आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
घुमघाम

कैलाश मानसरोवर घुमेर हेर्दा...

शनिबार, २३ असार २०८०, ११ : ४३
शनिबार, २३ असार २०८०

कैलाश पर्वत र मानसरोवर एकै भौगोलिक क्षेत्रमा रहेका फरक भौतिक संरचना हुन् । हालको भौगोलिक र राजनीतिक सीमाका हिसाबले ती संरचना तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा पर्छन् । 

भौतिक रूपमा कैलाश पर्वत ६६०० मिटर उचाइको सामान्य पहाड हो । मानसरोवर ४५०० मिटर उचाइमा रहेको, ३२० वर्ग किलोमिटर क्षेत्रफल फैलिएको र करिब सय मिटर गहिरो शुद्ध पानीको ताल हो । योसँगै २२४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर राक्षस ताल रहेको छ । 

राक्षस तालमा कैलाश पर्वतको छाया देखिँदो रहेछ । यी दुवै तालमा कैलाश पर्वत र वरिपरिका पहाडबाट झरेका नदीहरू पसेका छन् तर यसबाट कुनै पनि नदी सोझै बाहिर निस्केका छैनन् । यिनै तालको रसायनबाट पूर्वमा ब्रह्मपुत्र नदी, उत्तरमा सिन्धु नदी, पश्चिममा सतलज नदी र दक्षिणमा कर्णाली नदीहरू उत्पत्ति भएर बहेको भन्ने भनाइ पाइन्छ । कैलाश पर्वत र मानसरोवरको छोटो सामान्य भौतिक परिचय यति हो तर आध्यात्मिक परिचय र महत्त्व अधिक रहेको पाइन्छ ।

358785339_1493077514835991_5073380691044046096_n358736556_292059750015149_8629087026035019292_n

नाङ्गो आँखाले हेर्दा पूर्ण कलश आकारको देखिने भएकाले नामै कैलाश पर्वत रहन गयो भन्ने भनाइ पाइन्छ । टाढाबाट खिचिएको कैलाशको तस्बिरमा भने एउटा प्राकृतिक शिवलिङ्ग, सोको शिरमा ओमकार लेखेको र समग्र क्षेत्रलाई कमलको फूलजस्तै अष्टदलको आकारका रुपमा देख्न पाइन्छ । 

कैलाश तथा मानसरोवरलाई हिन्दू, बुद्ध, जैन र बोन धर्म सम्प्रदायले अति पवित्र स्थानका रूपमा लिएको पाइन्छ । 

आध्यात्मिक हिसाबले कैलाश पर्वत र मानसरोवरको वर्णन विभिन्न पुराणमा विभिन्न उल्लेख भए पनि यिनीहरूको सृष्टि, आवादी, विस्तृत पौराणिक वर्णन, महत्त्व र त्यो समयका कथ्य कुरा स्कन्द पुराण अन्तर्गतका मानस खण्ड र हिमवत् खण्डमा बढी विस्तारपूर्वक उल्लेख भएको पाइन्छ । 

अध्यात्मवादीका अनुसार कैलाश पृथ्वीको केन्द्र, धर्ती र आकाश जोड्ने कडी, मानव र देवताको दूर सम्पर्क गर्ने स्थान हो । यसै हुनाले यो पर्वत हालसम्म कसैले चढ्न सकेन भनिन्छ । 

358525184_3418145215065899_777508830180928964_n

बुद्ध धर्मगुरु मेलारोपाले ११औँ शताब्दीमा कैलाश पर्वतारोहण गरे भनिन्छ । बोन धर्मगुरु र उनको बीचमा हुन गएको धार्मिक प्रतिस्प्रर्धामा उनले तन्त्रमन्त्रको सहायताले सूर्यको प्रकाश स्वरूप उडेर कैलाशको चुचुरोमा पुगे भन्ने कथा छ । 

कैलाश पर्वतका चारवटा पाटामा अलग–अलग समयमा अलग–अलग आकृति र रङ (सफेद स्फटिक, नीलो, रक्तिम र हरियो) देखिन्छ भन्छन् । मानसरोवर सृष्टिकालमा ब्रह्माजीले आफ्नो मनद्वारा बनाएको हुनाले मानसरोवर भनिएको भन्ने र पहिलेका राजा मान्धाताले पत्ता लगाएको हुनाले उनैको नामबाट यो तालको नाम मानसरोवर राखियो भन्ने भनाइ छ । पहिला विष्णु शेष शय्यामा रहँदा यही तालमा बसेका र यसैलाई क्षीरसागर भनिन्थ्यो भन्ने पनि पाइन्छ । यही सागरमा महादेव, पार्वती, विष्णु र ब्रह्माजी स्वर्णरूपी हाँस भएर जलबिहार गरेको र उनीहरूको चुच्चाले चार दिशाबाट चारवटा नदी प्रवाहित भएको कथा पनि छ ।

पहिला भगवान् श्रीकृष्ण, दत्तात्रय, भीमसेन, अर्जुन, व्यास र शङ्कराचार्य आदिले कैलाशको भ्रमण गरेको कथा पाइन्छ । यिनै सन्दर्भ र महत्त्वका कारणले हिन्दू सनातनीहरू कैलाश तथा मानसरोवरलाई शिव–पार्वतीको वासस्थान मान्ने गरेको पाइन्छ । त्यस क्षेत्रमा गएर स्नान, तर्पण, पूजा, होम, रुद्रि आदि गरेर शिव पार्वतीलाई नजिकबाट दर्शन गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता छ । कैलाशको शिला शिवपूजामा प्रयोग गर्ने र माटो शिरमा टीका लगाउने गरिन्छ भने मानसरोवरको जल पान गरी शरीर शुद्ध बनाउने र तीर्थ जलको रूपमा अन्य यज्ञ वा पर्वहरूमा प्रयोग गर्ने धार्मिक मान्यता रहिआएको पाइन्छ । 

कैलाश मानसरोवरप्रति हिन्दू सनातनीको त्यही पवित्र भावनालाई पूरा गर्न २०६६/६७ सालदेखि ‘नमस्ते होलिडे प्रालि’ले उक्त क्षेत्रमा नेपाली तथा भारतीय तीर्थयात्रीलाई सेवा दिँदै आइरहेको छ । कोभिड–१९ का कारण केही समय रोकिएको सो तीर्थयात्रा यस वर्ष २०८० वैशाखबाट सुरु गरिएको छ । 

358486772_3162852030673745_2788244836830376778_n

यसपालि (२०८० आषाढ ३ गते) मलगायत ३५ तीर्थयात्रीले पशुपतिबाट मानसरोवरसम्मको यात्रा गर्‍यौँ । 

पशुपतिबाट यात्रा सुरु गरेर हामी नुवाकोटको विदुर, वेत्रावती, त्रिशुलीको किनार, स्याप्रुबेसी हुँदै टिमुरेमा पुगी कैलाश होटलमा बास बस्न पुग्यौँ । भोलिपल्ट नेपाल र चीनको अध्यागनको काम पूरा गरी २९०० मिटर उचाइमा रहेको केरुङमा बास बस्न पुगियो । ल्हासाबाट आएको ब्रह्मपुत्र नदीको किनार हुँदै गएर साँगाको ४५०० मिटर हाइटमा रहेको द ग्रान्ड होटलमा असार ५ गते बास बसियो । ६ गते तिब्बतको पठार, शीत मरुभूमिको दृश्यावलोकन गर्दै मानसरोवर परिक्रमा र राक्षस तालको समेत दृष्टिगोचरपछि मानसरोवरकै किनारमा बास बस्यौँ । मानसरोवरको दक्षिण साइडमा स्नान गर्ने, तीर्थजल भर्ने र मानसरोवरबाट कैलाश पर्वतको दृश्यलाई मन–मस्तिष्कमा र प्रविधिमा राख्दै ७ गते मानसरोवरको किनारमा पूजापाठ आदि धार्मिक कार्य समाप्त गरी ४७०० मिटर उचाइमा रहेकोे दार्चेन सहरमा बास बसियो । दार्चेन तिब्बतको सानो र कैलाश पर्वतको बेसक्याम्पजस्तै पर्यटकीय नगरी रहेछ । 

८ गते सबै तीर्थयात्री मोटरबाटै यमद्वारसम्म गइयो । यमद्वार भनेको सानो बौद्धस्तुप, त्यसको बीचमा मान्छे छिर्न हुने गरी बनाएको स्तुप रहेछ । यमद्वारको पश्चिमी साइडबाट कैलाशबाट आएको सानो हिमनदी बग्ने रहेछ । परिक्रमा नगर्ने यात्रीले त्यस हिमनदीमा स्नान र तर्पण गरी फर्कने रहेछन् । हामीले पनि स्नान र तर्पण गरियो । 

मानसरोवरबाट कैलाश हेर्दै जाँदा देखिने भाग कैलाश पर्वतको दक्षिणी मोहडा रहेछ । दार्चेनबाट यमद्वारसम्म पुग्दा कैलाशको पश्चिम मोहडामा पुगिने रहेछ । यमद्वारबाट देरापुक ( ४९०० मिटर उचाइ) पुग्दा पर्वतको उत्तरी भागको सबैभन्दा नजिक पुगिने रहेछ । यही स्थानबाट बिहानमा सूर्यको पहिलो किरण कैलाश पर्वतमा पर्दा पहेँलो देखिने रहेछ । हाल सबैले प्रचार–प्रसार गर्ने कैलाश पर्वतको पहेँलो दृश्य भएको टाकुरा त्यही समयको प्रकृतिको सौगात रहेछ । डोल्माला पास (५६३३ मिटर उचाइ) पार गरेपछि जुतुल्पुक र गौरी कुण्ड ( ४७९० मिटर उचाइ) पूर्वी मोहोडाको दृश्य देखिने रहेछ । 

यमद्वारको पूजा र कैलाशको दर्शनपछि तीर्थयात्री तीन भागमा विभाजन हुने रहेछन् । उमेर वा अन्य स्वास्थ्य कारणले गर्दा कतिपय तीर्थयात्री त्यहीँबाट फिर्ता हुने रहेछन् । केही यात्री यमद्वारबाट १२ किलोमिटर हिँडेर ४९०० मिटर उचाइमा रहेको देरापुकसम्म पुग्ने रहेछन् । कोही त्यहाँबाट बेलुका, राति वा भोलिपल्ट बिहान फर्कन्छन् । केहीले मौसम सफा भएको अवस्थामा कैलाशको पूरा परिक्रमा गर्छन् । 

हाम्रो टिममा पनि त्यही भयो । हाम्रो टिमबाट पनि मात्र १० तीर्थयात्रीले कैलाश पर्वत परिक्रमा गरे । आषाढ ८ र ९ गते कैशाल परिक्रमा गर्ने यात्री देरापुक र डोल्माला भञ्ज्याङ (५,६३३ मिटर उचाइमा अवस्थित) पार गरी जुतुल्पुक (४७९० मिटर उचाइमा अवस्थित)मा बास बसी १० गते बिहान पुनः दार्चेन आइपुगे । परिक्रमा टोली दार्चेन आइपुगेर ब्रेकफास्ट गरेपछि हाम्रो टिमको फिर्ती यात्रा सुरु भयो ।

टोलीलाई व्यवस्थित हिसाबले सञ्चालन गर्न होलिडेका नेपाली अनुभवी र कुशल गाइड मनोज तामाङले धेरै सहयोग गरे । त्यहाँ जान नेपाली गाइड मात्र होइन चाइनिज गाइड जिग्मे र ड्राइभर सोनाले उत्तिकै सहयोग गरे । जिग्मे, ठट्टयौलो पाराको मानिस रहेछ । ल्हासामा बस्ने र धेरै समय भारतीयलाई गाइड गरेको हुनाले उनी धेरै हिन्दी र थोरै नेपाली बोल्थे । उनले सुरुमै चाइनाको अध्यागमनदेखि नै सहयोग गरे, पछि फिर्ता हुँदा पनि चाइनाको अध्यागमन पार गराउन मद्दत गरे । होलिडेले तीर्थयात्रा समाप्तिको अवसरमा तीर्थयात्रीको आ–आफ्ना धारणा र अनुभवलाई भिडियोमा लिएको थियो । सोमध्येको एक भिडियो क्लिपलाई एक मिनेटको टिकटिक बनाएर आफ्नो वेबसाइटमा सार्वजनिक पनि गरेको थियो । 

358784044_1290811461528812_1948532125105888918_n

होलिडे व्यवस्थापन प्रमुख वसन्त बराल र अफिसमा काम गर्ने स्टाफहरूको लगनशीलताले हाम्रो यात्रा सरल रूपले सफल भयो । यस यात्राका लागि प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ खर्च लाग्यो । पहिले हामीलाई सो रकम महँगो लागेको थियो तर होलिडेले गरेको व्यवस्थापनलाई हेर्दा ठिकैजस्तो लाग्यो । व्यवस्थापनले तीर्थयात्रीलाई टोपी, पछाडि भिर्ने सानो झोला, सामान राख्ने ठूलो झोला र ज्याकेट दिएको थियो । टिमुरेमा आएपछि ज्याकेट फिर्ता गरियो र अरु सामान तीर्थयात्रीलाई उपहारस्वरूप दिइयो । ज्याकेट मात्र फिर्ता गर्ने कुरा पहिला नै जानकारी गराइएको थियो ।

टोली लिएर जाँदा खाना पकाउने र दिनको चारपटक खाना खुवाउने व्यवस्था गर्न ६–७ जना कुक जाने रहेछन् । कैलाश मानसरोवरको सबैभन्दा ठूलो चुनौती नै लेक लाग्नु वा हाइअल्टिच्युड हो । यसका लागि कुकहरूले टिमुरेबाट यात्रीलाई हरेक छाक खाना खाएपछि हाइअल्टिच्युडको औषधि खुवाए । यसले गर्दा हाम्रो टिमको यात्रीमा खासै केही समस्या परेन । हाइअल्टिच्युडसम्बन्धी घरेलु औषधि यात्री आफैँले पनि लिएर गएका हुन्छन् । ती घरेलु औषधिमध्ये कपुरलाई कपडामा पोको पारेर रुघाको औषधि सुँघेझैँ सुँघ्दा उचाइलाई फाइदा गर्दो रहेछ । हाम्रो टिममा यसलाई धेरैले प्रयोग गरे ।

358836372_6223161957782464_5139904179683943551_n

पहिला भारतीय तीर्थयात्रीलाई पनि कैलाश मानसरोवर यात्रानुमति दिने गरिएको थियो, हाल सो व्यवस्था बन्द गरिएको रहेछ । नेपाली तीर्थयात्री मात्र भएकाले त्यस क्षेत्रमा भिडभाड थिएन ।

काठमाडौंदेखि नेपालको टिमुरेसम्म हामी नेपालकै बसमा गयौँ । चीनको अध्यागमनबाट चिनियाँ बसले मानसरोवरको किनारसम्म पुर्‍यायो । त्यसपछि अर्को चिनियाँ बसले मानसरोवर परिक्रमादेखि दार्चेन र यमद्वारसम्म पुर्‍याइ त्यहाँबाट फिर्ता गरी मानसरोवरकै किनारसम्म ल्यायो । त्यसपछि पहिलाकै बसले १० गते साँगा, भोलिपल्ट बिहान केरुङका लागि प्रस्थान भयो र १२ गते केरुङ हुँदै टिमुरेमा चिनियाँ अध्यागमनको काम सकेर नेपाल प्रवेश गरियो । नेपाल प्रवेशपछि पनि अध्यागमनको काम सकेर नेपाली बसले काठमाडांैसम्मको यात्रा पूरा गरायो । यसरी हाम्रो कैलाश मानसरोवर तीर्थयात्रा पूरा भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप