शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

तिमी त क्या मान्छे रहेछौ यार !

शनिबार, २३ असार २०८०, १३ : ०४
शनिबार, २३ असार २०८०

अहो, तिमीले मेरो घर जलायौ
अहो, तिमीले मेरो हात भाँच्यौ, खुट्टा भाँच्यौ
मेरा करङ शरीरका अङ्ग, तन्तु, कोषहरू धुलोपिठो पा¥यौ
मेरा अण्डकोष फुटाइफुटाइ जिउँदै खोलामा हाल्यौ ।

तिमी बाँचिरहेछौ मस्तिष्कमा जात बोकेर
अनि विषाक्त बनाइरहेछौ आफ्नो विचारलाई
तिमी सास फेरिरहेछौ अन्धविश्वासको प्राणवायुले
अनि टोकिरहेछौ सयौँ वर्षदेखि एकथरी मानिसलाई ।

तिमी प्रेम बुझ्दैनौ
तिमी विज्ञान बुझ्दैनौ
तिमी प्रकृति बुझ्दैनौ
तिमी जीवन बुझ्दैनौ
तिमी बुझ्छौ त केवल जातीय अहङ्कार
तिमी बुझ्छौ त केवल विभेद
तिमी बुझ्छौ त केवल हत्या, हिंसा, अपमान
अहो, कति बलियोसँग तिम्रो मस्तिष्कमा
ठडिएको छ जातीयताको विषाक्त पर्खाल
जुन पर्खालले रोकेको छ
लाखौँ मानिसलाई
समाजसँगको सहयात्रामा ।

प्रेम संसारको सबैभन्दा स्वतन्त्र सम्बन्ध
प्रेम संसारको सबैभन्दा न्यायिक सम्बन्ध
प्रेम संसारको सबैभन्दा सम्मानित सम्बन्ध
प्रेम यो संसारमा भएका ढुङ्गा, माटो, रुख, बिरुवा, बादल
आकाश–पानी सबैलाई प्राण दिने सम्बन्ध
यही सम्बन्धका निहुँमा बिलाइरहेका छन् हरेक पल
एउटा सग्लो जीवन । 

तिमी किन मानिसलाई आफूजस्तो मानिस देख्दैनौ ?
तिमी आकाशलाई आकाश देख्छौ
पहाडलाई पहाड देख्छौ
नदीलाई नदी देख्छौ
ढुङ्गालाई ढुङ्गा देख्छौ
चरालाई चरा देख्छौ
हेर त तिम्रो छेउमा
तिम्रोजस्तै आँखा भएका
तिम्रोजस्तै हात भएका
मुटु भएका
हातमा औँलाहरू भएका
माया, प्रेम र सद्भाव भएका
तिमी जसरी नै जन्मिएका
तिमीसँग हाँस्ने, तिमीसँग खेल्ने
तिमीसँग रमाउन सक्ने, तिमीजस्तै देखिने
तिम्रो साथी बसिरहेछ 
न्यायको बाटो हेर्दै
जसलाई तिमी प्राणयुक्त, विचारयुक्त
आफूजस्तो मानिस मान्न तयार छैनौ । 

जात व्यवस्थाले बल भरिदिएको तिम्रो पाखुरा
दलितमाथि अझै कति बजार्छौ
जात व्यवस्थाको आडमा राज्य सत्ता पाएका तिमीले
यो राज्यसत्ता पिँधको मानिसविरुद्ध कति प्रयोग गर्छौ
जात व्यवस्थाको हिसाबमा थुपारिएको धनले
गरिबलाई अझै कति गरिब बनाउँछौ
यो विभेदको जाँतोमा अझै कति मानिसलाई
पिँध्न चाहन्छौ तिमी । 

मसँगसँगै हिँड्न किन डराएको तिमी
आऊ सँगै सहयात्रा गरौँ
सँगै एउटा सुन्दर सपना देखौँ
प्रेमको स्वतन्त्र सम्बन्धमा
फूलहरूजस्तै उनिएर भ्रातृत्वको माला बनौँ
विभेदमुक्त समाज निर्माण गरौँ भन्दा
म तिमीलाई मानिस स्विकार्न सक्दिनँ भन्दै बटारिन्छौ
तिमी त क्या मान्छे रहेछौ यार
अझै कति यस्तै हुन्छौ तिमी
तिम्रो मष्तिष्कमा जातीय मानसिक स्थिति
कहिलेसम्म रहला
त्यो तिमीलाई थाहा होला
म तिमीलाई नै पर्खिरहेछु 
एउटा सुन्दर यात्राका लागि । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविन परियार
रविन परियार

rabin

लेखकबाट थप