प्रचण्डले समाजवादी मोर्चा बनाएपछि कांग्रेस धेरै झस्केको छ : पृथ्वी सुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रुपमा चिनिन्छन् । बोली र व्यवहारमा एकरुपता हुनुपर्छ भन्ने गुरुङको स्वभावकै कारण उनलाई एमाले अध्यक्ष ओली निकटस्थहरुले खासै रुचाउँदैनन् ।
कम्युनिस्ट पार्टीहरुबीच एकता भएमात्र समाजवादको यात्रा अघि बढ्नसक्छ भन्ने गुरुङसँग एमालेको आगामी यात्रा, वाम एकता, कांग्रेस–एमालेबीचको सहकार्य लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
खासमा अहिले नेकपा एमाले के गर्दैछ ?
अहिले नेकपा एमाले ‘मिसन ग्रासरुट’बाट प्राप्त रिपोर्टका आधारमा पार्टी संगठनलाई व्यवस्थित बनाउने काममा लागेको छ । त्यसमा विशेषगरी पार्टी सदस्यको अवस्था के छ ? पार्टी सदस्यता नवीकरण किन भइरहेको छैन ? दोस्रो कुरा, विगतका दुई वटा चुनावमा अन्तरघात, अराजकता र अनुशासनहीनता देखियो, यहाँसम्म कि अर्को पार्टीको पैसा खाएर उम्मेदवारहरु नै लागे । त्यसभित्रका समस्या, अन्तरविरोध र अन्तरद्वन्द्व कहाँ कहाँ छ र के के छन् भनेर पत्ता लगाउनुपर्ने थियो ।
तेस्रो कुरा, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि वैचारिक राजनीतिक काम केही भएको थिएन । विचारमा देखिएको दक्षिणपन्थ र संगठनात्मक लेवलमा देखिएको अराजकता कस्तो प्रकृतिको छ भनेर पत्ता लगाउनुपर्ने थियो । यो सबै कोणबाट कमिटी पद्धति ‘कोल्याप्स’ नै त नभनौँ तर पनि ‘डिफर्म’ भएको, कमिटीहरुको बैठक नियमित हुन नसकेको, विधान र नियमावली कार्यान्वयन नै नभएको, पार्टी सदस्यता नवीकरण, बैठक, भेला नियमित नभएको जनताका बीचमा जाने कुरा, जनप्रतिनिधिहरु परिचालन हुन नसकेको जस्ता समस्या मिसन ग्रासरुटमा हामीले फेला पार्यौँ ।
यसबाट प्राप्त समस्याहरुको आधारमा पछिल्लो पटक केन्द्रीय कमिटी बैठक बसेर चारपाँच वटा कुरा गर्ने भनेका छाैँ । त्यस अन्तर्गत पार्टी सदस्यता नवीकरण अभियान तीव्र पार्ने । यसअघि विभिन्न अधिवेशन सिद्धान्तविपरीत भएका छन् । सिद्धान्तले भन्छ– आफैँभित्र पनि प्रतिस्पर्धा गर, योग्य मान्छेहरुलाई छान, तर हामीले विगतमा प्रतिस्पर्धा गर्दा पार्टीमा गुटबन्दी ज्यादा भयो भनेर सर्वसम्मत् गर्नतिर लाग्यौँ । त्यसरी पार्टी कमिटीहरुमा सर्वसम्मत् नेतृत्व चयन गर्दा अयोग्य मानिसहरु आए, जसले गर्दा कमिटीहरु डिफर्म भएकाले अब प्रदेश, जिल्ला, गाउँ र वडामा अधिवेशन गर्ने भनेर लागेका हौँ । तलबाट अधिवेशन गर्दा मानिसहरु माथिल्लो कमिटी ताकेर तल बस्दै नबस्ने गर्ने रहेछन् । त्यसैले तलबाट अधिवेशन गर्ने तर प्रतिस्पर्धाका आधारमा गर्ने ।
समग्रमा भन्दा ‘मिसन ग्रासरुट’बाट तपाईंहरुले एमालेभित्रको रोग पत्ता लगाउनुभयो । अब यसको उपचार पद्धति कस्तो हुन्छ ?
उपचार पद्धति पनि अघि मैले भनिसकेँ । असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण, पार्टी कमिटीहरु छिटो छरितो बनाउने उद्देश्यसहित प्रतिस्पर्धाका आधारमा योग्य नेतृत्व चयन, पार्टी स्कुल चलाउनेदेखि सबै नेता कार्यकर्ता र कमिटीहरु गतिशील बनाउने । साथै जनसंगठनहरुलाई कार्यकर्ता उत्पादन र जनताको समस्या पहिचान गर्ने थलो बनाउने, जनप्रतिनिधिहरुलाई चलायमान बनाउन सबै पालिकामा पालिका सभा दल गठन गर्ने, त्यसको नियमित बैठक गर्ने, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर बनाउने । विचारको कामलाई तीव्रता दिन उच्च, मध्यम र आधारभूत स्तरको पाठ्यक्रम निर्धारण गरिएको छ । त्यो अनुसार उच्च तहका नेतालाई केन्द्रीयस्तरबाटै प्रशिक्षण गर्ने र प्रदेशले मध्यम र आधारभूत तहमा नियमित स्कुल चलाउने काम जिल्ला पार्टी स्कुल विभागलाई गर्न भनेका छौँ ।
मिसन ग्रासरुट अभियानजस्तै फेरि एक वर्षे कार्यक्रम सार्वजनिक गर्नुभएको छ । जसमा नेताहरुलाई फरक भूगोलमा खटाइएको छ । यसले केही नेतामा असन्तुष्टि पनि देखिन्छ । यसले पार्टीलाई थप क्षति हुने त होइन भन्ने प्रश्न पनि उठेको सुनिन्छ नि ?
मिसनग्रास रुट रोग पत्ता लगाउने अभियान थियो । अबको अभियान रोगको उपचार गर्न हो । उपचार गर्न डाक्टरको रुपमा पठाइएका केन्द्रीय सदस्यहरु जो एउटै जिल्ला र त्यही निर्वाचन क्षेत्रमा २०/३० वर्षदेखि काम गरिरहेको छ । त्यो जिल्ला र निर्वाचन क्षेत्र उसले पेवा वा बपौती ठान्छ । अनि त्यहाँ आफूसँग विचार र व्यवहार नमिल्ने मानिसलाई पस्न पनि दिँदैन । अचाक्ली गुटबन्दी गर्छ र उसले पार्टीको विकास गर्ने काम पनि धेरै गर्न सकेन । त्यसकारण एक पटक फरक भूगोलको जिम्मेवारी दिएर ट्रायल गरौँ भनेर फरक भूगोलको जिम्मेवारी दिएको हो ।
उपचार गर्ने कुरा पनि ट्रायल गर्ने हो र ?
उपचार गर्ने विधि चेन्ज गरेको हो । सुइले कामले गरेन भने थेरापी दिनुपर्छ नि ! हो, त्यस्तै गरेको हो । एउटा केन्द्रीय सदस्य सधैँ एउटै ठाउँमा बस्ने पनि त होइन । पार्टीको आवश्यकता अनुसार कहिले कुन भूगोल, कहिले कुन जनसंगठनमा जानुपर्छ भन्ने आधारभूत सिद्धान्तकै कुरा हो । यो आधारभूत सिद्धान्त र पद्धति नमानेर मेरो जिल्लाबाट मलाई अर्कोमा पठाउने ? भन्छ भने त्यो सामन्ती चिन्तन, प्रवृत्ति हो ।
जनताको बहुदलीय जनवादले गुट बनाएर चुनाव लड भनेको छ ? छैन । तर जबजको सिद्धान्तको अभ्यास गलत ढंगले गरियो, त्यसले परिणाम गलत निस्कियो र दुईदुई पटक पार्टी फुट्यो ।
हामीले अर्को ट्रायल पनि के गर्न खोजेका हौँ भने आफ्नो बाहेकको अर्को जिल्लाको पनि समस्या नीति निर्माण गर्ने तहका नेताहरुले बुझ्नुपर्यो भन्ने हो । पुरानो प्रणाली पनि यस्तै थियो, बीचमा हराएको थियो । त्यसलाई फेरि प्रयोगमा ल्याएको मात्र हो ।
भनेपछि एमाले यो प्रयोगमा सफल भयो भने पृथ्वी सुब्बा गुरुङ सुदूरपूर्व वा सुदूरपश्चिममा चुनाव लड्न जान तयार हो ?
हुनुपर्छ । पृथ्वी सुब्बाजस्तो उपमहासचिव भैसकेको मान्छे । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवको दावेदार पनि हो पृथ्वी सुब्बा गुरुङ । मजस्तै अरु पनि त्यही हो । त्यसैले पार्टीले जहाँबाट उठाउँछ, त्यहाँ जान तयार हुनुपर्छ ।
पछिल्ला वर्षहरुमा पार्टी कमिटीमा गरिएको अभ्यासले पार्टीभित्र सर्वसम्मत भन्ने कुरा गलत र घातक रहेछ, अब हरेक कमिटीमा प्रतिस्पर्धा नै गर्नुपर्छ भन्ने निष्कर्ष नै हो ?
अब हामी एकपछि अर्को गल्ती गर्दैनौँ । कहिले काहीँ राम्रो लाग्ने हतियार दुरुपयोग भयो भने दुर्घटना हुन्छ । हाम्रो जबजले तिमी पार्टीको नेता हुने हो भने पार्टी सदस्यबाट, कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्छ । पार्टी चलाउने हो भने पार्टी सदस्यबाट निर्वाचित हुनुपर्ने र राज्य चलाउने हो भने जनताबाट निर्वाचित भएर आउनुपर्छ । जबजको मुलभूत सिद्धान्त पनि यही हो । यो सिद्धान्त कार्यान्वयन गर्ने बेलामा हामीले गल्ती गरेका छौँ ।
जनताको बहुदलीय जनवादले गुट बनाएर चुनाव लड भनेको छ ? छैन । तर जबजको सिद्धान्तको अभ्यास गलत ढंगले गरियो, त्यसले परिणाम गलत निस्कियो र दुईदुई पटक पार्टी फुट्यो । त्यसैले अब गुटका आधारमा चुनाव लड्ने होइन, व्यक्तिको आधारमा चुनाव लड पार्टीभित्र ।
तल्लो कमिटीमा त तपाईंले भनेको कुरा लागु होला तर केन्द्रीय कमिटीको नेतृत्व चयनमा सम्भव छ ?
लागु हुनुपर्छ पार्टी बनाउने हो भने । पार्टी बलियो र जनताको विश्वासयोग्य बनाउन यो कुरा कार्यान्वयनको विकल्प छैन ।
यस्तो कुरा पार्टी बैठकमा पनि गर्नुहुन्छ ?
किन नगर्नु ? गरिरहेको छु । मलाई सत्य कुरा गर्न कसले रोक्छ ? मलाई कुनै लोभ छैन । अध्यक्ष वा फलानालाई नीति पद्धतिको कुरा उठायो भने मेरो पद धरापमा पर्छ कि ? भोलि मैले टिकट पाउँदिन कि, पदोन्नति हुँदैन कि भन्ने मलाई डर छैन ।
पार्टीबाट आउट गरिदिए के गर्नुहुन्छ ?
कसले आउट गर्छ ? आउट गर्ने आधार हुनु पर्दैन ? मन नपर्ने बित्तिकै कहाँ पाउँछ ? बरु जिम्मेवारीमा तलमाथि पर्ला । त्यो बेहोरेर पनि लडिन्छ ।
दशा त चुनावमै आएको हो नि ! चुनावले प्रचण्डलाई पनि प्रधानमन्त्री हुने ल्याकत दिएको होइन । ३२ सिट प्राप्त गरेको तेस्रो पार्टीको नेता हो प्रचण्ड ।
प्रचार विभागबाट संसदीय विभागमा धकेल्नुलाई कसरी लिनुभएको छ ?
प्रचारबाट संसदीय विभागमा पठाएको विभागीय वजन नै हो । संसदीय हिसावमा राज्यसत्ता सञ्चालनका हिसावले ठिक हो । कम्युनिस्ट पार्टीमा यो भन्दा अघि संगठन विभाग धेरै महत्त्वपूर्ण मानिन्थ्यो । तर बीचमा संगठन विभागलाई पत्रु बनाइयो ।
गत निर्वाचनपछि नेकपा एमाले संघ सरकारदेखि र प्रदेश सरकारमा सहभागी थियो तर अहिले सबैबाट हात धुनुपरेको छ, सत्ताच्युत हुनुपर्ने दशा कसरी सुरु भयो ?
दशा त चुनावमै आएको हो नि ! चुनावले प्रचण्डलाई पनि प्रधानमन्त्री हुने ल्याकत दिएको होइन । ३२ सिट प्राप्त गरेको तेस्रो पार्टीको नेता हो प्रचण्ड । हाम्रो पार्टीको अध्यक्ष ७९ सिटको नेता हुनुहुन्थ्यो । शेरबहादुर देउवा ८९ सिटको नेता हो । यी तीनवटै नेतालाई सजिलै प्रधानमन्त्री खाने जनमत त थिएन । त्यसो भएपछि गठबन्धनका आधारमा प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आयो । यो अवस्था आएपछि दोस्रो दलको नेताले तेस्रो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आयो । त्यसबेला गठबन्धन नगरेको भए पुग्ने त अहिलेकै ठाउँमा थियौँ । हाम्रो थप मेहनत र दाउपेचले गर्दा गठबन्धन बन्यो र केन्द्रदेखि प्रदेश सरकारमा जाने परिस्थिति बन्यो । तर त्यसबेलाको गठबन्धन बीचैमा भत्किएपछि सरकारबाट हट्नुपर्यो । हामीले विश्वास गरेर प्रधानमन्त्री बनाएको मान्छे ‘म तेरो काँधमा चढ्दिनँ’ भनेर हामफालेर अर्काको बुइमा चढ्न गयो ।
चुनावपछिको गठबन्धन र सरकार बनाउन तपाईं आफैँ पनि लाग्नुभएको थियो । तर त्यो गठबन्धन अत्यन्त कमजोर धरातलमा बनाइएको रहेछ, होइन ?
होइन । कमजोर व्यक्तिलाई विश्वास गरिएछ । त्यतिमात्रै हो ।
उहाँलाई घोचेका कारण यसरी अकालमा संसद विघटन हुँदैन भनेर उत्तर दिनुभएको मात्र हो अध्यक्षले । तर त्यो कुरालाई कांग्रेसले माओवादीलाई अपव्याख्या गरेर ‘देख्यौ ? केपी ओली फेरि प्रधानमन्त्री भएपछि संसद विघटन गर्छ’ भनेर भन्दियो ।
तर नयाँ ढंगले जाने भनेपछि अध्यक्ष केपी ओलीले ‘संसद विघटन ठिक थियो’ भनेर किन बोल्नुपरेको त ?
यो राजनीतिक बेइमानीको कुरा हो । उहाँले यो संसद विघटन गर्छु भनेको नै होइन । सन्दर्भ आउँदा हिजोको संसद जुन मैले विघटन गरेँ, त्यो बेला राजनीतिक र सैद्धान्तिक रुपले ठिक थियो भन्ने कुरा हो । त्यसबेलाको परिस्थितिअनुसार ठिक बेठिक कुरा बेग्लै हो । तर संसदीय व्यवस्थामा प्रधानमन्त्रीले बहुमत गुमायो भने फ्रेस म्यान्डेटका लागि अर्को चुनाव घोषणा गर्नसक्छ भनिएको हो ।
जोरजाम गरेर सरकार बनाउने अनि पटक पटक संसद विघटनको कुरा गरेपछि सहयात्री तर्सनु स्वाभाविक होइन र ?
उहाँलाई घोचेका कारण यसरी अकालमा संसद विघटन हुँदैन भनेर उत्तर दिनुभएको मात्र हो अध्यक्षले । तर त्यो कुरालाई कांग्रेसले माओवादीलाई अपव्याख्या गरेर ‘देख्यौ ? केपी ओली फेरि प्रधानमन्त्री भएपछि संसद विघटन गर्छ’ भनेर भन्दियो । त्यसपछि विदेशी शक्तिको इशारामा कांग्रेसको गठबन्धनमा प्रचण्ड छिरेको दुनियाँलाई थाहा छ ।
माओवादीसँग एकता गर्नुभयो पार्टी फुट्यो, पार्टी फुटेपछि गठबन्धन गर्नुभयो, त्यो पनि टिकेन । यसले एमाले लगभग एक्लिदै गएको देखिन्छ । फेरि यही बेला वामपन्थी एकता र नेकपा बिउँत्याउने कुरा पनि आइरहेको छ, यो सम्भावना के छ ?
विजातीय भन्दा पनि प्राथमिकता वामपन्थीहरुलाई दिनुपर्छ भनेर मैले भन्दै आएको छु । सैद्धान्तिक रुपले पनि म वाम एकताको पक्षधर हो । वाम एकता भन्ने बित्तिकै दुईतीन चरण हुन्छन् । कुनै निश्चित विषयका र अवधिका लागि पहिला संयुक्त मोर्चा गर्ने अनि कार्यगत एकता हुँदै अघि बढ्ने हो ।
संयुक्त र कार्यगत मोर्चाको हिसावले भन्दा म वामपन्थीबीच अस्थायी, आवधिक मोर्चा र विषयगत मोर्चा बनाउनुपर्छ भन्ने पक्षमा छु । तर अहिले मैले चाहेर पनि हुँदैन, आजका दिनमा कम्युनिस्ट पार्टीहरुबीच एकता सम्भव छैन ।
किन छैन एकताको सम्भावना ?
नेताका आआफ्नै पार्टी छन्, हैसियत छ । एकताको अवरोध त्यो हैसियत हुन्छ । युनिफाइड पार्टीमा माधव नेपालको हैसियत के हुने, प्रचण्डको के हुने ? त्यही झगडा हुन्छ । प्रचण्ड र माधवसहित चार पार्टी मिल्दा पनि एमालेको भन्दा सानो हैसियत हुन्छ तर उनीहरु एमालेकै बराबर अध्यक्षको हैसियत खोज्छन् । त्यसरी खोज्दा एमाले पंक्तिले के भन्छन् ? त्यो व्यवहारमा गएर फेरि अल्झिन्छ, नेताहरुको ‘बिग हेड’ र जुँगा बाधक छ ।
पुच्छरले ज्यान हल्लाउँदैन । बरु एमालेभित्र समाजवादी मोर्चा अटाउँछ कि अटाउँदैन भन्नेचाहिँ प्रश्न हो ।
दोस्रो कुरा, सिद्धान्तको हिसावले पनि माओवादी सबैभन्दा अलमलमा छ । बरु मोहनविक्रम सिंहको आफ्नै एजेण्डा छ । माओवादी केन्द्रको अहिलेको मार्गदर्शक सिद्धान्त के हो ? माओवाद हो ? मार्क्सवाद, लेनिनवाद, माओवाद हो कि होइन ? त्यसभित्र प्रचण्डपथ छ कि छैन ? चुनावमा भाग लिने, प्रधानमन्त्री बन्ने र सरकारमा जाने कार्यनीति हो कि रणनीतिक हो ? हामीले त रणनीतिक लक्ष्यका लागि शान्तिपूर्ण चुनावको बाटो हो भनेका छौँ । तर माओवादीले शान्तिपूर्ण संघर्ष हाम्रो बाटो भनिसकेको छैन । क्रान्तिको बाटोका बारेमा प्रस्ट छैन माओवादी र हाम्रोबीचमा । हामीले जनताको बहुदलीय जनवादले पनि समाजवादी क्रान्तिको चरणमा मार्गदर्शन गर्न सक्छ भनेका छौँ । उनीहरु जबजको नामै लिन चाहदैनन् । हिँड्ने, खाने, बस्ने जबजको बाटो तर जबज चाहिँदैन भन्छ माओवादी । त्यसकारण माओवादी र हाम्रो बीचमा धेरै सैद्धान्तिक कुरा मिलेको छैन । मिल्ने बरु एकीकृत समाजवादीसँग हो । जबजको नीति छोडिसकेको छैन एकीकृत समाजवादीले । संगठन पनि उही छ, नेतामात्रै फरक छ । नेताको मन मिल्नेबित्तिकै त्यो पाटीसँग मिल्न सकिन्छ । त्यसैले नेताको जुँगामा आगो सल्काइदिनुपर्छ, अनि बल्ल हुन्छ ।
अर्को जनता समाजवादी पार्टी छ । ऊ एमालेको छायाँ पार्टी हो । भन्नलाई उसले पहिचान र संघीयतावादी भनेर भनिरहेको छ तर संघीय संरचनामा जाँदा एक पैसाको योगदान देखिँदैन । अशोक राई, उपेन्द्र यादव पनि त्यसबेला माननीय थिए त !
तपाईंले मोर्चाको कुरा पनि गर्नुभयो, अहिले सत्तारुढले बनाएको मोर्चामा एमाले जाने सम्भावना कति छ ?
पुच्छरले ज्यान हल्लाउँदैन । बरु एमालेभित्र समाजवादी मोर्चा अटाउँछ कि अटाउँदैन भन्नेचाहिँ प्रश्न हो । त्यसैले एमालेमा समाजवादी मोर्चा समाहित हुनु सबैभन्दा राम्रो कुरा हो । संसदमा रहेका सबै वामपन्थी शक्तिहरु एकै ठाउँमा हुनु धेरै राम्रो कुरा हो । मुलुकको आवश्यकता पनि त्यही छ । जनताको चाहना पनि त्यही छ । शान्तिपूर्ण जनक्रान्तिको रक्षा गर्दै समाजवादको आधार तयार गरेर समाजवादको बाटो तय गर्न त्यो नभइ हुँदैन ।
त्यसका लागि कुनै पहल पनि भएको छ कि ?
त्यो समाजवादी मोर्चा कसरी भएको छ ? त्यसको पृष्ठभूमि हेर्नुपर्छ । एमालेले सुन्छ, देख्छ कि ! थाहा पाउँछ कि ? भनेर लुकीलुकी मोर्चा बनाइएको छ । त्यसमा पनि एमालेको विरुद्धमा भोलिको चुनावको तयारी गर्नमात्र भएकाले त्यो मोर्चाले कुनै काम गर्दैन । एमालेको फेयर फ्याक्टरबाट उत्पन्न भएको बाइप्रोडक्टमात्र हो समाजवादी मोर्चा भन्ने मेरो बुझाई हो । वामपन्थीलाई धोका दिएर, लात हानेर समाजवाद विरोधीलाई नेता मानेर सरकारको नेतृत्व गर्नपुग्नुले उहाँहरुको नियत प्रस्टै छ ।
विवेकशील साझा देखेको भोगेको होइन ? कांग्रेस, एमालेको विकल्प हुने भनेको विवेकशील अहिले कहाँ हरायो ? नयाँ शक्ति कहाँ पुग्यो ?
तपाईं (कम्युनिस्ट)हरु आफूआफूमै ताउरमाउरमा रमाइरहनु भएको छ । तर शक्ति दैनिक कमजोर हुँदैछ । यही बेला नयाँ शक्तिहरु उदाएर निल्ने अवस्था देखिइसक्यो, तपाईंहरु नसुध्रने हो भने २०८४ को चुनावमा बढारिने खतरा देख्नुहुन्न ?
कहाँ निल्नु ? यो प्रश्नै गलत छ । १६५ मा आठ सिट जित्नेले निल्न सक्छ ? सक्दैन ।
६ महिनामा ८ सिटको हिसाब गर्ने हो भने पनि ५ वर्षमा निल्ने संकेत नै देखिन्छ नि ?
आकाशका तारा सधैँ आकाशमा हुन्छन् तर उल्कापिण्ड झलल आउँछ, सकिन्छ । हुने त्यही हो । विवेकशील साझा देखेको भोगेको होइन ? कांग्रेस, एमालेको विकल्प हुने भनेको विवेकशील अहिले कहाँ हरायो ? नयाँ शक्ति कहाँ पुग्यो ? रुसको झेरोनोस्कीजस्तै हो रवि लामिछानेहरु । झलक्क आउने, हलक्क सकिने । पार्टी चलाउन अनुहार होइन, दर्शन र सिद्धान्त चाहिन्छ, संसारको नियम त्यही हो ।
स्थिर सरकारका लागि अहिले कांग्रेस–एमाले सहकार्यको चर्चा पनि सुनिन्छ यस्तो गृहकार्य पनि भइरहेको हो ?
कांग्रेसभित्र अहिले ठुलो लफडा छ । एमालेभित्रको सानो झगडा ठुलो देख्नुहुन्छ तर कांग्रेसको देख्नुहुन्न, मिडियाको समस्या यो हो । मिटरब्याजीको सन्दर्भमा कांग्रेस नेतृत्व केही बोल्दैन, नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्दैन । बालकृष्ण खाणलाई आजसम्म कारवाही किन नगरेको ? एकथरीले सकियो भन्छ, अर्को चुप बस्छ । संस्थापन र अधिकारसम्पन्न व्यक्तिको मुलुकको जल्दोबल्दो विषयमा कुनै अडान र दृष्टिकोण नै छैन । नीतिहीनता र नेतृत्वहीनताबाट कांग्रेस गुज्रेको ५–७ वर्ष भइसक्यो । गगनजीले फुर्तीफार्ती गरे पनि पानीको फोकाजस्तै देखिएको छ । यसले पनि गठबन्धनभित्र ठुलो समस्या छ भन्ने देखिन्छ । किनभने प्रचण्ड–माधवले त्यसै नेकपा बिउँताउनुपर्यो भनेका होइनन् । कांग्रेसलाई थर्काउन प्रचण्डले मोर्चा बनाएपछि कांग्रेसले पनि ‘ए ! तिमीहरु मोर्चा बनाउने ! त्यसोभए हामी एमालेसँग मिल्छौँ’ भनेको छ । त्यो भनेपछि मोर्चाबाट कांग्रेस झस्कनुपर्दैन भनेर प्रचण्डले भन्नुपरेको हो ।
एमाले पनि अस्थिरता भयो भनेर रुँदै हिँडेको देखिन्छ, त्यसो हो भने एमाले र कांग्रेस मिले भयो नि त ?
हामीले मुुलुकको स्थिरता, सुशासन र विकासका लागि प्रयत्न गरेको हो । राष्ट्रिय स्वाधीनताकै लागि अनेक दुःख गरेर ३२ सिट प्राप्त गरेको दलको नेतालाई ८० सिट प्राप्त गरेको नेताले बराबरी सिट दिएको होइन ? तपाईंले अहिले यो सबै थाहा पाउनुभयो भने एमाले जस्तो सत्ताका लागि मरिमेट्ने शक्ति कोही छैन भनेर लेख्दिनुहुन्छ तपाईंहरुले । संविधान, मुलुक र व्यवस्थाका लागि हो भन्नुहुन्न ।
विगतमा राष्ट्रिय संकट आउँदा पनि कांग्रेस र एमालेबीच कार्यगत एकता भएकै हो । त्यसैले अहिले सबै दृष्टिकोणबाट हेर्दा गठबन्धनले मुलुक चल्दैन भन्ने निष्कर्षमा हामी पुगिसकेका हौँ । तर, हामीमात्रै पुगेर पनि भएन, अर्को शक्ति पनि पुग्नुपर्यो । दुईवटा ठुला दल नमिली संकट समाधान नहुने भो भन्ने कुरा कांग्रेसले महसुस गर्यो भने नेकपा एमाले मुलुकको हितका लागि जहिले पनि तयार नै रहन्छ ।
कांग्रेससँग सहकार्यबारे कुरा पनि भइरहेको हो ?
मेरो जानकारीमा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरिया फेरि एकपटक आफ्नै भूगोलको सिकार भयो
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
-
लुम्बिनी कपले महिला फुटबलको विकासमा सहयोग पुर्याउने खेलकुद मन्त्रीको विश्वास
-
रवि लामिछानेको बयान सकियो
-
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक
-
जनकपुरमा बोल्ट्सको भव्य स्वागत