बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार निर्माणको सकस

राप्रपा नआए नयाँ सरकारको भविष्य ३० दिन मात्रै

हेर्दाहेर्दै मध्यावधिमा जाने खतरा बढ्यो : माओवादी
सोमबार, १८ असार २०८०, १६ : ३६
सोमबार, १८ असार २०८०

विराटनगर । कोशी प्रदेश प्रमुखले असार २१ गते बेलुका ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आव्हान गरेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले अर्को सरकार गठनको आव्हान गरेका हुन् । विपक्षी गठबन्धन भने अझै मुख्यमन्त्री कुन पार्टीको बनाउने भन्ने विषयमा सहमत हुन सकेका छैनन् । गठबन्धन दलमा काँग्रेस, माओवादी, नेकपा एस र जसपा छन् । उनीहरूबीच हालसम्म कसले नेतृत्व गर्ने हो भन्ने सहमति भएको छैन ।

यसअघि सरकारमा सहभागी दल माओवादी केन्द्रलाई सरकारबाट फिर्ता आउन काँग्रेसले पटकपटक आग्रह गरेको थियो । काँग्रेसकै आग्रहलाई मानेर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । तर, अहिले पहिलो चरणमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा दुई दलबीच खटपट सुरु भएको छ । 

नेपाली काँग्रेसले काठमाडौंमा कोशी प्रदेशका पदाधिकारी बैठक बसेर काँग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । ‘कोशी प्रदेशमा पहिलो पटकको नेतृत्व काँग्रेसले पाउनु पर्छ । हाम्रो दलको तर्फबाट उद्धव थापा मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार हो,’ काँग्रेसका कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले भने, ‘राप्रपाले हामीलाई सहयोग गर्दैन भन्ने कुरा गलत हो । व्यक्तिगत इस्युलाई लिएर राप्रपाले सर्त राख्छ भन्ने मलाई लागेको छैन ।’

उता, माओवादी केन्द्रका सांसद गणेश उप्रेती भने काँग्रेसका कारण मध्यावधिमा जाने सम्भावना देखिएको बताउँछन् । ‘हामीले सरकारबाट छोड्यौँ, अब सभामुखले राजीनामा दिएर मुख्यमन्त्रीलाई भोट हालिदिनु पर्ने भन्ने काँग्रेसको कुरा छ । सभामुखलाई भोट हाल्न कसले बाध्य बनाउन सक्छ ? त्यो सम्भव छैन,’ उप्रेतीले भने, ‘एकातिर राप्रपाले काँग्रेस दलका नेता थापालाई मुख्यमन्त्रीमा सहयोग नै नगर्ने भनिरहेको छ । अर्कोतिर ४७ सांसद पुग्दैन । त्यसो हुँदा काँग्रेसले ३० दिनका लागि मुख्यमन्त्री बनाउन खोजेको देखिन्छ ।’ उप्रेतीले नयाँ सरकार निर्माणको दाबी गर्दैखेरि राप्रपासमेतको समर्थन लिएर जानुपर्ने बताए । ‘जसको नेतृत्वमा जान राप्रपा तयार हुन्छ । त्यसले नेतृत्व पाउने गरी छलफल गर्नुपर्छ,’ उनले भने । 

सुरुमा काँग्रेस, माओवादी, नेकपा एस र जसपाले मुख्यमन्त्री कसको भन्ने विषयमा टुङ्गो लगाउनु पर्ने थियो तर छलफल नै उल्टो भइरहेको काँग्रेस सांसद केदार कार्की बताउँछन् । ‘गठबन्धनमा पहिले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल टुङ्ग्याउनु पर्‍यो, त्यसपछि मात्रै मुख्यमन्त्री पाउने पार्टी र नेताले राप्रपासँग छलफल गर्नुपर्छ,’ कार्कीले भने । 

काँग्रेस नेता गुरुराज घिमिरेले केही दिन अगाडि सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा काँग्रेसले दलको नेता परिवर्तन गरेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने बताएका थिए । उनको यो अभिव्यक्तिले काँग्रेसभित्र तरङ्ग सिर्जना  भइरहेको छ । काँग्रेसमा अहिले पनि थापा, कार्की र अमृत अर्याल मुख्यमन्त्रीको दौडमा छन् । कार्की र अर्याल थापालाई रोकेर आफैँ मुख्यमन्त्री बन्ने लाइनमा छन् । दलको नेता चयनका लागि भएको निर्वाचनमा थापाले १८ मत पाउँदा कार्कीले ९ र अर्यालले २ मत पाएका थिए । पार्टी सभापति देउवाको समर्थनमा दलका नेता बनेका थापा काँग्रेस नेता कृष्ण सिटौला निकट हुन् । तत्कालीन परिस्थितिमा दलको नेता बनाइए पनि थापाले प्रभावकारी नेतृत्व गर्न नसकेको भन्दै देउवा पक्षकै कतिपय सांसदहरू उनको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । 

मुख्यमन्त्री बन्न कसलाई सहज ?

सत्ता परिवर्तनको खेल भइहालेको खण्डमा मुख्यमन्त्री बन्न कसलाई सहज होला भन्ने विश्लेषण पनि सुरु भएको छ । प्रदेश सरकार कसरी र कस्तो बनाउने भन्ने विषयमा केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन आवश्यक छ । तर, कोशी प्रदेशसभाको समीकरण जटिल रहेका कारण कसले कति पहल गर्छ भन्ने कुराले नै नेतृत्व निर्धारण गर्नेछ ।

एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका नेता आङ्बो मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस दलका नेता थापा मुख्यमन्त्री बन्ने अवस्थामा कांग्रेसबाटै असहयोग हुने देखिन्छ । नेता कृष्णप्रसाद सिटौला पक्षका थापालाई शेखर कोइराला पक्षका नेताहरू केदार कार्की तथा देउवा खेमाका अमृत अर्यालले असहयोग गर्ने स्रोत बताउँछ ।

थापा नै मुख्यमन्त्री बन्ने अवस्थामा राप्रपालाई पनि सरकारमा सहभागी गराउन नसक्ने काँग्रेसकै नेताहरू बताउँछन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण सिटौलाबीच राम्रो सम्बन्ध छैन भने काँग्रेस नेता सिटौलासँगकै टकराबका कारण काँग्रेस छाडेका भक्ति सिटौला राप्रपा संसदीय दलका नेता छन् । त्यति मात्रै होइन काँग्रेस नेता सिटौला राप्रपा अध्यक्ष लिङ्देनका सधैँका प्रतिस्पर्धी हुन् । त्यही कारण पनि सिटौलाका विश्वासपात्र रहेका थापालाई लिङ्देनले मुख्यमन्त्री बनाउन समर्थन गर्ने सहज अवस्था अझै देखिएको छैन । उता, नेकपा एकीकृत समाजवादीले भने माओवादी नेता आङ्बोलाई निःशर्त मुख्यमन्त्रीमा समर्थन गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप