इन्द्रावती गाउँपालिकाले गाँजा खेती गर्ने कृषकलाई आर्थिक सहायता दिने

मकवानपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन भएको प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार कार्यविधि निर्माण गरी सो कार्यक्रम कार्यान्वयन गरिने छ । ‘इन्द्रावतीका विभिन्न स्थानमा औषधी र कपडा उत्पादनका लागि गाँजा, सनपार्ट तथा लोक्ता उत्पादन हुने गरेको छ । गाँजा प्रयोगमा पालिकाले प्रत्याहन दिन खोजेको होइन । गाँजाबाट बन्ने कपडा उत्पादनमा वृद्धि गर्न पालिकाले कृषकहरूलाई प्रोत्साहन उपलब्ध गराउने तयारी भएको हो,’ उनले भने ।
इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियत ऋणसँगै उद्योग दर्ता शुल्क समेत मिनाहा गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको प्रशासकीय अधिकृत शर्माले बताए । विदेशबाट फर्किएका युवाहरूलाई शैक्षिक प्रमाण पत्रका आधारमा ५ लाख रुपैयाँसम्म सहुलियत ऋणको दिने व्यवस्था गरिएको उनले बताए । पालिकाले सामूहिक खेती, कृषकहरूलाई उत्पादनमा आधारित भई अनुदान वितरण, दुग्ध उत्पादक कृषकका लागि प्रति लिटर ४ रुपैयाँ अनुदान, एक वडा एक उत्पादन, एक वडा एक नर्सरी, एक वडा एक अग्र्याकिन कृषि फर्म, पशु तथा कृषि बाली बिमा लगायतका कार्यक्रम कार्यान्वयन गर्ने उनको भनाई छ ।
पालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुसार कक्षा ८ र १० का विद्यार्थीहरुलाई आवासीय विद्यालयको व्यवस्था, १०० जना युवाहरूलाई स्वारी साधन मर्मत सम्बन्धी तालिम, २० वर्ष पूरा भई विवाह नगरेका र १२ कक्षा अध्ययन गरेका किशोरीहरूका लागि चेली प्रत्याहन कार्यक्रम, कृषि बालीमा बाँदर आक्रमण कम गर्न सामुदायिक वनहरूमा फलफूलका बिरुवा रोप्ने, पानीको उपलब्धता गर्न रिचार्ज पोखरीहरू निर्माण गर्ने लगायतका कार्यक्रम कार्यान्वयनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको उनले बताए ।
त्यस्तै मोतियाविन्दुको शल्यक्रिया गरेका नागरिकहरूलाई २ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, ६० वर्ष माथिका एकल पुरुषका लागि मासिक ५०० रुपैयाँ भत्ता वितरण, रासायनिक मलको सहज वितरण, कृषकको पहिचानका लागि सूचीकरण गरी कृषक परिचय पत्र वितरण, कृषि औजार मर्मत कारखाना स्थापना, टुहुरा बालबालिकासँग अध्यक्ष कार्यक्रमहरू बजेटमा समावेश गरिने उनले बताए ।
उक्त कार्यक्रमहरू कार्यान्वयनका लागि इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा कुल ७८ करोड ४६ लाख ६७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । पालिकाले चालु तर्फ ५३ प्रतिशत र पुँजीगत तर्फ ४७ प्रतिशत बजेट विनियोजन गरेको छ । जस अनुसार पालिकाले चालु तर्फ ४१ करोड ३३ लाख ६३ रुपैयाँ र पुँजीगत तर्फ ३७ करोड १३ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पालिकाले आर्थिक विकास तर्फ १० प्रतिशत, सामाजिक विकासमा १८ प्रतिशत, वन तथा वातावरण र विपद् व्यवस्थापनमा ८ प्रतिशत, भौतिक पूर्वाधार तर्फ ६० प्रतिशत र संस्थागत तथा प्रशासनिक तर्फ ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
पालिकाले बजेटको खर्च बेहोर्ने स्रोत अन्तर्गत संघीय सरकारका अनुदानबाट ४० करोड २२ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदान ४ करोड ३६ लाख ६२ हजार रुपैयाँ र आन्तरिक आय तर्फ ३३ करोड ८८ लाख ४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व उठाउन पोखरा महानगरको बेवास्ता
-
महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : उपाध्यक्ष घिमिरे
-
४० प्रतिशत पनि राजस्व उठाउन सकिएको छैन
-
पोखरा महानगरको कर नीति प्रगतिशील छैन
-
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
-
फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य