूरक गद्दी, लाल कपडा, माटोको पाँचवटा विषहारा, पाँचवटा मैना पात, पाँचवटा केराको पात, काजल, पिठार (चामलको पिठोको घोल), श्रीखण्ड चन्दन,  पुरहैर, पातिल, धान, गाईको दूध, लाबा, फूल, नीमको पात, कागरी, आदि छन् । 

त्यसैगरी नैवेद्यका लागि चोखो चामल, चिउरा, चिनी, आँप, कटहर, केरा, अंकुरित चना वा मुँग आवश्यक हुन्छ ।

359532479_2360808337421272_1264478690178672872_n

बासी फूलले पूजा गर्ने परम्परा 

यस पर्वमा मिथिलाका नवविवाहिताहरूले आफ्नो सौभाग्यको दीर्घायुका लागि बासी फूलले माता गौरी तथा विषहाराको पूजा गर्छन् । 

यस पर्वको अवधिमा मिथिलाका नवविवाहिता महिलाहरू पूजाको अघिल्लो दिन आफ्ना सखी–सहेलीहरूसँगै पारम्परिक लोकगीत गाउँदै शृंगारसहित सजिएर फूलको बगैँचाबाट विभिन्न प्रकारका फूलपातलाई बाँसको डालोमा सजाएर ल्याउँछन् । प्रत्येक दिन बिहान आफ्नो पतिको लामो आयुको कामना गर्दै त्यसै फूलपातले माता पार्वतीको साथै विषहाराको पूजा गर्ने गर्छन् । 

प्रत्येक दिन पूजापश्चात् महिला पुरोहितले मधुश्रावणी व्रतको कथा सुनाउँछन् । मधुश्रावणी व्रत कथामा प्रत्येक दिनको छुट्टाछुट्टै १३ वटा कथा छन् । 

पहिलो दिन मौना पञ्चमी र विषहराको जन्मको कथा, दोस्रो दिन बिहुला र मनसाको कथा, विषहरा र मंगला गौरीको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथा, चौथो दिन सतीको कथा र पतिव्रताको कथा, पाँचौँ दिन महादेवको पारिवारिक कथा सुनाइन्छ ।

यस्तै, छैटौँ दिन गंगाको कथा, गौरीको जन्म कथा, काम–दहन कथा, सातौँ दिन गौरीको तपस्या, आठौँ दिन गौरीको विवाह वर–तथा–बरियाती, नवौँ दिन मैनाको मोह, गौरीको विवाह, १०औँ दिन कार्तिकको जन्म कथा, गणेशको जन्म र गौरीको नागको कथा, ११औँ दिन सन्ध्याको विवाह र लिलीको जन्म कथा, लिलीको विवाह कथा, १२औँ दिन बाल–वसन्त र गोसाउनको कथा र १३औँ अर्थात् अन्तिम दिन श्रीकर राजाको कथा सुनाइन्छ । 

359674396_679032424239971_8557164978847778119_n

श्रावण महिना आएलगत्तै मिथिलाञ्चलमा लोकसंस्कृतिले भरिएका मधुश्रावणीका गीत समेत गुञ्जिन थालेको छ । यस पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ । नवविवाहिता महिलाहरू मधुश्रावणी अवधिमा चोखो भोजन ग्रहण गर्छन् । 

यस अवधिमा नवविवाहिताहरू व्रत बसी श्री गणेश, माटो र गोबरबाट बनाइएका विषहरा एवं गौरी–शंकरको विशेष पूजा गर्छन् ।  मधुश्रावणी व्रतको सुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिला सदस्यहरूलाई अंकुरित चना, मुंग प्रसादको रूपमा बाँड्ने परम्परा समेत रहेको छ । व्रतालु महिलाहरू पूजाको समयमा गोसाउनको गीत तथा मधुश्रावणी पर्वसँग सम्बन्धित गीतहरू गाउँछन् र साँझको समयमा कोहबर गीत तथा साँझ गीत गाउने परम्परा रहेको छ । 

पर्वको अन्तिम दिन टेमी दाग्ने (नवविवाहित वधुको दुईवटै घुँडा र खुट्टामा बलिरहेको बातीले दाग्ने) परम्परा छ । जुन व्रतालुको दुइटै घुँडामा फोका उठ्छ, उसको पतिको आयु लामो हुने जनविश्वास समेत छ ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र विषधर नागलाई वंश समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् बताउँछन् । गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । 

मधुश्रावणी पर्वमा कतिपय कथा शिव–पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास छ । साउनमा जो कसैले नाग देवताको पूजा गर्छन्, उसलाई सर्पबाट भय हुँदैन भन्ने धार्मिक विश्वार समेत रहेको पाइन्छ । यसै कारणले मधुश्रावणी पर्वमा विषहराको विशेष पूजा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इन्द्रेश ठाकुर
इन्द्रेश ठाकुर
लेखकबाट थप