त्यतिबेला मासिक ४० रुपैयाँ तलब थाप्नेको कथा
काठमाडौं– गंगा राउत (५४) ले घर–आँगनमै रहेको उच्च माध्यमिक विद्यालयमा जागिर थालेको ३३ वर्ष भयो । घरबाट दुर्छिम उच्च माध्यमिक विद्यालय छापडाँडा पुग्न पाँच मिनेट लाग्छ । दुई कक्षासम्म पढेका उनले ३३ वर्षदेखि विद्यालय सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । सन्तोषभन्दा ठूलो सम्पत्ति अरू हुँदैहुँदैन । तसर्थ, छँदाखाँदाको जागिरप्रति उनको अगाध प्रेम छ ।
हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडा खोटाङमा रहेको विद्यालयमा उनले संवत् २०४१ देखि विद्यालय सहयोगीका रूपमा जागिर थालेका थिए । उनले त्यतिबेला मासिक ४० रुपैयाँ तलब पाउँथे । हिजोआज ११ हजार ५ सय थाप्छन् ।
दुर्छिम उमावि पूर्वशिक्षक स्व. जयवर्ण राईले उनलाई विद्यालय सहयोगीको भूमिकामा राख्न सहयोग गरे । ‘त्यतिबेला भक्तकुमार गिरी प्रधानाध्यापक थिए,’ उनले खुसी व्यक्त गरे, ‘जयवर्ण सरले गर्दा मैले जागिर पाएँ । उहाँले लगाउनुभएको गुन बिर्सन सक्दिनँ ।’
विद्यालय सहयोगी राउतलाई छँदाखाँदाको जागिरले पाँच छोराछोरी पढाउन सहज बनाइदियो । त्यही जागिरले चार छोराछोरीको बिहे गरिदिए । ‘जागिर खानअघि ठूला मानिसको सहयोगी भएर हिँड्थें,’ उनले सुनाए, ‘यही जागिरले आफ्नो बिहे गर्न सहज भयो । यता नल्झेको भए अरबतिर हुन्थें होला ।’ आर्थिक समस्याले दुई कक्षासम्म पढेका उनले आफ्नो अध्ययन अधुरै छाडे पनि छोराछोरी पढाउन पाएकोमा कम्ती खुसी छैनन् ।
‘पहिले–पहिले विद्यालय र घरको काम भ्याइन्थ्यो । अहिले घरको काम त्यति भ्याउँदिनँ,’ उनले प्रस्ट्याए, ‘बिहान ६ बजेदेखि ट्युसन पढाइ हुन्छ । त्यतिबेला पनि ढोका खोल्न विद्यालय पुग्नैपर्यो । त्यसपछि घर फर्कन्छु । पुनः ९ बजे विद्यालय पुग्नुपर्छ । ९ देखि ५ बजेसम्म विद्यालयमै हुन्छु । विद्यालयको झ्यालढोका र चाभी लगाउन एक घन्टा लाग्छ ।’ त्यतिमात्रै होइन, विद्यालयमा रहँदा उनले शिक्षकलाई चिया र खाजा बनाउनुपर्छ । घन्टी लगाउने काम उनकै हो । धारा नपुगेका चार शौचालयमा पानी पुर्याउनु त छँदै छ ।
केही समयअघि विद्यालयमा खानेपानीको धारा जोडिएपछि गाग्रोका पानी बोक्ने काम गर्न परेको छैन । त्यसअघि दुर्छिम उमाविमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकलाई गाग्रोमा पानी बोकेर खुवाउनुपर्ने बाध्यता थियो । साढे चार सय विद्यार्थीलाई मूलपँधेरोबाट दैनिक ५÷६ गाग्री पानी बोकेर खुवाउनु सामान्य काम होइन । उनको काम पानी बोक्नेमात्रै थिएन । विद्यालयको काम लिएर जिल्ला सदरमुकाम दिक्तेल पुगिरहनुपथ्र्यो । विद्यालयमा गर्नुपर्ने नियमित अन्य काम पनि छँदै थियो ।
‘त्यतिबेला विद्यालय खोल्ने, पानी बोक्ने र घन्टी लगाउने काममात्रै थियो,’ उनले सुनाए, ‘तीन गाग्रो पानीले पुग्थ्यो । विद्यालय जाँदा एक गाग्रो पानी बोकेरै जान्थें । एक गाग्रोमा २० लिटर पानी अटाउँथ्यो । तीन गाग्रोले नपुगे विद्यार्थी मेरै घरसम्म पुगेर पानी खान्थे । केही समयअघि सम्म दैनिक ६ गाग्रो पानी बोक्थें ।’
हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडानिवासी गंगा राउतको जागिरे जीवनको विगत त्यत्तिकै स्मरणीय छ । जागिर थालेको दुई÷तीन वर्षपछि ४० रुपैयाँबाट तलब बढेर तीन सय पुग्यो । राउतले विगत कोट्याए, ‘०५० सालतिर ६ सय भयो । ६ बाट बढेर ९ सय पुग्यो । यो ०५५ सालतिरको कुरा हो । ९ सयबाट ६ हजार रुपैयाँ पुग्यो । अहिले त जिल्लाबाटै साढे ७ हजार आउँछ । विद्यालयबाट ४ हजार ५ हजार पाउँछु ।’
३३ वर्ष विद्यालयमा काम गर्दा पाँचजना प्रधानाध्यापक परिवर्तन भइसकेका छन् । भक्तकुमार गिरी, शम्भुज्यू ठकुरी, नरेन्द्र राई, विष्णु राईले प्रधानाध्यापकको भूमिका निर्वाह गरिसकेका छन् भने गिरी र ठकुरीले अवकाश पाइसकेका छन् । नरेन्द्र राई मोरङ सरुवा भएका हुन् । विष्णु राई दुर्छिम उमाविमै अध्यापनरत छन् भने हिजोआज केदार साहले प्रधानाध्यापक भूमिका निर्वाह गर्दै आएका छन् ।
पाँचजना प्रधानाध्यापकका प्रिय गंगा राउत ३३ वर्षमा पनि स्थायी हुन सकेका छैनन् । यत्तिका समय एउटै विद्यालयमा कार्यरत उनको इच्छा के होला ? ‘स्थायी भइदिए हुन्थ्यो भन्ने लागेको छ,’ उनले दोस्रो इच्छा सुनाए, ‘नत्र मेरो ठाउँमा मेरै छोरालाई जागिरे बनाउन पाए पनि त हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना