मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, १९ असार २०८०

आज २०८० असार १९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

ललिता निवास प्रकरण

केन्द्रीय अनुसन्धान ब्युरोले अघि बढाएको ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ ।  मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो । काठमाडौँ जिल्ला अदालतले ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मन्त्री र महानिर्देशकको विवाद 

नेकपा माओवादी केन्द्रको कोटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराती यतिबेला ‘धर्मसंकट’ मा छन् । पर्यटनसँगै उड्डयन क्षेत्र सुधारमा लागिपरेका किरातीले आफू मातहतको कर्मचारीलाई सोधेको स्पष्टीकरणको जवाफ नपाएपछि उनी परामर्शमा छन् ।

सीमा मिचेर बारको विज्ञप्ति

असार १८ गते सोमबार नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिले एउटा विज्ञप्ति निकाल्यो । ललितपुर जिल्ला अदालतभित्र भएको कुटपिटको विषयलाई लिएर बारले त्यहाँका श्रेष्तेदार र पिटाई खाने नायब सुब्बालाई कारबाही गरी उपत्यका बाहिर खेद्न माग गरेको छ ।

राष्ट्रपति पौडेलको उपचार खर्च

राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखि १७ गतेसम्म श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । 

 मन्त्रिपरिषद् बैठक

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो । 

सम्पत्ति विवरण

हरेक सरकारको नारा सुशासन, भ्रष्टाचार शून्य सहनशीलता र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने नै हुन्छ । यी प्राथमिकतामध्ये सुशासनले ठुलो अर्थ राख्छ । यसका लागि सरकारको नेतृत्वदेखि मन्त्री, सांसद, निजामती कर्मचारी र सँगै सुरक्षा निकायका सदस्यहरू समेत दृढ हुनुपर्छ । नियम एकातिर र कार्यान्वयन अर्कोतिर भयो भने त्यसले सुशासन ल्याउँदैन । 

भारतसँग सम्झौता 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने’ घोषणा गरे । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा आयोजित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो घोषणा गरेका थिए । 

 उद्धव थापाले जुटाउलान् बहुमत ?

उद्धव थापाको नेतृत्वमा नयाँ सरकारको गठन गर्ने सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायतका दलले निर्णय गरेका छन् । अब प्रश्न उठ्छ– थापाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि बहुमत सांसद जुटाउन सक्लान् ?

बजेट फ्रिज हुने खतरा

असार लागेसँगै सरकारले भुक्तानीलाई तीव्रता दिएको छ । पछिल्ला दिनहरूमा दैनिकजसो १५ देखि २० अर्ब रुपैयाँ हाराहारीको भुक्तानी भइरहेको छ । मन्त्रालय, विभाग तथा मातहतका निकायहरूबाट असार १५ गते यता मात्र खर्ब हाराहारीको भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सोमबार मात्र सरकारी निकायले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको भुक्तानी गरेको थियो । 

हवाई भाडा घट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया