शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजकुमारको कृषि कथा : कर्म गर, सफलता मानिसको पछि–पछि आउँछ

आइतबार, २४ असार २०८०, ०७ : १९
आइतबार, २४ असार २०८०

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भए । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकाल्नुलेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउछन् । “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उहाँ मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउछन् । “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए। कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई हान्निए । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष दुबई बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा रु पाँच लाख लिएर फर्किएको बताउछन् ।

रु ७५ लाखको लगानी
गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउछन्। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिएको बताउछन् । “मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउछन्। “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक रु डेढ लाख बच्छ । “महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार
राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन्। उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउछन् ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष  समय काफी भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो ।

सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास गर्न नहुने बताउछन् । उनी सफलता मानिसको पछि– पछि आउने गरेको बताउछन् । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप