शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार विकास गर्ने मुल संस्थाको रुपमा स्थापित भएको छ : मुख्यमन्त्री जम्कट्टेल

बिहीबार, २१ असार २०८०, १६ : ५५
बिहीबार, २१ असार २०८०

हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेल प्रदेश सरकार विकास गर्ने मुल संस्था भएको बताएका छन् । उनले बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै देश विकास गर्ने मुल संस्थाको रुपमा प्रदेश सरकार स्थापित भएको बताए ।

उनले संघीय सांसददेखि स्थानीय तहका जनप्रतिनिधीहरु विकासको आग्रह गर्दै विभिन्न योजनामा बजेट माग गर्दै प्रदेश सरकारसमक्ष आइपुग्ने गरेको बताए । विकासका लागि प्रदेश सरकारले मापदण्ड निर्धारण गरेर मध्यम प्रकृतिका आयोजनाहरु निर्माणको काम गर्ने गरेको उनले बताए ।

‘प्रदेश सरकार विकास गर्ने मुल संस्थाको रुपमा स्थापित भएको छ । संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग गर्दै प्रदेशमा आउनु भएको छ । उहाँहरुको माग अनुसार योजना कार्यक्रम अनुसार बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘विकासका लागि प्रदेश सरकारले मापदण्ड बनाएको छ । राष्ट्रिय गौरवको आयोजना एवम् ठुला योजना संघ सरकारले बनाउँछ । मध्यम किसिमका आयोजना प्रदेशले बनाउँछ । साना आयोजनाहरु स्थानीय तहले बनाउँछ । संघीय संरचनामा गएपश्चात आर्थिक सामाजिक विकासका लागि प्रदेश सरकार नभइ सक्दैनौ ।’

बजेट माथिको छलफलका क्रममा उठेका विषयहरुले पनि प्रादेशिक संरचना आवश्यक रहेको पुष्टि गरेको उनले बताए । प्रदेश संरचनाबाट आम नागरिकहरु सबैले आशा र अपेक्षा राखेको र त्यसैको असन्तुटिको रुपमा बजेट माथि केही विषयहरु व्यक्त भएको उनको भनाई छ । बजेटमा टुक्रे र साना योजना समावेश भएकोप्रति स्पष्ट पादै मुख्यमन्त्री जम्कट्टेलले सो योजनाहरु प्रदेशको नभइ संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको भएको बताए ।

सरकार निर्माण भएलगत्तै प्रदेश राजधानीसँग जोड्ने एउटा सडकस्तरीय निर्माण सम्पन्न गर्ने गरी प्रयास भएको र आगामी हेटौंडा कुलेखानी हुमाने सडक मंसिरसम्ममा पुरा हुने अवस्थामा रहेको उनले बताए । सो सडक कालोपत्रेसहित स्तरीय बन्ने उनको भनाई छ । मातातिर्थ फाखेल कुलेखानी सडकलाई स्तरीय बनाउन पहल भइरहेको उनले बताए ।

सुरुङ मार्गको विषय राजनीतिक नाराको रुपमा उठान भएको उनले बताए । सुरुङ मार्ग निर्माण योजनालाई सार्थक बनाउने वा नबनाउने भन्ने विषय आगामी भदौ महिनासम्ममा निर्क्योल गर्ने सरकारको तयारी रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । ‘सुरुङ बन्छ कि बन्दैन भन्ने विषयमा भदौभित्र निर्णय हुन्छ । भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणका लागि नागरिकहरुले सेयरसहित अनुमति लिएको निजी कम्पनीले सेयर बापतको रकम फिर्ताको समेत प्रस्ताव गरेको छ । त्यसैले सो विषय पनि छिट्टै टुङ्ग्याउँछौ ।’

मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेशको बजेटले मात्र सम्पन्न हुने अवस्था नरहेकाले सिन्धुलीको चियाबारीबाट खुर्कोट सुरुङ मार्ग निर्माणका लागि संघीय सरकारसँग समन्वयको प्रयास भइरहेको छ । यो सुरुङ जसरी पनि बनाउनैपर्छ । यो अति नै आवश्यक छ । पूर्वको मुख्य नाका र उत्तर दक्षिण सिमाना जोड्ने महत्वपूर्ण सडकको रुपमा सो सुरुङ रहेको छ ।’

सुरुवाती वर्षदेखि नै सञ्चालनमा रहेका बहुवर्षीय आयोजनाका कारण बजेटमा असन्तुलन देखिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । अघिल्ला सरकारले पनि सो योजनाहरुमा बजेट विनियोजन गरेको थियो भने आगामी वर्षमा पनि मोटो रकम छुट्याउनु पर्दा बजेट असन्तुलन देखिएको उनले बताए । सरकारले बजेट असन्तुलन गर्ने काम नगरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले हाल करिव १८ वटा बहुवर्षीय आयोजना स्वीकृत भएको बताए । अन्य सबै पुराना बहुवर्षिय आयोजनाहरु रहेको र ती आयोजनाहरु पुरा हुने चरणमा रहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप