लम्पी स्किन रोग : उचित रोकथाम नभए १ लाख गाईभैँसी मर्न सक्ने
काठमाडौँ । नेपालमा लम्पी स्किन सङ्क्रमणका कारण २५ हजार बढी पशुको मृत्यु भएको छ । गर्मी याम सुरु भएपछि फैलिएको लम्पी स्किन रोग सङ्क्रमणले २५ हजार ७८२ वटा पशुको मृत्यु भएको हो । पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार हालसम्म ७१ जिल्लामा लम्पी स्किन पुष्टि हुँदा ६ लाख ९० हजार ६९७ पशुमा सङ्क्रमित छन् ।
नेपालको अर्थतन्त्रमा करिब ११.५ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किन लगायतका रोगका कारण संकटग्रस्त हुँदै गइरहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगका कारण बस्तुभाउको मृत्यु हुने, दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने (तुहिने, गर्भपतन हुने, बाली नजाने), छाला उत्पादनमा समेत समस्या आउने देखिएको छ ।
निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्न गई किसानको ठूलो धनराशिको नोक्सान भइरहेको छ ।
यस रोगका कारण करिब छ महिनासम्म साढे तथा राँगाहरू प्रजननमा आउन नसक्ने र लामो वेतान्तर भई गाई भैँसीको दूध उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म कमी हुने अनुसन्धानहरूले देखाएको छ ।
समयमै उपचार नभए १ लाख गाईभैँसी मर्ने
सरकारले लम्पी स्किन रोगको समयमै उपचार, रोकथाम गर्न नसकेमा करिब १ लाख गाईभैँसी मर्न सक्ने छन् । यसले १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने परिषद्ले जनाएको छ । उक्त रकम नेपालको आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तावित कुल बजेटको करिब ७.२ प्रतिशत हो ।
नेपालमा गाई ७४ लाख १३ हजार १९७ र भैँसी ५१ लाख ३२ हजार ९३१ छन् । पशुमा यो रोग सर्ने दर अनुमानित २० प्रतिशत हो । नेपालको हालको पशु मृत्युदर ३.८४ छ । प्रति पशु ४९ हजार १३५ नोक्सान हुँदा २७ अर्ब २२ करोड ५० लाख बराबरको आर्थिक क्षति भइसकेको परिषद्ले जनाएको छ ।
विश्व पशु स्वास्थ्य संगठनका अनुसार लम्पी स्किन देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० प्रतिशत रहेको पाइएको छ । जसमा मृत्युदर १ देखि ५ प्रतिशत भनिएको छ ।
यद्यपि अनुसन्धानअनुसार भारतमा २४.२ प्रतिशत, बंगलादेशमा ३४ प्रतिशत र इथियोपियामा ३६ प्रतिशत पशुमा रोग फैलिने दर उच्च रहेको देखिएको छ ।
यस रोगका कारण भारत, बंगलादेश र इथियोपिया क्रमशः १२.४ प्रतिशत, ३.२ प्रतिशत र ४.५ प्रतिशत मृत्युदर देखिएको अध्ययनले देखाउँछ । तर, एकै खोरमा रहेका पशुहरूमा भने ८२.३ प्रतिशत पशुमा रोग फैलिने र तीमध्ये २४.३ प्रतिशत मर्ने गरेको अध्ययनले देखाएको छ ।
यस रोगले सामाजिक र आर्थिक प्रभाव धेरै पारेको पाइएको छ । आर्थिक प्रभावको अध्ययनलाई हेर्दा भारतमा एउटा गाई बिरामी हुँदा रु. ९४ हजार ८३९ र भैँसीमा ४३ हजार ३२९ बराबरको आर्थिक क्षति भएको देखिएको छ । त्यसै गरी प्रति गाई वा भैँसी बंग्लादेशमा रु.१२ हजार ३२ र इथियोेपियामा ४२ हजार ९०० रुपैयाँ आर्थिक क्षति हुने गरेको पाइएको छ ।
सुदूरपश्चिममा बढी सङ्क्रमित
नेपालमा पहिलो पटक २०७७ सालमा सङ्क्रमणजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो ।
विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखा परेको थियो ।
लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने रोग हो । पशु सेवा विभागका वरिष्ठ पशुविज्ञ तथा सूचना अधिकारी डा ढकालका अनुसार लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिन्छ ।
सातै प्रदेशमा सङ्क्रमित ६ लाख ९० हजार ६९७ पशुमध्ये १ लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको विभागका सूचना अधिकारी डा. ढकालले बताए । सबैभन्दा धेरै सुदूरपश्चिममा र कम मधेस प्रदेशमा पशु सङ्क्रमित भएको पाइएको छ ।
यस्तै, सङ्क्रमण दर उच्च भएझैँ मृत्यु पनि सुदूरपश्चिममै बढी छ भने मधेस प्रदेशमा कम छ ।
यस्तो छ सातै प्रदेशमा लम्पी स्किन रोग सङ्क्रमित, मृत्यु र सक्रिय सङ्क्रमितको अवस्था
के सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ ?
लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान डा. ढकालको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि सङ्क्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताए ।
‘यो रोग लागेका गाईभैंसीको दूध धेरै बेरसम्म उमालेर खान त हुन्छ । तर, गाईभैंसीलाई औषधि सेवन गराइने भएकाले दूध नखाएकै बेस ।’ उनले भने ।
गर्मी याम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको हो । यो रोग टोक्ने झिँगा, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने डा. ढकाल बताउँछन् ।
बर्खाको समयमा गोरु तथा राँगाहरूको सहयोगमा खेतीपाती गरिने भएकाले सङ्क्रमणको दर उच्च जोखिममा रहेको पशु चिकित्सकहरू बताउँछन् ।
लम्पी स्किन रोग बस्तुभाउमा देखिदा छालामा साह्रो गिर्खा देखिने, उच्च ज्वरो आउने गर्दछ । डा. ढकालका अनुसार रोगको लक्षण देखिएका पशुलाई गरिने प्राथमिक उपचार निम्नानुसार गर्नुपर्छः
–ज्वरो घटाउनका लागि पारासिटामोल वा मेलक्सिकेम प्रयोग गर्ने
–घाउ चिलाउन कम गर्ने औषधिको प्रयोग गर्ने
–फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने
–रोगका कारण शिथिल भएको पशुलाई आवश्यकता अनुसार स्लाइन दिने
–शरीरमा गिर्खाको सङ्ख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने
–घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिवायोटिक सुई लगाउने
रोग लागेका गाई, भैँसीको हेरचाह कसरी गर्ने ?
–रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने
–ज्वरो आएको पशुलाई आराम गराउने । जोत्ने, गाडा तान्ने काममा नलगाउने
–प्रशस्त मात्रामा सफा पानी खान दिने
–पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गुँड पानी खुवाउने
–गोठमा झिँगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठ वरपर धुवाँ लगाउने
–आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन, खर्क, आहालमा नलैजाने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव