शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

शल्यक्रिया गरी बच्चा जन्माउनेमा सहरिया र उच्च शिक्षा हासिल गरेका महिला बढी

बिहीबार, २१ असार २०८०, १५ : १३
बिहीबार, २१ असार २०८०

काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार नेपालमा १९ प्रतिशत बच्चा घरमै जन्माउने गरेको पाइएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेश र कर्णाली प्रदेशमा घरमै सुत्केरी गराउने पाइएको छ ।

मधेस प्रदेशमा ३२ प्रतिशत, कर्णाली प्रदेशमा २४ प्रतिशत र कोशी प्रदेशमा १८ प्रतिशतले स्वास्थ्य संस्था नपुगीकन घरमै बच्चा जन्माएको पाइएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशमा ८८–८८ प्रतिशतले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन् । सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कोशी प्रदेशमा ८२ प्रतिशत र मधेस प्रदेशमा ६७ प्रतिशतले स्वास्थ्य संस्थामा गई बच्चा जन्माएको पाइएको छ ।

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनेहरूमा पनि पछिल्लो समय शल्यक्रिया (सिजेरियन सेक्शन) मार्फत बच्चा जन्माउने दर बढेको छ । नेपालमा १८ प्रतिशत जन्म शल्यक्रियामार्फत हुने स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

निजी स्वास्थ्य संस्थामा पचास प्रतिशतभन्दा बढी बच्चा शल्यक्रियामार्फत जन्माउने गरिएको छ । शल्यक्रियामार्फत बच्चा जन्माउनेमा माध्यमिक शिक्षाभन्दा बढी शैक्षिक योग्यता रहेका ४८ प्रतिशत आमा छन् । सम्पन्न घरपरिवारका ३८ प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । यस्तै, सहरी क्षेत्रका २२ प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएको पाइएको छ ।

दुई वर्ष यताको आँकडालाई हेर्दा अशिक्षित ८ प्रतिशत आमाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । प्राथमिक शिक्षा हासिल गरेका १३ प्रतिशत आमाले शल्यक्रिया गरेर बच्चा जन्माएका छन् । यस्तै, माध्यमिक शिक्षा हासिल गरेका २३ प्रतिशत महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् ।

नेपालमा स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर बढेको छ । सन् १९१६ मा ८ प्रतिशतले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएकोमा सन् २०२२ मा यो आँकडा ७९ प्रतिशतसम्म पुगेको छ ।

नेपालमा प्रत्येक ५ मध्ये ४ बच्चाको जन्म दक्ष स्वास्थ्यकर्मीहरूबाट हुने गरेको छ ।

जन्मान्तर बढाएमा बाल मृत्युदर कम

जन्मान्तर कम हुँदा बाल मृत्युदरको जोखिम बढ्ने सर्वेक्षणले देखाएको छ । दुई बच्चाको जन्मबीचको अन्तराल कम्तीमा ३६ महिनाको राख्दा शिशु मृत्युदरको जोखिम कम हुन्छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार अघिल्लो जन्मको दुई वर्षभन्दा कम समयमा जन्मिएका शिशुको ५ वर्ष मुनिकै आयुमा मृत्युदर बढी हुने सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा १० वर्ष यता प्रति एक हजार जीवित जन्ममा दुई वर्षभन्दा कमको जन्मान्तरमा जन्मिएकामध्ये ७२ जनाको मृत्यु भएको सर्वेक्षणले देखाएको छ ।

यस्तै, २ वर्षको जन्मान्तरमा प्रति हजारमध्ये ३५ बालबालिकाको मृत्यु भएको थियो । तीन वर्षको जन्मान्तरमा ३३ जना, ४ वर्षभन्दा माथिको जन्मान्तरमा २० जना बालबालिकाको मृत्यु भएको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप