८० को हाराहारीमा हिँड्दै गरेका कलाकारको रङसँगको ‘अन्तर्सम्बन्ध’
भर्खरै एक ऐतिहासिक कला प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सानो कला कक्षमा भयो, ‘अन्तर्सम्बन्ध — २०८०’ नाम दिएर ।
असार ३ गते शुभारम्भ भई एक सातासम्म चलेको प्रदर्शनीमा नेपाली आधुनिक कलाको शुभारम्भ बेलाका कलाकारहरू शशिविक्रम शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्यका चित्र थिए ।
यो कला प्रदर्शनी स्किब (एसकेआइबी) समूहले गरेको हो । सन् २०७१ मा स्थापित यस समूहको नाम यी चार कलाकारको नामको अघिल्लो अंग्रेजी अक्षरबाट बनाइएको हो —शशिविक्रम (जन्म : सन् १९४०) को ‘एस’, कृष्ण मानन्धर (जन्म : सन् १९४७) को ‘के’ इन्द्र प्रधानको (सन् १९४४–१९९५) ‘आई’ र वत्सगोपाल (जन्म : सन् १९४६) को ‘बी’ ।
यस समूहका तीन कलाकार यतिखेर ८० को हाराहारीमा हिँड्दै छन् । उनीहरूका चित्र प्रदर्शित हुँदा युवा कलाकारमा एक ढंगले उत्साह थप्यो । उतिबेलाकै शैलीमा बनेका यस्ता चित्र आजको सन्दर्भमा हेर्दा सामान्य भावक पनि रोमाञ्चित भएको देखियो ।
इन्द्र प्रधानचाहिँ युवा अवस्थामै बितेर गएकाले यसपल्टको यो प्रदर्शनीमा उनका कलाले मात्र उपस्थिति जनाए । प्रदर्शनीमा विश्लेषणात्मक छलफल, विचार–विमर्श, मीमांसा गरिएन । गरिएको भए र त्यो अभिलेखन भएको भए निकै राम्रो हुने थियो भन्ने लागिरह्यो । तथापि प्रदर्शन भयो, यही राम्रो मानौँ । यी पाका कलाकारले आजको अवस्था र वातावरणले प्रभाव पार्दापार्दै कस्ता कलागत शैली र प्रवृत्तिमा काम गरिरहेका छन्, गर्दा रहेछन् भन्ने आम–भावकको कुतूहलतालाई मेट्न पनि यो कला प्रदर्शनी सार्थक भएको देखियो ।
वयोवृद्ध र उमेर पुगेका कलाकारहरू अहिले पनि कोठाभित्र बसेर कला सिर्जनामा निमग्न भएर लागिरहेकै हुन्छन् । विडम्बना, यी कला र आमदर्शकको भेटघाट हुँदैन । यसो हुनुको प्रमुख कारण त उनीहरुबाट अलि राम्रा कला बनेर नसकिँदै कसैले किनेर आफ्नो सङ्कलनका लागि लगिसकेका हुन्छन् । प्रदर्शनका लागि कला नभएपछि प्रदर्शन गर्ने र दर्शक आउने कुरै भएन ।
अर्को कुरा, यस्ता कलालाई स्थायी रूपमा राखिने कलाका आधुनिक सङ्ग्रहालय वा कला ग्यालरी (समसामयिक कला सङ्ग्रहालय) हामीकहाँ छैनन्, जहाँ जुनसुकै बेला जोकसैले यस्ता कला अवलोकन गर्न सकून् र पाका कलाकारको उपस्थिति रहिरहोस् । यी काम हामीकहाँ हुन सकिएको छैन ।
स्किब
‘स्किब’ समूहले सन् ७० दशककोे शुभारम्भताका नेपाली आधुनिक कलाको एक निश्चित धारलाई स्थापित गरेको थियो । नेपालमा सन् १९६० मा आधुनिक कलाको शुभारम्भ भयो, तर यसले विशेषतागत एउटा आकार (सेप) लिन सकिरहेको थिएन । मूलतः यी कलाकार नै थिए, जसले थोरै पहिलेका र थोरै उनीहरु पछिका कलाकारलाई एउटा प्लेटफर्ममा लिएर आए । तत्पश्चात नेपाली आधुनिक कलाको एउटा स्थायी कलागत आकार र पहिचान स्थापित हुन सहयोग भयो ।
पश्चिमी कलांकन पद्धति, प्रविधि, माध्यम र कला दर्शनलाई नेपाली विषय, परम्परा, संस्कारमा फ्युजन गरी आधुनिक कलाको एक नवीन धारलाई यी कलाकारले स्थापना गरेका थिए । पश्चिमीजस्तो देखिने कलामा पनि नेपाली मौलिकता यथेष्ट मात्रामा समावेश हुँदा नेपाली आधुनिक कलाको अलग्ग शैली स्थापित भयो । विश्वमै मान्यताप्राप्त यो शैली वा आधुनिक कलाको धारलाई आजका कलाकार (सबैले होइन) अनुकरण र अनुसरण गरिरहेका छन् । यसैमा अरु थपथाप गरी अझ नौलानौला कलाको स्वरूपलाई अगाडि बढाउने काम पनि गर्दै छन् । अहिले भएको अधिकांश यस्ता चित्रको आधारभूमि नै यी र यस्तै चित्र हुन् ।
नेपालको आधिकारिक र औपचारिक कलाको शैक्षिक प्रक्रियामा यही समूहका शशिविक्रम शाह र कृष्ण मानन्धरले धेरै लामो कालसम्म अगुवाइ गरिरहे, क्याम्पस प्रमुखका रूपमा । काठमाडौं उपत्यकाभित्र रहेका तीन यस्ता कला क्याम्पसमध्ये (उपत्यकाबाहिर अहिलेसम्म कलामा स्नातक तहका क्याम्पस खुलेका छैनन्) दुईवटा (ललितकला क्याम्पस र सिर्जना कलेज अफ आर्ट)लाई यी दुर्ई कलाकारले नै दशकौँ अगुवाइ गरे ।
यी दुवै कलाका स्कुल (क्याम्पस)मा प्राध्यापन गर्ने अधिकांश कलाकार जे जे स्कुल अफ आर्ट बम्बईबाट दीक्षित भएका छन् । जसले गर्दा नेपाली समसामयिक कलाको स्वरूप र विशेषतामा उनीहरुको प्रभाव बढी परेको देखिन्छ । इन्द्र प्रधानचाहिँ मृत्युपर्यन्त बुढानीलकण्ठ स्कुलमा कला–शिक्षकका रूपमा रहे । यसैले गर्दा पनि यी कलाकार नेपालको कला इतिहासमा आदरणीय भएर स्थापित भएका हुन् ।
७० को दशक
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक हिसाबले ७० को दशक र वर्तमानमा धेरै कुरामा परिवर्तन आएको छ । ७० को दशकतिर कलामार्फत सामाजिक समस्यालाई हेर्न खोज्ने, सम्बोधन गर्न खोज्ने गरिँदैनथ्यो । बन्द कोठाभित्र बढीजसो कलाहरू निर्माण हुन्थे । परम्परागत, लोककला त कोठाभित्रै बन्ने हो । समसामयिक कला समेत बन्द कोठाभित्र सिर्जना हुन्थे । यसैले आज पनि यसलाई ‘स्टुडियो आर्ट’ भन्ने चलन छ ।
त्यतिबेला बाहिर खुला ठाउँमा कला पोत्ने संस्कार थोरै अभ्यासमा देखिन थालेको थियो । त्यसो हुँदा दृश्यचित्रको सौन्दर्यता, वातावरणमा मिठास थपेर आफ्ना कलालाई सुन्दर बनाउने प्रचलन अगाडि बढ्यो । यसैले त्यस बेलालाई पूर्वआधुनिक कला वा आधुनिक कलाको प्रारम्भ बिन्दु भनेर किटान गर्न थालिएको छ ।
त्यस बेला कला सामाजिक र धार्मिक अवयवको एक अंग बन्ने गथ्र्यो । अलिपछि संस्कृति, संस्कार, जात्रा र चाडपर्वलाई जस्ताको तस्तै चित्रमा उतार्ने अभ्यास प्रचलनमा आयो ।
७० को दशक आधुनिक कलाको शुभारम्भ भए पनि त्यतिबेलाका कलाहरू अलग शैली र प्रवृत्तिमा मात्र दृश्यावलोकन हुन्थे । यसर्थ पनि स्किबमा आबद्ध यी कलाकारले कलामा आधुनिकता बोके पनि सामाजिक सवाललाई कहिल्यै बोकेनन् । त्यति बेलाकै चलनचल्तीले आज पनि प्रभाव जनाउँदा बरु आ–आफ्नै कलाबारे, आफ्नै कलायात्राबारे वृत्तचित्र बनायो । यसैलाई पनि यहाँ यसबखत प्रदर्शित गरिएको थियो ।
त्यस बेला सामाजिक सवालमा कलाको सिर्जना गर्ने वा प्रदर्शनीकै पनि समयसापेक्ष नाम राख्ने चलन थिएन । स्किबको यसपालिको कला प्रदर्शनी ‘अन्तर्सम्बन्ध २०८०’ मूलतः कलाकारबीचको अन्तर्सम्बन्ध हो । यो शीर्षकसँग सिर्जनाको कुनै सम्बन्ध छैन ।
स्किबका कलाकार
स्किब समूहको इतिहासले गर्दा पनि यसपालिको प्रदर्शनीले महत्त्वपूर्ण अर्थ राख्छ । मुम्बईको सर जे जे स्कुल अफ आर्टबाट कलामा औपचारिक शिक्षा पूरा गरेर नेपाल फर्केपछि मन मिल्ने कलाकार समूहमा परिणत भएका थिए । उनीहरु अघिका आधुनिक कलाकार उर्मिला उपाध्याय, लक्ष्मण श्रेष्ठ, रामानन्द जोशी, कालिदास श्रेष्ठ, हिरण्यध्वज जोशी अनि केशव दुवाडी समेत यही कलाको स्कुलबाट अध्ययन गरेर फर्केका थिए । यस बेला यी कलाकारले पनि मुम्बईको कला वातावरण देखे–भोगे होलान् । तापनि कसैले कला समूह खोल्ने पहल गरेको देखिएन ।
त्यतिबेला मुम्बईबाहेक भारतका अन्य ठाउँबाट पनि कलामा अध्ययन सकेर नेपाली कलाकार फर्किसकेका थिए । कलाको पढाइ सकेर नेपाल फर्केका कलाकारबाट नेपालमा आधुनिक कलाको बीजारोपण भएको थियो, तर कलाकारको अलग्ग समूह बनाउनुपर्छ भन्ने सोचको विकास भएको थिएन वा देखिएन ।
त्यतिबेला आधुनिक कलाका मूलधारका कलाकारमा लखनउबाट पढेर आएका उत्तम नेपाली, बेलायतबाट पढेर आएका लैनसिंह बाङ्देल, बरोदाबाट ठाकुरप्रसाद मैनाली, बनारसबाट विजय थापा, ढाका बंगलादेशबाट मनुजबाबु मिश्र, कलकत्ताबाट प्रमिला गिरी आदि थिए । यी नै आधुनिक कलाका पहिलो दशकका अगुवाइ गर्ने कलाकार हुन् ।
यी सबैजसो कलाकारले एक्लाएक्लै जस्तो भएर अलग–अलग पारामा कलाको सिर्जना गर्थे, प्रदर्शन गर्दथे । यसैबीचमा नाफा (नेपाल ललितकला संस्था) खुल्यो । उत्तम नेपाली, रामानन्द जोशीले कलाका ग्यालरी खोले पनि साना–साना कलाकारको समूह खोल्ने काम कसैले गरेको देखिएन ।
यस्तो वातावरणमा स्किबका यी कलाकारले यो कलाको सानो समूह खोल्दा कलामा नयाँ परिपाटीको सुरुआत भएको देखिन्छ । समूहबाटै आफ्ना कलालाई निरन्तर रूपमा सार्वजनिक गर्ने, सामूहिक कला प्रदर्शन गर्नेे परम्परा यहीँबाटै सुरु भएको देखिन्छ । सामूहिक रूपमा प्रदर्शनी गर्न बढी कला आवश्यक हुँदैनथ्यो, जस कारण प्रदर्शनी निरन्तर भइरहन्थ्यो ।
स्किबको सुरुवातपछि यस्ता कलाकारका समूह बगुन्द्रो खुलेको इतिहास छ । हरेक वर्षजस्तो यी कलाकारले आफ्ना नवीनतम चित्रलाई प्रदर्शन गरिराख्दा कलागत वातावरण पनि फैलिँदै गएको आभास आम समुदायबाट पनि भएको थियो ।
त्यसताका मुम्बईमा कला समूहहरू खोल्ने प्रचलन यथेष्ट रूपमा भइसकेको थियो । यसबेला मुम्बईमा हुसेन, रजा, सूजा, राम कुमार आदिले यस्तै समूह गठन गरेर भारतीय आधुनिक कलामा पु¥याएको योगदानलाई यी स्किबका कलाकारले राम्रैसँग आत्मसात गरेका थिए । भारतमा त्यस बखत आधुनिक कलाको संस्थागत विकास चरम सीमामा पुगिसकेको थियो । यसैको सिको वा प्रभावमा यी कलाकारले नेपालमा पनि यस्ता समूह खोलेका र समूहबाटै संयुक्त रूपमा कलालाई सार्वजनिक गर्ने प्रचलन बसाएका हुन् । यी कुरा शशिविक्रमले अन्तर्वार्तामा भनेका पनि छन् ।
स्किबका कलाकारको आधुनिक कलामाथिको समझ–बुझाइमा समानता छ । एउटै कला स्कुलबाट दीक्षित भएको हुँदा सबैले बुझेरै आधुनिक कलाको शैलीलाई अपनाएको देखिन्छ । यी कलाकारले शैलीगत रूपमा अलग–अलग शैलीलाई समातेका छन् । तथापि विश्वमा स्थापित भइसकेको यो आधुनिक शैली नेपालमा अवतरण हँुदा वा गराइँदा आधुनिक कलाकै पनि संस्थागत विकास हुन गएको थियो ।
आजको दिनसम्म यो समूह टुटेको छैन । यति लामो समयसम्म यस प्रकारको सामूहिक समझदारी नेपालका अन्य कला समूहले कायम गर्न सकेका छैनन् । यो आफैँमा एक अलग इतिहास हो ।
शैली र प्रवृत्ति
शशिविक्रमका चित्रमा स्वैरकाल्पनिकता, कल्पना, सपना र भावना समष्टिगत रूपमा समावेश भएको देखिन्छ । शून्यतामा उफ्रिरहेका घोडाहरू देखिनु यसैको सङ्केत पनि हो । सपनाका अवयव बढी मात्रामा सलबलाउँदा उनलाई अति यथार्थवादी कलाकारका रूपमा धेरै कलाविद्ले परिरिचत गराएका छन् ।
विश्व कला बजारमा सन् १९२० को दशकको पूर्वाद्धमा अति यथार्थवादी कला बौद्धिक कला आन्दोलनको रूपमा शुभारम्भ भएको थियो । आधुनिक कलाको मध्य–मध्यतिर सपनालाई लिएर कला भनिने प्रचलन थियो । सपनामा हुने गरेको विसङ्गति चित्रमा उत्रँदा वा पात्र र घटनाहरू अनमेलमा देखिँदा चित्र हेरी राख्दा पनि साँच्चै विपनामा पनि सपना देखेजस्तो हुन्थ्यो । कलाका यस्तो शैली र प्रवृत्ति पनि नामसहित उतैबाट यता आए । यसैले यो स्वाभाविक जस्तो देखिन गयो, यसलाई अन्यथा मान्नु हुँदैन ।
शशिको कला संयोजनमा सपना परिलक्षित हुन्छन् । तापनि स्थापित मिथलाई शक्तिशाली पात्रहरूको रूपमा उभ्याउँदा अचानक सपना हराउँछन् । अनि प्रतीक र विम्बहरू यथार्थ धरातलमा उभिएका देखिन्छन् । यो उनको आफ्नै पाराको कलागत शैली हो । मिथ आफैँमा सपना होइन, यथार्थ पनि होइन, तर समुदायको बलियो आस्था र विश्वास यसैमा गाँसिएको हुन्छ । जसले गर्दा आममान्छेको मनमा, दिनचर्यामा, मूल्य–मान्यतामा यी मिथ एउटा अङ्ग बनेर समावेश भएर बसेका हुन्छन् । यसलाई कल्पना र सपना मात्र भनेर पर धकेल्न सकिन्न । यही मनोभाव शशि शाहको चित्रमा देखिन्छ ।
उनको कलागत स्वभाव हेर्दै जाँदा अनेकौँ चारित्रिक लक्षण चित्रमा दृश्यावलोकन हुन्छ । यसो हुँदा थप थुपै्र विशेषताले उनलाई परिचित गराउनुपर्ने हुन्छ । यस्ता थप विशेषता भनेको चाहिँ उनका कलामा भएका मिथहरू एउटा अर्थ बोकेर प्रकट हुनु पनि हो । मिथ (विशेष गरेर देवीदेवता), लोकगाथा, दन्त्यकथालाई उनले आफ्ना चित्रमा पस्केका हुन्छन् । नेपाली परम्परागत र धार्मिक किम्बदन्तीलाई चित्रमा उतार्ने उनको स्वभाव देखिन्छ । यो उनको निजी पहिचान हो नै, साथसाथै नेपालमा यो खालको कलागत प्रवृत्ति शुभारम्भ गर्ने उनी नै पहिलो कलाकारका रूपमा पनि देखापरेका छन् । यसअघि देवी–देवतालाई यस प्रकारबाट प्रस्तुत गरिएको थिएन । कल्की र दश अवतारजस्ता शक्तिशाली चित्रको निर्माण उनीबाट भयो । यसले नेपाली मौलिकताको आधारबिन्दु मात्र खडा गरेन, यसको ‘एस्थेटिक्स भेल्यु’लाई यति माथि पु¥यादियो, आज उनको चित्र (दश अवतार) जापानको फुकुवाका म्युजियममा सम्मानजनक रूपमा प्रदर्शित छ ।
अति सबल रेखा र घनत्व बोकेका रङलाई भाँती पु¥याएर प्रयोग गर्न सिपालु शाहले आकृतिलाई खेलाएर चित्रको निर्माण गर्र्छन् । मानवीय पात्र स्वाभाविक वा अस्वाभाविक रूपमा देवी–देवता तथा घोडाहरूसँग घुलमिल भएर बसेका देखिन्छन् ।
भावुक प्रकृतिका शाहले आफ्नो कल्पनामा निर्माण गरेका थुप्रै पात्रलाई आफ्नो क्यानभासभित्र यति अटेसमटेस गरी समायोजित गर्छन्, जसलाई आमभावकले बुझेर सक्दैनन् । सर्लक्क धर्मगाथालाई प्रस्तुत गर्नमा उनको खास रुचि छैन । कलामा आफ्ना विचार, सोच र दृष्टिकोण जोडिहाल्न उनको रहर जागेको देखिन्छ । त्यसैमा अनेकौँ विम्ब उमारेर अलौकिक बनाउन उनको विशेष आग्रह रहन्छ ।
धर्मगाथाका अनेकौँ कथा–उपकथालाई उनले अनेकौँ कोणबाट क्यानभासभरि छरेका हुन्छन् । सुरुकै बेलादेखि अभिव्यञ्जनामा रमाउने उनी नेपाली कार्टुन कलाको इतिहासका शुभारम्भका कार्टुनिस्टहरूको अघिल्लो पङ्तिमै देखिन्छन् । समसामयिक विषयलाई नजिकबाट चियाउन भ्याउने शाह चोटिलो प्रहार गर्न पनि खप्पिस मानिन्छन् । सरल तर अति शक्तिशाली रेखाले उनका रेखाचित्र आजको दिनसम्म अब्बल छन् । यसलाई चुनौती दिन कुनै अन्य कलाकारले आज पनि आँट गरेको देखिँदैन ।
स्किबका अर्का कलाकार कृष्ण मानन्धर अमूर्ततामा रमाए । गतिशील, खाइलाग्दा, नरम तथा मूलायम रङहरू उनका क्यानभासमा सलबलाइ राख्दा भावक त्यसै पनि मन्त्रमुग्ध हुने गर्छन् । आकारहरूलाई नै विरुपण गर्ने स्वभाव उनका कलामा देखिन्छन्, तर रेखाहरू भन्दा रङका खण्डहरूको जीवन्त बहावले भावकलाई आकर्षक मात्र गर्दैन, अमूर्तताको अथाह गहिराइ अर्थात् अर्कै संसारको मनोरम दृश्यमा डुबुल्की मार्न पु¥याउँछन् । उनको खास कलागत विशेषता पनि यही हो ।
उनी रङहरूबाटै संवाद गर्न रुचाउँछन् । उनका चित्रमा खेतका गराहरूको सिरिज, संगीतका लहरहरू, जंगल वा रुखहरूका सिरिज र हिँउले टम्म भरिएका अनेक हिमालका सिरिज उदाएको देखिन्छ । समग्रमा भन्नुपर्दा जुनसुकै रूप र आकारलाई खाइलाग्दा रङ–लेपनले रंगाउनु उनको पहिचान बनेको देखिन्छ । भावकलाई मोहनी लगाउन यही मोटिफ र साङ्गठनिक रूप नै प्रयाप्त बन्न जान्छ ।
कुनै कुनै बेला अर्ध अमूर्तता पनि देखिन्छन् उनका क्यानभासहरूमा, तथापि अन्ततः अमूर्तता नै उनको अन्तिम गन्तव्य रहेको स्पष्ट देखिन्छ । यसर्थ कहिलेकाहीँ हिमाल र रूखहरू पनि छद्मभेषमा उनका क्याभासमा लुकामारी खेल्न आउँछन् । यसो हुँदाहुदै पनि उनी पुन अमूर्तताको अथाह गहिराइमा पुग्छन् । जहाँ सौन्दर्य यथेष्ट रूपमा समावेश भएका हुन्छन् ।
यसपल्टको प्रदर्शनीमा क्युबिक फर्महरू विशेषतः स्क्वायर सेपहरूले भरिएका उनका अमूर्त कलालाई पनि राखिएका छन् । उनका पछिल्लो काममा देखिएको यो अमूर्तताको अलग्ग स्वाद पनि हो ।
वत्सगोपाल वैद्य अलिकति अलग्ग देवी–देवताका यथार्थ रूपलाई आधुनिक कलाको एउटा खण्डमा उभ्याउन रुचाउँछन् । उनका क्यानभासमा क्युबिक फर्म, आयामिक र कतै नितान्त सपाट रूपमा भगवान् गणेश उदाउँदा भावकमा अचानक भक्तिभाव जागेर आउँछ । चहकिलो रङका अस्वाभाविक संरचना र प्रस्तुति रहँदारहँदै पनि हाम्रो धार्मिक परम्परा, आस्था र विश्वासलाई जगेर्ना गरेजस्तो पारामा उनका कला उदाएको देखिन्छ ।
हाम्रो मौलिकताको चरम उत्कर्ष यही हो जस्तो पारामा उदाएका उनका कलाले उहिले नै बंगलादेश बायनालेमा गोल्ड–मेडल पाइसकेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा यो उचाइमा अन्य कलाकारहरू आजको दिनसम्म पुग्न सकेका छैनन् । कहिलेकाहीँ उनको चित्रपटमा सपाटपनाको प्रत्याभूति पनि हुन्छ । क्युबिक फर्महरूमा पनि कहिलेकाहीँ तन्त्रमन्त्रका अवयवले छ्यास्स छोएर हाम्रा आफ्नै परम्परालाई उठाउनु उनको कलागत स्वभाव देखिन्छ । स्पष्ट रूपमा समसामयिक तन्त्रकलामा प्रवेश गर्ने रामानन्द जोशीपछि यस क्षेत्रमा वत्सगोपाल नै सक्रिय भएर उदाएका हुन् ।
त्रिकोणकारभित्र अनेक तान्त्रिक विम्बहरु (त्रिशुल, खड्ग), प्रतीकात्मक पहाड र हिमालका विम्ब आदि समतलीय प्रभावमा प्रस्तुत गर्नु उनको कलागत शैली हो । उनी प्रिन्ट मेकिङ कलामा पनि माहिर मानिन्छन् । उनका चित्रमा एम्बुज (कागजलाई भुक्क फुलाएर यसैमाथि प्रिन्ट गर्नु) बाट तन्त्रका अनेक रेखा र बिन्दुहरू एक प्रकारले अमूर्तताको स्वभावमा दृश्यावलोकन समेत हुने गर्छन् ।
इन्द्र प्रधान अलिकति अमूर्तता, अलिकति भावना र परम्परा आदिलाई लिएर प्रखर रूपमा उदाएका कलाकार थिए । उनको मास्क सिरिज ज्यादै चर्चामा आएको थियो । अहिले यो सिरिजका केही कामलाई प्रदर्शनमा राखिएका छन् ।
कहिले दुःखका भुमरीभित्र फसेका बग्रेल्ती मानवका टाउका, कहिले बुद्ध र गणेशका आकृति, कहिले माछा, हात्ती र अनेक आकृतिलाई समग्रमा एकै ठाउँमा मिसाएर मनभित्रका दुखेसोलाई कथामा बुन्नु उनको आग्रह देखिन्छ । पातलो रङ छताछुल्ल पोखाएपछि यसमाथि रेखाहरू दौडाएर आकृति उमार्नु उनको कलागत शैली हो । उनका कामलाई नियाल्दा रङमा उनको खासै आकर्षण र त्यति साह्रो मोह पनि देखिँदैन ।
यसपल्टका प्रदर्शनीमा अनफिनिस्डजस्ता देखिने रूख आदिका उनका थुप्रै चित्रलाई ट्री सिरिजका रूपमा समावेश गरियो । अल्पआयुमै देहावसान भएका कारण यी चित्र पूरा गर्न खोज्दाखोज्दै अधकल्चो रहेका हुन सक्छन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
-
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने