मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकारको आत्महत्या

अधुरै रह्यो सारुकको निर्देशन सपना

शुक्रबार, २२ असार २०८०, १५ : ०६
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । ‘म केही सर्ट फिल्म बनाउन चाहन्छु’ अभिनेता सारुक ताम्राकारले केही वर्ष अगाडि एक अन्तर्वार्तामा भनेका थिए । सारुकको अभिनयको साथसाथै निर्देशनमा रुचि थियो । 

उनी सर्ट फिल्मबाट निर्देशनमा डेब्यु गर्न चाहन्थे । अफसोस, सारुकको निर्देशन सपना अब कहिल्यै पुरा हुने छैन । किनभने बिहीबार साँझ उनी अनन्त यात्रामा निस्किए ।

बिहीबार बिहान ४ बजेसम्म फिल्म ‘ह्यासट्याग माया’को सुटिङ गरेर घर फर्किएका सारुकले साँझ रातोपुलस्थित निजी निवासमा आत्महत्या गरेका हुन् । आफन्तले उनलाई आफ्नै घरको सिडिमा घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए । सारुकको निधनले फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उनलाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए ।

राम्रा कलाकार थिए

सारुक पुराना अभिनेता सानु ताम्राकारका छोरा हुन् । बुबाको पदचाप पछ्याउँदै अभिनयमा भित्रिएका उनी सफल अभिनेता तथा निर्देशक बन्ने लक्ष्य राख्थे ।

करिब ७ बर्ष अगाडि दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’बाट सारुकले अभिनेताको रूपमा डेब्यु गरेका थिए । ‘रानी’ व्यावसायिक रूपमा असफल भए पनि अभिनयबाट भने उनले राम्रो तारिफ पाएका थिए ।

सारुक अभिनेताको रूपमा परफेक्ट व्यक्ति भएको निर्देशक दयाराम दाहालले बताए । ‘उनको क्षमता र कलाकारिता प्रतिको लगाव एकदमै राम्रो थियो । त्यही कारण मैले फिल्म ‘रानी’मा ब्रेक दिएको थिए’, दाहालले भने ‘अभिनेता सरोज खनालपछि अभिनयमा राम्रो कलाकार मैले उनलाई भेटे ।’ अभिनय प्रति सधैँ सिरियस, बोली र व्यवहार राम्रो सारुकको निधनको खबर आफूले पत्याउन नसकिरहेको दाहालले सुनाए ।  

‘रानी’ पछि ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा काम गरेका छन् उनले । ‘इन्टु मिन्टु लन्डनमा’ फिल्म रिलिज हुन बाँकी छ । अहिले उनी अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘ह्यासट्याग माया’ अभिनयरत थिए । फिल्ममा उनको मुख्य भूमिका थियो । करिब ३० प्रतिशत छायाङ्कन सकिएको फिल्मको उनको पाट भने २५ प्रतिशत मात्र सकिएको छ ।

सारुक मिठो बोल्ने, सरल र मिलनसार व्यवहारको रहेको  फिल्म ‘ह्यासट्याग माया’ युनिटका प्रोडक्सन सदस्य दीलिप पन्तले बताए । ‘सबैसँग राम्रो बोल्थे । रियलमा पनि हिरो लाग्थे’, पन्तले थपे ‘उनले यस्तो निर्णय लेलान् भनेर कसैले कल्पना पनि गर्न सक्दैन ।’ बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर फर्किएको उनले सुनाए ।

साथी सानु ताम्राकारको छोरो भएकोले सारुकलाई कलाकार तथा कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले पनि राम्रोसँग चिन्थे ।  उनी भलाद्मी खालको भएको निरौलाले बताए ।

‘मलाई थाहा भएसम्म उ कुनै कुलतमा पनि थिए । आनीबानी पनि राम्रो थियो । फुर्तीफार्तीे पनि केही गर्दैन थियो’, निरौलाले थपे ‘अभिनयमा पनि अब्बल थियो ।’ ‘भविष्यमा कला क्षेत्रमा राम्रो गरेर ठुलो मान्छे बन्ने सबै गुण उनमा थियो’ निरौलाले थपे ।

किन रोजे अभिनय ?

सारुक अविवाहित थिए । उनको बाहिरी वा फिल्म क्षेत्रको व्यक्ति कुनैसँग लभ अफेयर्सको गसिप पनि बनेको छैन । कलाकार मोहन निरौला पनि उनको प्रेम अहिलेसम्म आफूलाई थाहा नभएको बताउँछन् ।

अभिनयसँगै फोटोग्राफीमा उनको सोख थियो । सामाजिक सञ्जालमा उनको फोटोग्राफी कौशल देख्न सकिन्थ्यो । फोटोग्राफी सिक्न र बुझ्नका लागि केही समय उनले तालिम समेत लिएको बताइन्छ । 

फिल्म मेकिङप्रति पनि उनको रुचि थियो । अभिनय भन्दा अगाडि उनले सर्ट फिल्म ‘इन ट्रान्समिसन’मा ‘असिस्टेन्ट डाइरेक्टर’ र सम्पादकको रूपमा काम गरेका थिए । उक्त सर्ट फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा राम्रो चर्चा पाएको थियो ।

उक्त सर्ट फिल्मका कारण उनले बुबा (कलाकार सानु ताम्राकार)ले बाट निकै प्रशंसा पाएका थिए । त्यसबाट नै उनको अभिनयमा मोह पलाएको थियो । यो कुरो उनले एक अन्तर्वार्तामा समेत बताएका थिए । 

उनले भनेका थिए, ‘बुबाले सर्ट फिल्म हेरेपछि स्याबासी दिँदै काँधमा धाप मार्नु भएको  क्षण जीवनकै खुसीको क्षण हो । त्यसैले पनि मैले अभिनय रोजे ।’

चुनौतीपूर्ण अभिनय रुचाउँथे 

साम्तेन भुटिया निर्देशित फिल्म ‘त्यान्द्रो’मा सारुक ‘असिस्टेन्ट डाइरेक्टर’ थिए । उनको लगनशीलता देखेर निर्देशक भुटियाले ‘त्यान्द्रो’मा आफ्नो ‘असिस्टेन्ट’ राखेका थिए । उनी पहिले सर्ट फिल्म र त्यसपछि ठुलो फिल्म निर्देशन सोच राख्थे ।

अभिनयमा फरक फरक भूमिका निर्वाह रुचाउने उनको रोजाई चुनौतीपूर्ण भूमिकामा पर्थ्यो । ‘रानी’मा लभर ब्वाई, ‘मेरी मामु’मा पिताको भूमिकामा देखिएका उनको ‘इन्टु मिन्टु लन्डनमा’मा आर्मीको भूमिका छ । छायांकनरत फिल्म ‘ह्यासट्याग माया’मा उनको भूमिका बाहिर ल्याइएको छैन ।

फिल्मको नाम ‘ह्यासट्याग माया’ भएकोले उनको भूमिका लभर ब्वाईकै रहेको अनुमान गरिन्थ्यो ।

उनी फिल्ममा रकस्टारको भूमिका समेत निर्वाह गर्न चाहन्थे । किनभने उनी रकस्टार रुचाउँथे ।

‘नेपालमा गिटार बजाएपछि रकस्टार भइन्छ भन्ने सोचिन्छ । तर त्यो मात्रै हैन’ उनी भन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप