आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

के देश रित्तिएकै हो त ?

मङ्गलबार, १९ असार २०८०, १२ : ४७
मङ्गलबार, १९ असार २०८०

अहिलेको परिदृश्य नियाल्दा र कक्षा १२ को परीक्षा दिएर बसेका साथीहरूलाई ‘तिम्रा आगामी दिनका योजना के छन् ?’ भनी सोध्दा धेरैको जवाफ हुन्छ — राहदानी बनाउने र राजधानी छाड्ने । विश्वविद्यालयमा हुनुपर्ने विद्यार्थी बिदेसिन बाध्य भएका छन् ।

भन्नका लागि त नेपालमा हिरा फल्छ भन्ने गरिन्छ, हिरा त्यसै त फल्दैन, युवा जनशक्ति चाहिन्छ ।  युवा भने पढ्ने बहानामा अवसर खोज्दै र रोजगारी खोज्दै बिदेसिँदै छन् । सुन्छु, प्रत्येक दिन करिब तीन हजार युवाले सुन्दर भविष्यको खोजीमा देश छाड्ने गर्छन् । 

के देश रित्तिएकै हो त ? भन्ने प्रश्न आजको समयमा आएर समय सान्दर्भिक बन्दै गएको छ । ‘देश रित्तिएकै हो ?’ भनी मैले सोध्दा धेरैको जवाफ होला —‘खै कहाँ रित्तिएको छ देश ? न भीडको कमी छ, न त ट्राफिक जामको । मेरो प्रश्न भने युवासँग सम्बन्धित छ । 

भनिन्छ, देश युवाको काँधमा हुन्छ, तर हामीकहाँ युवाले देश छाड्ने क्रम रोकिएको छैन । प्रश्न फेरि यही उठ्छ — के हाम्रो देशमा युवाका लागि भविष्य छैन ? के हाम्रो शिक्षा प्रणालीमा समस्या छ ? यही सही हो भने देशका नेताले यसबारे सोच्नुपर्छ ।  देशमा राजनीतिभन्दा पनि फोहोरी राजनीति कहिलेसम्म हो ? यो पार्टी, यो नेताको ठाउँमा अर्को नेता आउला र राम्रो गर्ला भनेर कहिलेसम्म कुर्ने हो ?

आफ्नो मान्छे सत्ता र शक्तिमा नभए वा त्यस्तो पहुँचमा नभए केही काम हँुदैन । भन्ने धारणाको विकास जनताको मस्तिष्कमा भएको छ । यसको सबै श्रेय हाम्रा राजनीतिक दलका नेता र देशको राजनीतिक अवस्थालाई जान्छ ।

अब त समय यस्तो आएको छ, कसैले ‘म देशमै बस्छु र देशका लागि केही गर्छु’ भन्छ भने उसलाई महान् मान्नुपर्नेछ । अर्कोतिर देशमै केही गर्न पनि वातावरण हुनुपर्छ । त्यसैले ‘म आफ्नै देशमा केही गर्छु’ भन्दा आफ्नै घरमा पहिलो प्रश्न सुन्नुपर्छ, ‘के गर्छेस् वा गर्छस् तँ एक्लैले ? समयमा सोचिहाल है नत्र पछुतो होला ! देशलाई तैँले मात्र माया गरेर के काम, तँलाई र तेरो भविष्यलाई देशले माया नगरेपछि !’

मैले पनि यस्तै कुरा सुन्दा नचाहेर मौन बस्छु र ती युवालाई सम्झन्छु — जो सयौँको संख्यामा हरेक दिन पुतलीसडकको बाटो हुँदै कन्सल्ट्यान्सी धाइरहेका हुन्छन्, आफ्नो १२ को पढाइ सकाएर ।

बिदेसिनु देशको अवस्थाका कारण बाध्यता हो वा आजभोलिका युवाको चाहना हो ? जेहोस्, युवा जनशक्ति बिदेसिनु भनेको देशको दीर्घकालीन अर्थतन्त्रमा असर पर्ने कुरा हो ।

हामीमा मानसिकता यो बसिसकेको छ कि देशमा केही नगरी बेरोजगार बस्नुभन्दा विदेश गएर भाडा नै माझे पनि डेढ–दुई लाख कमाएर दुई वर्षमा ऋण तिरिन्छ र त्यसपछि त लाइफ सेट हुन्छ । जहिले सामाजिक सञ्जाल खोलेर हेर्दा कोही न कोही विदेश गएको तस्बिर आइरहेको हुन्छ । 

काँधमा देशको भविष्य बोकेका विद्यार्थी हातमा किताब र काँधमा झोला बोकी कन्सल्ट्यान्सी धाउन बाध्य भएका छन् । म स्वयं सम्झन्छु ती दिनहरू, जहाँ मेरा हातबाट भाइटीका लगाउन मेरा पाँच दाजुहरूको लहरले आँगन ढाकिएको हुन्थ्यो, तर आज मेरो निधार यता र मेरो दाजुहरूको निधार उता परदेशमा खाली रहन्छ । यो नियति आज हरेक नेपाली परिवारले भोगेको छ भन्दा अत्युक्ति नहोला । यसमा दोष कसको, कमी–कमजोरी कहाँनेर भयो ? खोइ नेताले यसबारे सोचेको ? 

कति घर रित्तिए, कति गाउँ रित्तिए, कतिपय सहर सुनसान हुँदै छन्, यस्तै गतिले बिदेसिने हो भने देश नरित्तिएला भन्न सकिँदैन । यतातर्फ हाम्रा नेताले कहिले सोच्ने हुन् ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सलिना गौतम
सलिना गौतम
लेखकबाट थप