‘लिभिङ टुगेदर’को कानुन किन ?
पुरुष र महिलासँगै बस्न वा प्रेम र यौन सम्बन्ध कायम गर्न विवाह नै गर्नुपर्छ भन्ने पुरानो मान्यताबाट उठेर स्वछन्द जीवन जिउनका लागि विश्वमा ‘लिभिङ टुगेदर’ वा ‘लिभ इन् टुगेदर’ संस्कृति बढ्दै गएको छ । पश्चिमा देशमा प्रचलित यो संस्कृति अचेल नेपालमा अभ्यास हुन थालेको छ ।
हाम्रो सर्वोच्च अदालतले २०५५ सालमै ‘अन्नपूर्ण रानाविरुद्ध गोरखशमशेर जबरा’को मुद्दामा उदार भएर फैसला गरेको छ, ‘कुमारित्व कायम राख्ने वा स्वछन्द भएर आफूले मन परेको मानिससँग यौन सम्पर्क राख्दै जाने भन्ने कुरा आफ्नो निजी आचरणको कुरा हो । कसैले खुलस्त भएर यस्तो आचरण गरी हिँड्छन्् भने कसैले लुकिछिपी गोप्य रूपमा गर्छन् । त्यस्तो यौन सम्पर्क भयो भन्दैमा महिलाको कानुनी स्थितिमा खास परिवर्तन हुन सक्दैन ।’
यद्यपि विवाहपूर्व भएको यौन सम्बन्ध, त्यसबाट जन्मिएको बच्चा र त्यो बच्चाले कसरी नागरिकता प्राप्त गर्ने भन्ने विषयमा हाम्रो कानुन अझै अस्पष्ट छ । लिभिङ टुगेदरलाई लिएर हामीकहाँ केही आत्महत्यासम्मका घटना भएको पाइन्छ । हामीकहाँ लिभिङ टुगेदरको कानुन नहुँदा खासगरी महिला पीडित छन् । सँगै बस्दा जन्मेको बच्चालाई कानुनी अधिकार दिन समस्या भइरहेको छ । त्यसैले कतिपयले गर्भपतन गर्नुपर्ने हुन्छ । यसले महिलाको स्वास्थ्यमा असर पर्छ नै सँगसँगै मानसिक तनाव समेत झेल्नुपर्छ ।
विवाहेत्तर सम्बन्धमा रहेर पनि परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्ने, तर विधिवत् विवाह नगर्ने घटनामा न बहुविवाहमा मुद्दा हाल्न मिल्छ, न लिभिङ टुगेदरको स्पष्ट कानुन छ, न त घरेलु हिंसाले नै समेट्छ । यसलाई कसरी कानुनी दायरामा ल्याउने भन्ने समस्या एकातिर छ, अर्कोतिर यौन सम्बन्धकै लागि नजिकिने र इच्छा पूरा भएपछि छाडिदिने घटनाले विशेषगरी महिला पीडित छन् । त्यसैले अब लिभिङ टुगेदरसम्बन्धी कानुन बनाउन अपरिहार्य भइसकेको छ ।
हाम्रै छिमेकी देश भारतमा कुनै पनि कानुनले लिभिङ टुगेदरको स्टाटसलाई सम्बोधन गरेको छैन, तर त्यहाँको अदालतले एक कदम अगाडि बढेर यसलाई स्पष्ट पारिदिएको छ ।
‘बद्री प्रसाद भर्सेज डेपुटी डिरेक्टर अफ् कन्सोलिडेसन’को मुद्दामा भारतको सर्वोच्च अदालतले पहिलोपटक ५० वर्षको लिभिङ टुगेदर सम्बन्धलाई वैधता दिँदै ‘महिला र पुरुष लामो समयसम्म पति–पत्नीका रूपमा सँगै बस्छन् भने अन्यथा प्रमाणित नभएसम्म कानुनी रूपमा विवाह भएको मानिनेछ’ भनेको छ ।
अल्लाहावाद उच्च अदालतले ‘पायल कटारा भर्सेज सुपरिन्टेन्डेन्ट, नारी निकेतन एन्ड अदर्स’ मुद्दामा फैसला गरेको छ, ‘कुनै महिला र पुरुषले आफ्नो इच्छा बमोजिम विवाह नगरे पनि सँगै बस्न सक्छन् । समाजका लागि यो अनैतिक मानिए पनि गैरकानुनी भने छैन ।’
यस्तै, ‘एस. खुश्बू भर्सेज कन्निएम्मल एन्ड एएनआर’को मुद्दामा पनि अदालतले लिभिङ टुगेदर अनैतिक मानिए पनि गैरकानुनी नभएको भन्ने आसयको फैसला गरेको छ । त्यस्तै ‘पटेल एन्ड अदर्स’को मुद्दाको फैसलामा भनिएको छ, ‘विवाहविना दुई वयस्कबीचको ‘लिभ इन रिलेसनसिप’लाई अपराध मान्न सकिँदैन । यसलाई गैरकानुनी भनेर कुनै कानुनले करार गरेको छैन ।’
विवाहेत्तर सम्बन्धमा रहेर पनि परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्ने, तर विधिवत् विवाह नगर्ने घटनामा न बहुविवाहमा मुद्दा हाल्न मिल्छ, न लिभिङ टुगेदरको स्पष्ट कानुन छ, न त घरेलु हिंसाले नै समेट्छ ।
‘वर्षा कपूर भर्सेज युनियन अफ् इन्डिया’ मुद्दामा दिल्ली उच्च अदालतले लिभिङ रिलेसनमा बस्ने महिलालाई आफ्नो पुरुष पार्टनरका साथै उसका आफन्तविरुद्ध पनि उजुरी गर्ने अधिकार दिएको छ ।
बेलायतमा सम्बन्धविच्छेद गर्दा विवाहित जोडीलाई दिइने ‘फाइनान्सियल अर्डर’ लिभिङ टुगेदरमा बस्ने जोडीमा लागू हुँदैन । त्यसैले बेलायतमा लिभिङ रिलेसनमा बस्ने प्रायःले ‘कोह्याबिटेसन एग्रिमेन्ट’ गर्छन्, जुन त्यहाँको कानुनी कागजात हो, जसले जोडी सँगै रहँदाको अवस्थामा र सम्बन्ध टुटिसकेको अवस्थामा पनि अधिकार र कर्तव्य निर्धारण गर्छ । जस्तै ः लिभिङ एक्सपेन्सेस, बैंक ब्यालेन्स, सम्पत्ति बाँडफाँड, बच्चाको हेरचाह आदि ।
इंग्ल्यान्ड र वेल्समा अविवाहित बुबाले उसको बच्चाका लागि तीन अवस्थामा अभिभावकीय जिम्मेवारी पाउँछन् : १) डिसेम्बर १, २००३ यता आमासँग संयुक्त रूपमा बच्चाको जन्मदर्ता गरेको छ भने, २) आमासँग ‘प्यारेन्टल रेस्पोन्सिबिलिटी एग्रिमेन्ट’ गरेको छ भने, ३) अदालतबाट प्यारेन्टल रेस्पोन्सिबिलिटी अर्डर’ आयो भने ।
स्कटल्यान्डमा ४ मे २००६ यता भएको बच्चाको जन्मदर्तामा अविवाहित बुबाको नाम उल्लेख छ भने उसले ‘प्यारेन्टल रेस्पोन्सिबिलिटी’ पाउँछ । यस्तै, १५ अप्रिल २००२ यता बच्चाको जन्मदर्तामा अविवाहित बुबाको नाम राखेको छ भने उसको अभिभावकीय जिम्मेवारी रहन्छ ।
क्यानडामा लिभिङ रिलेसनलाई ‘कमन ल रिलेसनसिप’को रूपमा वैवाहिक सम्बन्ध बराबर मान्यता दिइएको छ । त्यहाँ केही समयावधि (लगभग दुई वर्ष) लिभिङमा सँगै बसेपछि कानुनतः ‘कमन ल रिलेसन’को रूपमा वैधानिकता दिइन्छ । समयावधि भने प्रान्त अनुसार फरक हुन सक्छ ।
अमेरिकामा लिभिङ टुगेदरलाई अपराधीकरण वा गैरकानुनी गर्ने कुनै संघीय कानुन छैन । अविवाहित जोडीले एग्रिमेन्ट गरेर वा नगरी बस्न सक्छन् । त्यहाँको प्रान्तीय कानुनले भने फरक पार्न सक्छ ।
फ्रान्समा लिभिङ टुगेदर स्वतः वैवाहिक सम्बन्ध बराबर नभए पनि लिभिङ रिलेसनका जोडीले ‘फ्रेन्च ल’ले मान्यता दिएको ‘सिभिल सोलिडारिटी प्याक्ट’मा साइन गरेर आफ्नो हक–अधिकार सुरक्षित गर्न सक्छन् ।
यसरी विश्वमा ‘लिभ इन टुगेदर’लाई कानुनी दायरामा ल्याएर सम्भावित घटना र क्षतिबाट न्यायको सुनिश्चितता गर्ने अभ्यास भइरहेको छ । हामीले पनि ‘लिभिङ टुगेदर’लाई वैधानिकता दिँदै नियमन गर्न जरुरी छ । अब ढिला भैसक्यो । त्यति अबेर पनि नहोस् कि रात परेपछि सलाई खोज्न बिहान कुर्नुनपरोस् ।
(लेखक नेसनल ल कलेजमा बिएएलएलबी फोर्थ सेमेस्टरमा अध्ययनरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताइवानलाई अमेरिकी सहयोगपछि चीनले भन्यो- अमेरिका आगोसँग खेलिरहेको छ
-
पहिलो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोलीको शानदार जित
-
अल्लु अर्जुनको घरमा आक्रमण
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’