काठमाडौँ । नेपालको सबैभन्दा ठुलो पुस्तकालय हो, त्रिवि केन्द्रीय पुस्तकालय । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यो पुस्तकालय त्रिभुवन विश्वविद्यालयसँगै २०१६ सालमा स्थापना भएको थियो । पुस्तकालयमा सङ्कलित पुस्तकको सङ्ख्या, यसले चर्चिएको भू–भाग र यसको आफ्नै ठुलो भवनका कारण यो पुस्तकालय देशभरको ठुलो पुस्तकालयको रूपमा चिनिएका हो ।
दुईवटा कोठामा १२०० पाठ्य सामाग्रीबाट सुरु भएको यो पुस्तकालयमा अहिले ४ लाख ३० हजार भन्दा बढी पाठ्यसामग्रीहरू रहेका छन् । आधुनिक प्रविधिको विकाससँगै यो पुस्तकालयलाई पनि पुस्तकालय अटोमेसन सिस्टममा लगिसकिएको छ । यहाँका लगभग १ लाख ५० हजार भन्दा पाठ्यसामग्रीहरूलाई कम्प्युटरबाटै खोज्न सकिने गरी बिब्लोग्राफिकल डाटाबेसमा राखिएको यस पुस्तकालयका कार्यवाहक प्रमुख सागरराज सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
वेबसाइटमा गएर www.tucl.edu.np मा गएर बिब्लोग्राफिकल डाटाबेस भनेर खोज्दा पुस्तकालयमा भएका सामाग्रीहरूको बारेमा जानकारी लिन सकिन्छ । यहाँ पुराना पाठ्यसामग्री र कागजातहरू, पाण्डुलिपि जुन हातैले लेखिएका झन्डै ६२१ सामाग्रीहरू पनि डिजिटलाइज गरेर राखिएको छ ।
त्रिभुवन विश्वविद्यालय एउटा अनुसन्धानात्मक विश्वविद्यालय भएको हुनाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले बनाएका थेसिसहरु पनि अनलाइनमा प्राप्त गर्न सकिने गरी डिजिटल डिपोजिटरीको काम पनि सुरु भएको छ ।
पुस्तकालयका कार्यवाहक प्रमुख सुवेदीले भने–‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालको पुस्तकालय क्षेत्रको अग्रणी संस्था हो । यसले पुस्तकालय तथा सूचना विज्ञान विषयको क्रियाकलापहरुमा पनि आफ्ना कामहरूलाई अगाडि बढाएको छ । पुस्तकहरूमा क्याटलग राख्ने काम पनि हामीले गर्दै आएका छौँ । नेपालबाट जति पनि जर्नलहरू प्रकाशित हुन्छन्, त्यो जर्नलहरूलाई अनलाइन नै प्राप्त गर्न सकिने गरी (नेपाली जर्नल अनलाइन) नेपजोल (NEPJOL) भन्ने एउटा डाटाबेस बनाइएको छ । नेपालका लागि संयुक्त राष्ट्रसंघले प्रकाशित गरेका सम्पूर्ण डकुमेन्टहरू प्राप्त गर्न सकिने गरेर युनाइटेड नेशनको डिपोजिटर लाइब्रेरीको रूपमा पनि २०१६ सालदेखि यो पुस्तकालय कार्यरत रहेको छ ।’
२०१९ सालदेखि ब्रिटिस काउन्सिलको डिजिटल लाइब्रेरी वाल भनेर यहाँबाट ब्रिटिस काउन्सिलमा भएका सामाग्रीहरू हेर्न मिल्ने व्यवस्था मिलाएको छ । यसको अलावा पुस्तकालयले नेशनल डिजिटल लाइब्रेरी अफ इन्डियाका सामाग्रीहरू पनि हेर्न मिल्छ । यहाँबाट ई–रिसोर्सहरु पनि संकलन गरिएको छ । विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले जर्नल आर्टिकलहरू डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अहिले अरू कुनै पनि विश्वविद्यालयले नगरेको ई– रिसोर्सहरु सजिलै रूपमा पहुँच पाउने गरी सञ्चालन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन २०७२ सालको महाभूकम्प पछि जर्जर स्थितिमा रहेको छ । अहिले पुस्तकालयलाई नयाँ भवन प्राप्त भएको छ अहिले पनि निर्माणाधीन अवस्थामा रहेको छ । यो भवनले गर्दा पुस्तकालय विस्तार गर्न सुविधा हुने कार्यवाहक प्रमुख सुवेदीले जानकारी दिए । साथै पुस्तकालयमा विभिन्न समस्याहरू पनि रहेको उनले बताए ।
सुवेदीले भने–‘यहाँ करिब ८०० विद्यार्थीहरू बसेर अध्ययन गर्न सक्नुहुन्छ । विश्वविद्यालयकै विद्यार्थी भन्दा धेरै बाहिरको विद्यार्थीहरू यहाँ पढ्न आउनुहुन्छ । पुस्तकालयमा समस्या पनि धेरै छन् । पुस्तकालयका भवन चुहिने छ । अध्ययन गर्न धेरै विद्यार्थी हुँदा खानेपानी, शौचालय, बस्ने बेन्चहरू एउटा शैक्षिक संस्थामा सधैँ समस्याकै रूपमा रहेको हुन्छ । त्यो बाहेक पाठ्य सामाग्रीहरू पनि परिवर्तन भएर गएका कोर्सहरू राखिराख्नु पर्ने अवस्था, नयाँ सामाग्री खरिद गर्न एकदम कम बजेट जस्ता समस्याहरू छन् ।’
सबैभन्दा ठुलो समस्या भनेको पुस्तकालयमा जनशक्तिको अभाव हो । कुनै बेलामा १ सय भन्दा बढी कर्मचारी भएको यो संस्थामा अहिले खुम्चिएर ३० जनामा सीमित भएको छ । जति समस्या भए पनि समस्याहरूलाई चिर्दै पुस्तकालयले सकेसम्म धेरै पाठकहरूलाई सेवा सुविधा दिएको सुवेदीले बताए ।
त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरूले पुस्तकालयको सदस्य बन्न पाउँछन् । यहाँबाट विद्यार्थीहरूले पढाई सम्बन्धी स्रोतहरू लैजान पाउँछन् ।
बढ्दो क्रममा रहेको बौद्धिक चोरीको नियन्त्रण गर्न चोरी विरोधी सफ्टवेयर पनि पुस्तकालयमा राखिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले समग्र रूपमा आम पाठक, विद्यार्थी, शिक्षक, र अनुसन्धानकर्ताहरूको आवश्यकता अनुसारका पाठ्यसामग्री, ई–रिसोर्सहरु दिएर सेवा गरिरहेको छ ।
अध्ययनका लागि विद्यार्थीलाई सिट पाउनै मुस्किल
केन्द्रीय पुस्तकालयमा अध्ययनका लागि निकै ठुलो चाप हुने गरेको छ । बिहान समयमै उनीहरू पुगेनन् भने अध्ययनका लागि डेस्क बेन्चको नै अभाव हुने गरेको छ । घरको कोठामा हुँदा ध्यान दिएर पढ्न नसकिने र पुस्तकालयमा अरूलाई देखेर भए पनि पढ्न मन लाग्ने विद्यार्थी युवराज देवले रातोपाटीलाई बताए । तर अध्ययनका लागि बस्ने सिटको भने अभाव रहेको उनले बताए ।
पुस्तकालयमा पढ्न आएकी अर्का विद्यार्थी चाँदनी जोशी भन्छिन्, “यो सार्वजनिक पुस्तकालय हो, साथीहरू सबैजना आएर संयुक्त अध्ययन गर्न सकिन्छ भनेर आएको । पढ्नका लागि यहाँ सबै किसिमका सुविधाहरू पनि छन्, त्यसैले यहाँ आउन मन पर्छ ।’
अर्का विद्यार्थी निर्मल सिंह ठकुरीले यहाँ पढ्ने माहौल राम्रो भए पनि बिहान ९ बजे भन्दा ढिलो आइपुग्दा बस्ने सिट पाउन मुस्किल भएको बताए ।
त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत विद्यार्थी निर्मल खड्काका अनुसार पुस्तकालयमा पढ्ने माहौल एकदम राम्रो छ तर विद्यार्थीको सङ्ख्या बढी हुने भएकाले बस्ने सिट कहिलेकाहीँ पाइँदैन । यहाँ पुराना किताबको सङ्ख्या धेरै भएको र अपडेटेड किताबहरू कम भएको उनको गुनासो थियो ।
प्रतिक्रिया