चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था व्यापार तथा मानवअधिकार संसाधन केन्द्रले बिहीबार जारी गरेको एक प्रतिवेदनअनुसार जनवरी २०२१ र डिसेम्बर २०२२ को बीचमा ती देशमा एक सय भन्दा बढी मानवअधिकार र वातावरणीय दुरुपयोग गरेको पाइएको छ । तामा, निकेल र कोबाल्टलगायत नवीकरणीय ऊर्जामा उपयोग हुने महत्वपूर्ण खनिजको उत्खनन र प्रशोधनमा प्रभुत्व जमाएका चिनियाँ कम्पनीले इन्डोनेसिया, पेरु र प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता स्रोतसाधन सम्पन्न देशमा मानवअधिकार र वातावरणीय दुरुपयोग गरेको आरोप प्रतिवेदनमा लगाइएको छ । केन्द्रमा चिनियाँ कम्पनीविरुद्ध एक सय दुईवटा मानवअधिकार उल्लङ्घन र वातावरणीय दुरुपयोगका उजुरी परेका तथा तीमध्ये एक चौथाईभन्दा बढी इन्डोनेसियामा भएका जनाइएको छ ।
“हाम्रो अध्ययनले खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र निकासीका क्रममा मानव अधिकार र वातावरणीय दुरुपयोग भएको देखाएको छ,” उक्त गैरसरकारी संस्थाका प्रवक्ताले चिनियाँ कम्पनीले इन्डोनेसियामा २७, पेरुमा १६, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १२, म्यानमारमा ११ र जिम्बाब्वेमा सात वटा उल्लङ्घन घटना अभिलेख गरिएको जनाउँदै भनेका छन् ।
इन्डोनेसियामा वातावरणीय क्षति र गरीब कामदारहरूको शोषण गरिएको आरोप छ । बिजुली ब्याट्री उत्पादन गर्ने कम्पनीहरूले प्रदूषण बढाएका तथा कामदारलाई न्यूनतम सुविधा नदिँदा मजदुर र लगानीकर्ताबीच तनाव बढाएको प्रतिवेदनमा उल्लेख छ । उत्खनन कम्पनीका कारण वातावरणीय नोक्सानी बढेको, खानीबाट उत्पन्न हानीकारक तत्वले स्थानीय समुदाय प्रभावित भएका, जल प्रदूषण बढ्नाले वन्यजन्तुमा असर पर्नाका साथै स्वच्छ पानीमा मानिसको पहुँच रोकिएको प्रतिवेदनमा भनिएको छ ।
उक्त संस्थाले चिनियाँ व्यवसाय र नियामकलाई मानवअधिकार र वातावरणीय दुरुपयोग हुन नदिन, कामदारलाई आधारभूत सुविधा उपलव्ध गराउन तथा वातावरणीय हानी कम गर्ने उपाय तत्काल अवलम्बन गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय
-
गुणस्तरीय पानी वितरणका लागि अब क्लोरिनेसन अनिवार्य
-
उत्तर कोरियाले रुसमा पठायो थप सेना
-
काठमाडौँको वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरूलाई एकैसाथ शपथ गराउँदै रास्वपा
-
कानुन धेरै भएर देशको विकास हुन सकेन : गगन थापा