बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
योगमाया स्मृति दिवस

८२ वर्षअघि आजकै दिन योगमायासहित ६८ जनाले अरुण नदीमा किन फाल हाले ?

शुक्रबार, २२ असार २०८०, ११ : २५
शुक्रबार, २२ असार २०८०

आजकै दिन अर्थात् वि.सं. १९९८ असार २२ गते एकादशी तिथिमा ६८ जनाले अरुण नदीमा जलसमाधि लिएका थिए, जसको नेतृत्व योगमाया न्यौपानेले गरेकी थिइन् । यो उनीहरूको विद्रोह थियो ।

समाजमा व्याप्त विकृति–विसङ्गतिको विरोध गर्दै आएकी योगमायाले वि.सं. १९९३ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरसँग समाज सुधारका लागि २६ बुँदे माग पेस गरेकी थिइन् । महिला र पुरुषलाई समान अधिकार दिनुपर्ने, जातीय विभेद हट्नुपर्ने, धार्मिक राज्य हुनुपर्ने, सरकारी अफिसमा घुस खान बन्द गर्नुपर्ने, जङ्गल काट्न नपाइने, साहुहरूले मानापाथीबाट गर्ने शोषण बन्द गर्नुपर्ने आदि उनका माग थिए । 

तत्कालीन समाज र प्रशासनमा रहेका विकृति र विसङ्गतिविरुद्धको उनको आवाज कविता कवितामार्फत समेत प्रकट भएका छन् ।

महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।

दुःखी जनले नियानिसाफ सिधा पाउँदैनन् ।।

जागिरदार लोभी छन् न्याय हेर्दैनन् ।

मर्नुपर्ने शरीर हो विचार गर्दैनन् ।। 

(योगवाणी, १५१–१५२)

नारीवादी अभियन्ता योगमायाले राणाशासकसमक्ष राखेका माग सुनुवाइ भएनन् । राणाहरू दरबारिया सुखभोग र सत्ता किचलोमै अभ्यस्त थिए । स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ भन्छन्, ‘समाज सुधारका लागि राणासामु राखेका २६ बुँदे माग पूरा नभएपछि उनीसहित २४० जनाले अग्नि दाह गर्न खोजेका थिए, तर राणाहरूले थाहा पाएपछि पुलिस लगाएर त्यसलाई बिथोलेका थिए ।’

काठमाडौँ आएर राणा शासकसँग वार्ता, तर्क गर्नु चानचुने कुरा थिएन । आफ्ना मागको कुनै सुनुवाइ नभएपछि विद्रोह स्वरूप उनले जलसमाधि लिने निर्णय गरिन् । महिला, बच्चा तथा पुरुष समेत उनका अनुयायी भए । 

योगमायाको जीवनीमा आधारित उपन्यास लेख्ने उपन्यासकार नीलम कार्की निहारिकाका अनुसार, नारीसहित सबै जातिले वेद पढ्न पाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, बालविवाह प्रथा बन्द गर्नुपर्ने, नारीको इच्छा बेगर सौता हाल्न नपाइने, विधवाले चाहेमा बिहेको स्वीकृति दिनुपर्ने जस्ता माग योगमायाले उठाएकी थिइन् । यति मात्र होइन, उनले घुसखोरी र न्यायको किनबेच अन्त्य हुनुपर्ने, गरिबलाई भूदान, धार्मिक शोषण तथा गरुड पुराण लाउन बन्द गर्नुपर्ने, चक्रवर्ती ब्याज हट्नुपर्ने, सरल र सुलभ न्याय निसाफको व्यवस्था हुनुपर्ने निरन्तर आवाज उठाएकी थिइन् ।

अन्त्य कालमा त्यो घुसले फटाउला धाँजा ।

बडो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा ।।

अहिले मात्र पचेको छ भरे पच्ने छैन ।

सम्झी राख सत्य वचन् झुट्टा हुने छैन ।। 

(योगवाणी, २४)

भोजपुरको मझुवाबेँसी (हाल : षडानन्द नगरपालिका–१, नेपालेडाँडा सिम्ले)मा वि.सं. १९२४ असारमा जन्मिएकी योगमायामा समाज सुधारक चेतको विकास तत्कालीन समाजले नारी र दलितलाई गर्ने विभेदबाट भएको देखिन्छ । सात वर्षको उमेरमा उनको विवाह मनोरथ कोइरालासँग भएको थियो । कलिलै उमेरमा बुहार्तन सम्हाल्न नसकेकाले उनी बिहेलगत्तै माइतीमा बस्दै आइन् । यहीबीचमा कँडेल थरका व्यक्तिसँग उनी प्रेममा परिन् र भारतको आसाम गएर १३ वर्षको उमेरमा पुनः विवाह गरिन् । कँडेलको देहान्त भएकाले उनी पुनः नेपाल फर्किन् र एक डोटेल थरका व्यक्तिसँग विवाह गरिन् । 

योगमाया निरक्षर भए पनि धाराप्रवाह कविता भन्न र कवितामै कुराकानी गर्न सक्थिन् । आसाम गएपछि उनले विभिन्न प्रवचन सुन्ने अवसर पाएकी थिइन् । ती प्रवचनको प्रभावका कारण उनले निर्गुण भक्तिधाराका कविता रचना गर्न थालिन् । पछि उनी जोसमनी परम्पराकी अनुयायी बनिन् । आसामबाट नेपाल आएर उनले विभिन्न गुफामा ध्यान र तपस्या पनि गरिन् । 

समाज सुधारका लागि राणासामु राखेका २६ बुँदे माग पूरा नभएपछि उनीसहित २४० जनाले अग्नि दाह गर्न खोजेका थिए, तर राणाहरूले थाहा पाएपछि पुलिस लगाएर त्यसलाई बिथोलेका थिए ।

तत्कालीन समयमा नेपाली समाज रूढिवादी विश्वासले गाँजिएको थियो, बालविवाह व्याप्त थियो । विवाहको अर्थ र औचित्य बुझ्न नसक्ने अवस्थामै उनको बालविवाह भएको थियो । पछि उनले आफूलाई मन पर्नेसँग विवाह गरेर विद्रोह गरिन् । त्यसपछि विधवा भइत् तर पुनः विवाह गरेर उनले अर्को विद्रोह गरिन् । 

तत्कालीन समयमा विद्यमान अन्धविश्वासलाई चिर्न र विभेदकारी परम्परालाई चुनौती दिनै उनले विवाह गरेकी थिइन् ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान

भोजपुरकै साहित्यकार पवन आलोकले योगमायाको सधैँ चर्चा हुने वातावरण बनाएका छन्, अर्थात् योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान स्थापना गरेका छन् । स्रष्टा समाज स्थापना भएपछि समाजका महासचिव रहेका आलोकले २०६४ सालमा यो पुरस्कार स्थापना गरेका हुन् । 

‘योगमायाजस्तो व्यक्तित्व र योगदानलाई अझ उजागर गरौँ, त्यो व्यक्तित्व ओझेलमा प¥यो । योगमायाले उचित स्थान पाउनुपर्छ भनेर यो पुरस्कार स्थापना गरिएको हो,’ आलोक भन्छन्, ‘पुरस्कार स्थापना गर्दा सुरु–सुरुमा धेरैले तपाईंकी आमा हुन् कि हजुरआमा हुन् भनेर प्रश्न गरे ।’ 

योगमाया जन्मेकै गाउँ र आलोक गाउँ एउटै हो । आलोकले योगमायाका बारेमा सानैदेखि सुन्दै आएका थिए । योगमायाको साहित्यिक व्यक्तित्वको सम्मानकै लागि आफूले पुरस्कार स्थापना गरेको आलोक बताउँछन् । ‘उहाँ पहिलो नारी कवि हो । सन्त कवि भने पनि भयो,’ आलोक भन्छन्, ‘निरक्षर भएर पनि उहाँको सर्वार्थ योगवाणी भन्ने कृति प्रकाशित छ । उहाँको आँसु कवित्वलाई स्वामी प्रेमनारायणले लिपिबद्ध गर्नुभएको हो ।’ 

योगमायालाई समाज सुधारक महिला, पहिलो नारी कवि, मानव सेवा धर्मकी योद्धाका रूपमा हेर्छन् उनी । स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ भन्छन्, ‘योगमाया र आलोकजी दुवै भोजपुरे हुनु एउटा संयोग भयो, तर योगमायाको योगदानबाट प्रभावित भएरै र त्यसको कदर गर्न यो पुरस्कारको स्थापना गरिएको हो ।’ 

अहिलेसम्म यो पुरस्कारबाट १६ जना नारी स्रष्टा सम्मानित भइसकेका छन् । पहिलोपटक २०६५ सालमा यो पुरस्कार रमा शर्मालाई प्रदान गरिएको थियो । त्यसपछि अङ्गुरबाबा जोशीलाई, २०७८ मा हिरण्यकुमारी पाठकलाई, २०७९ सालमा रुकु कार्कीलाई प्रदान गरियो । २०८० को सम्मान पोषणविद् डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय भएको आलोकले बताए ।

‘यो पुरस्कार सुरुमा १५ हजार राशि र सम्मानपत्र थियो, तर अहिले यो राशि २५ हजार १११ रुपैयाँ पुगेको छ,’ आलोक भन्छन्, ‘यो राशि आगामी वर्षदेखि बढाउने छौँ ।’ सुरुमा आलोक आफँैले दुई लाख रुपैयाँ अक्षयकोष स्थापना गरेका थिए । पछि पहिलो सम्मानित व्यक्तित्व रमा शर्माले सो कोषमा एक लाख रुपैयाँ थपेर तीन लाख रुपैयाँ बनाइएको हो । 

‘यो पुरस्कारको स्थापना भएपछि हरेक वर्ष उनका बारेमा चर्चा–परिचर्चा गर्ने प्लाटफर्म जस्तो पनि भयो,’ उनी भन्छन्, ‘योगमाया दिवस मनाउन थालेको मैले नै हो ।’

स्रष्टा समाजले २०६५ पछि हरेक साल असार २२ गते योगमाया दिवस मनाउँदै आएको छ । त्यस क्रममा उनीबारे अध्ययन अनुसन्धान गरी विद्वान–विदुषीले लेख प्रकाशन गर्ने तथा प्रवचन गर्दै आएका छन् ।

योगमायाका बारेमा विभिन्न व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन अनुसन्धान गरेका छन् । आलोक भन्छन्, ‘योगमायाका बारेमा जनकलाल शर्मा, बार्बरा निम्री अजिज, डा. माइकल हटले पनि रिसर्च गर्नुभएको छ केही हदसम्म ।’ 

योगमायाकृत पुस्तक ‘सर्वार्थ योगवाणी’मा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् डा. दिपेश न्यौपाने । उनले योगमायालाई समाज रूपान्तरणकी प्रथम महिला योद्धा भनेका छन् । 

अहिले कक्षा ११ को कोर्समा योगमायाको योगदानको विषयलाई समेटिएको छ । उनीबारे नेपालको विभिन्न विश्वविद्यालयमा समाजशास्त्र, मानवशास्त्र र महिलाशास्त्रजस्ता विधामा चर्चा परिर्चा पनि हुने गर्छ ।

यस्तै पछिल्लो समय न्यौपाने बन्धु समाज स्थापना भएको छ । बलराम न्यौपाने त्यसका अध्यक्ष छन् । उनले योगमायाका गीत र भजनहरूलाई रेकर्ड गराएको बताउँछन् श्रीओम श्रेष्ठ । 

पारिजातले पनि योगमायाका बारेमा एक–दुई ठाउँमा लेखेकी छन् । सो लेख स्रष्टा समाजले असार २२ गते विमोचन गर्ने कृतिमा आउने आलोक बताउँछन् । 

पहिलेदेखि नै योगमायाबारे फाट्टफुट्ट खोज–अनुसन्धान गरी लेख्ने व्यक्ति हुन् उत्तम पन्त र लेखनाथ भण्डारी । फाट्टफुट्ट रूपमा अध्ययन भए पनि हरेक साल चर्चा गर्नकै लागि पुरस्कार स्थापना गरिएको आलोक बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप