रातोपाटी ब्रिफिङ : ललिता निवास प्रकरणका आरोपी धमाधम पक्राउ पर्दै, अब जनमत पार्टी पनि सरकारमा
आज २०८० असार १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा कोशीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय, गिरिजाप्रसादलाई राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप : प्रचण्ड, एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास : ओली, ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ, जनमत पार्टीलाई सरकारमा समेट्ने सहमति, एकीकृत निर्वाचन कानुनको मस्यौदामा ‘नो भोट’को प्रावधान, काठमाडौंका सडक किनारमा गमला, उड्डयन प्राधिकरणका महानिर्देशकले दिएनन् स्पष्टीकरणको जवाफ लगायत छन् ।
१. कोशीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय
कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।
२. गिरिजाप्रसादलाई राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
३. एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको दाबी गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा ओलीले ‘देश समृद्ध होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिन अनेक उपायको खोजीमा लाग्ने गरेको बताए ।
४. ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् ।
५. जनमत पार्टीलाई सरकारमा समेट्ने सहमति
सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुले जनमत पार्टीलाई सरकारमा समेट्ने समझदारी गरेका हुन् ।
६. एकीकृत निर्वाचन कानुनको मस्यौदामा ‘नो भोट’को प्रावधान
निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको छ । निर्वाचनसम्बन्धी कानुनमा केही नयाँ विषय राख्न मस्यौदामा प्रस्ताव गरिएको छ । जसमा ‘नो भोट’ देखि लिएर विदेशमा रहेका नागरिकलाई मताधिकार, निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारलगायतका विषय समेटिएको छ ।
७. काठमाडौंका सडक किनारमा गमला
काठमाडौं महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो ।
८. उड्डयन प्राधिकरणका महानिर्देशकले दिएनन् स्पष्टीकरणको जवाफ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् । तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट मन्त्री किरातीले एक हप्ताको समय दिँदै गत असार ११ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
९. नेप्सेमा गिरावट
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । यस क्रममा आज ४१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।
१०. अदालत परिसरमा कानुन व्यवसायीले गरे विरोध प्रदर्शन
अदालतभित्र कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा उपत्यका बार एसोसियसन र ललितपुर बार एसोसिएसनले विरोध प्रदर्शन गरेका छन् । सोमबार ललितपुर जिल्ला अदालत परिसरमा वकिलहरुले विरोध प्रदर्शन गरेका हुन् ।