कविता: अभिनय
-समर्पित प्रकाश
मैले बच्चैबाट सिकेको हुँ
ऊ मेरी दुलही
र म उसको दुलहा बनेर
घरकुटी खेल्न
हामी दिनभर लोग्ने स्वास्नी बन्थ्यौँ
र साँझ सबै नाता बिर्सेर घर फिथ्र्यौँ
आखिर जिन्दगी पनि त त्यस्तै रैछ
अभिनय
त्यसैले मैले बच्चैबाट सिकेको हुँ
अभिनय
स्कुलमा सरले भन्नुहुन्थ्यो
‘यो केटो त साह्रै सोझो,
घ्यु जस्तो, कपास जस्तो’
तर तिनीहरूले कहिल्यै देखेनन्
मभित्रको रत्नाकर
कि त कहिल्यै सोचेनन्
घ्युमा कति चाँडो सल्किन्छ,
र कपासमा कति चाँडो फैलिन्छ भनेर
आगो,
म प्रलय बनेर हुर्किरहेथेँ तब,
कसैलाई पत्तै भएन
सोझो भएको गरिरहेथेँ
अभिनय
त्यसैले मैले बच्चैबाट सिकेको हुँ
अभिनय ।
फलानो कति पटक
फलानीको प्रेममा परी
मेरो ढिस्कानो साथीलाई
सब थाहा छ
मैले पनि कतिलाई
यादै छैन
मनमा सजाएँ,
तर अहँ
गरिरहेँ
घमन्डी र अन्तरमुखी भएको
अभिनय
मभित्रको प्रेमी मरेर
कहिले कवि भयो
कसैलाई थाहै भएन
त्यसैले मैले बच्चैबाट सिकेको हुँ
अभिनय
अचेल पनि मलाई
यो समाज
संस्कारी, सहयोगी, सद्धे
सुयोगी, सहनशील, सभ्य
भएको भ्रम पालिरहेछ,
तर मभित्र त छ यौटा दानव,
राक्षस, जङ्गली, महिषासुर
छुँ त केवल गरिरहेको
अभिनय,
यौटा सामाजिक प्राणीको
मैले बच्चैबाट सिकेको हुँ
गर्न अभिनय ।
-कीर्तिपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस